Jump to content

Laxmi nibandhasangraha: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Line 1: Line 1:
<pages index="Laxmi_nibandhasangraha.pdf" from=15 to=23 />
<pages index="Laxmi_nibandhasangraha.pdf" from=1 to=53 />
<!--<pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 />-->
<!--<pages index="Laxmi_nibandhasangraha.pdf" from=1 to=53 />-->

Revision as of 01:10, 9 February 2025

लक्ष्मी निबन्धसङ्ग्रह

महाकवि लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मी निबन्धसङ्ग्रह

महाकवि लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक : साझा प्रकाशन
संस्करण : साझा प्रकाशनबाट सत्रौँ पटक
वि. सं २०६४ (३१०० प्रति)
आवरणकला : टेकवीर मुखिया
मूल्य : रु. ७०|-
मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर
फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६
ISBN: 978-99933-2-615-1

प्रकाशकीय

उही किताप हो । यही किताप हो ।

संवत्‌ २००२ सालमा यसको 'परिचय' दिँदै ने. भा. परिषद्का अध्यक्ष श्री पुष्करशमशेरले लेख्नुभयो–

"राजर्षि श्री महाराजको उच्च उद्देश्यबमोजिम...डाइरेक्टर जनरलबाट तयार गर्नू भन्ने मर्जी बक्सेबमोजिम...निकालेका पुस्तकमध्येको यो हो ।"

अनि २०१९ सालमा ने. भा. प्र. समिति र ने. भा. परिषद्का संयुक्त अध्यक्ष भएर यसैको परिचयमा श्री भीमनिधि तिवारीले भन्नुभयो–

"बहुमुखी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाज्यू (द्वारा)...यो किताब त्यसै बेला अर्थात्‌ २००२ सालमा लेखिएको हो । यद्यपि ने. भा. परिषद्ले उहाँलाई केही खुवाउन सकेको थिएन सिवाय किम्बुका हरिया पात । तैपनि उहाँले यस्तो रेशम ओकलेर नेपाली भाषा साहित्यलाई विभूषित गरिदिनुभयो । यो उहाँको उदारता हो ।"

निष्कर्ष निस्कन्छ यसबाट यो–

नमरी देवकोटाले चाहिँदो सम्मान पाएनन्‌, यो एउटा कटु सत्य हो, र यसैलाई अर्को 'लक्ष्मी-निबन्ध' भने हुन्छ– सबभन्दा छोटो निबन्ध, तर सबभन्दा महत्त्वपूर्ण, महाकविको जीवनको निबन्ध– 'लक्ष्मी-निबन्ध ।'

तिवारीज्यूले भन्नुभएको, देवकोटाज्यूको यो 'रेशम'-को अधिकारी भएर अब साझा प्रकाशन आएको छ । त्यो 'रेशम' नेपालीमात्रलाई सर्वसुलभ गराउने हाम्रो कर्तव्य भएको छ । हाम्रो प्रबन्ध 'लक्ष्मीनिबन्ध' जस्तो नहोला, प्रतिभाले नछोएकाले; तर प्रयत्न हामी गर्नेछौँ– महाकविको सेवा गर्न पाएकोले ।

संवत्‌ २०२४

क. दी.

भूमिका

'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्‌, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।

यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान्‌ कि भन्ने आशा राखेको छु । कहीं म प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्‌– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन्‌ यहाँ समालोचना पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन्‌ जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्‌ । मर्दगद्य लेख्न अरूहरू आउनेछन्‌ तर यहाँ शायद पोथी-गुण होला– एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्‌मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस्‌ ।

यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्‌– याने भाषानुवाद-परिषद्‌ अड्डामा । तर यी विषय अड्डाका थिएनन्‌, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।

लक्ष्मीप्रसाद

निबन्ध-क्रम

श्री गणेशाय नम:/१
पहाडी जीवन/६
मेरी शिशु /१५
सुकुलमाथि /१७
लेख्ने बानी/१९
नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष /२२
पाँचौटा चाहिने कुराहरू/२७
सरिताको कलकलमा /३२
मान्छे-जादू/३६
हाइ हाइ अंग्रेजी /४५
के नेपाल सानो छ ? /५१
वीरहरू /५८
भलादमी /६१
फूल/६५
आषाढको पन्ध्र /७०
कला र जीवन/७५
गधा बुद्धिमान्‌ कि गुरु ?/८७
हास्यरस /९०
कविराजको च्याङ्ग्रे खच्चर /९५
छन्द र लय/९९
कल्पना /१०७

कुम्भकर्ण/१२०
साधुको माहात्म्य/१२७
मसलाको बोटले के हेर्छ ? /१३३
वैराग्य/१३८
आकार र अभिप्राय/१४३
नेपाली गुण्डो/१४८
पण्डित लेखनाथ पौड्यालको विषयमा/१५१
सुस्तरी श्वास फेर/१५८
आमाको दिल/१६५
शिक्षा/१७०
गौरी-शंकर यात्रा/१७७
जुवा/१८१
जुँघा/१९२
एउटी चरीको चिरीबिरी/१९७
मान्छेलाई घडीबाट हानि/२००
सत्य सोझो हुन्छ/२०३

श्रीगणेशाय नमः

आरम्भ गर्दा अन्त्यको बारेमा त्रास रहनु स्वाभाविक भएको हुनाले हामी हिन्दूहरू गणेशजीको शुभ नाममा हृदयलाई आधार दिन्छौं । सिद्धि र बुद्धि दुवैका मालिक भएका हाम्रा सूँडवाल भुँडे देवता कार्यको आरम्भमा पनि अधिष्ठाता बन्नुहुन्छ । जुनसुकै मनोवैज्ञानिक दृष्टिले हेर्दा देवताको आधार लिन खोज्ने स्वाभाविक प्रवृत्ति मनुष्यको अपूर्णता र त्यसको परिणामरूप आत्मविश्वासको कमीमा नै उत्पन्न हुन्छ । जवानीको जोश र सफलताको स्वयंविकासी हौसला पाउने भाग्यवान्‌ सफल साहित्यिकले गणेशजीको त्यत्तिको कदर नगरोस्‌ तापनि मेरो हिन्दूहृदयमा त अनेक न्यूनता र अपूर्णताका चैतन्यको त्रास चिसो भएर पस्तछ र म प्रकृतिवश या त सरस्वतीको चिह्न या त श्रीगणेशाय नमःको रुद्रीचण्डीक्रमको स्मरण नगरी सक्तिनँ । शायद बाहुनको छोरो भएको हुनाले हो कि ?

आजकाल नाटकमा सूत्रधार र नटीको नाक काटिएको युगमा, पचासहाते नालिश छोट्याउने ऐनसुधारको अवस्थामा लर्ड म्याकलेका प्रसिद्ध प्रबन्धहरूलाई 'गन्थन प्रस्तावले चिच्याटलाग्दा' भन्ने समालोचना हुने बीसौं शताब्दीमा, जब चिठीमा 'उप्रान्त' काटिएर 'प्रिय महाशय' लेखिन्छ यस्तो 'श्रीगणेशाय नम:'को आरम्भ सच्चा चश्माबाज आधुनिक पाठकलाई त के मन पर्ला र ! तर म के लेख्न लागें, कुन विषयमा कसरी यी कुराको बारेमा केही विवरण यहाँ दिन अनुचित होओइन कि जस्तो लागेर अगाडि बढ्दछु ।

सच्चा पाठकले पहिले चाहन्छ-केही लेखकसँगको परिचय यसकारण, मलाई एउटा हरियो बाला हाल्दो चियाबारी नामको हावाको लहरमा सरसराउँदो खेतको फैलावटउपर मसलाको बाङ्गोटिङ्गो अग्लो वृक्षनेर त्रिचन्द्र कलेजको पूर्वपट्टिको रातो झ्यालनेर अनेक लेखकहरूका बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ ।

म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो ।

यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्‌, यहीं आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहर्याइरहेछन्‌, बुझाइरहेछन्‌ । यसैमा प्राचीन सभ्यताको भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि रहेका छन्‌ ।

हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको, पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान्‌ ।

तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन्‌ । हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने ।

तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा ।

काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।

म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌ र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?

धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु; म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिंदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌ मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'

तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ -'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेऊ न यी खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ? यस्तै बोक्रे खोष्टे छन्‌ आजकल लेखक भनाउँदा ।'

बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ, 'खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन मन लाग्छ, रामेको गफ र चामेको चुट्किलो जवाफ जब सुन्न मन लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका थिए, तब यहाँ पाल्नोस्‌ 'यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुट्कुलो कुराकानी छ, जसको नाम प्रबन्ध हो ।'

शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन्‌ । म मै जस्तो छु; अरू जस्तो छैनँ। मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन; प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्नँ, आएको कुरा आओस्‌ । आफ्नो प्राकृतिक पोशाकमा कुराकानी गर्दा अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो, सर्फा दिल मजाको हो । फरासिलोपनको मनुष्य नै जीवनले रुचाउला ।

प्रबन्ध पनि एक कला हो; तर बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ । मेरो मनमा कला छैन भने खालि तोडमरोड हो । भित्रैबाट संगति मिलाएर कलाको जादूगरी निक्लियो भने त्यसमा दिव्यता देखिन्छ । तर 'म लेख्छु' को भावले कृत्रिम बनोटबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयासको पग्लिंदोपना निक्लिहाल्छ ।

यहाँ म जीवनको टीकाकार बनेको छु। बर्णन होस्‌, वृत्तान्त होस्‌ वा व्याख्यान, जतासुकै पनि म आफ्नो रंगमा आफ्नो ढंगले यो जीवनको घामछायाका अनुभवहरू चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख-दुःख, प्राप्ति-हानि, हार-विजय, आँसु-हाँसो, भाव-भावना, आदर्श सपना, दृश्य-दर्शन झिल्का-भिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छु ।

भेरो श्रीगणेशाय नम: यत्तिकै हो । प्रबन्धको रूप, कला, ढंग, इतिहास, भविष्य इत्यादिमा आलोचना गर्न मलाई ज्यादै थकाइ लागिसक्यो । ओठ चलेपछि कुरा बुझिहालिन्छ भने विस्तृत व्याख्यानको के जरूरत ?

पहाडी जीवन

मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्‌, र जहाँ कटेरो र भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीं बस्तछौ ?' उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले मर्दा रहेछन्‌ । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक गर्ने ढिंडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय दृश्य देखेझैं लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका, चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहने-जस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई कठ्यांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्र्यबाट निकालेर आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन्‌ । तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।

म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।

मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌, तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्‌, उनीहरू ढोलक पिट्न चाहन्छन्‌, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता हेर्न ! त्यसको सम्भावना हेर्न ।

मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्‌-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा देखिन्छन्‌ र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, ऊ थाकेर आखिर मौन रहन्छ ।

सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू यात्रीहरूकै साथमा अगाडि बढें ।

मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई दिन्छु-सरासर दगुर्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन ऋषिहरू यसरी जरूर यात्रा गर्दा होवैनन्‌ । हामीलाई सधैं फुर्सतैको कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वराबर कोही गर्दथे, तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो ।

मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जुन बडो रमाइलो थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रङ्गका बलिया होलान्‌ जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना दाँतका, राताराता घिउ-घिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तवरले बराबर उचाल्दै झार्दै, बराबर हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनी र सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा नाचेझैं गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ कृत्रिमताको लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो । खुट्टाका छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं–

“एङ्गो सङ्गो झाझे झेङ्गा
राङ्गा राजे तिप्लिङजोग्गा !'

जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कुञ्ज बनोस्‌ त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन्‌ र बरावर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन्‌ । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्‌, हावा झैं चढ्दछन्‌ र कामबाट फुर्सद पाउनासाथ ती गोडा नाच्तछन्‌ । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्‌, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन्‌ ।

यी शेर्पिनीहरू बडा राम्रा हुन्छन्‌ र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्‌, उस्तो नुहाउँदैनन्‌, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना झुप्रा बनाएर बस्तछन्‌, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन्‌ र बडा साधु देखिन्छन्‌ । यद्यपि यिनीहरूमा उज्जण्ड बडा डरलाग्दा हरामज्यादा हन्छन्‌ रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्‌, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन्‌ ।

तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला । कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्टुङ भन्ने त्यही रहेछ ।

झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्‌, त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिंदो रहेछ । यसलाई बाहुनगाउँ भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्‌, खरले छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेंलिएर टम्म रहेका, काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैंचा जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू देखिन्छन्‌ र एक-दुई ठाउँमा लिचीका बोटहरू पाइन्छन्‌ । माटो अलि ढुङ्गिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाख्रीहरू पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे ।

पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन्‌ र रातोको रुचि गर्दछन्‌, एकआँठे कपाल ज्यादा बाट्ने गर्दछन्‌ र काम गर्दा घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्‌, डोको बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन्‌ । अक्सर स्वास्नीमान्छेहरूको बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै अगाडि सर्दछन्‌ । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले गठिला हुन्छन्‌ । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन्‌ र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन्‌ । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का दुरदुराउँदै गफ गर्दै रहन्छन्‌, छिमेकीहरूका मामलो र बन्दव्यापार, मुद्दा झगडाहरूमा टीका-टिप्पणी गर्दछन्‌ र एक्लै भए भने भानुभक्तको रामायण लिएर फलाक्ने गर्दछन्‌ ।

एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन्‌ र मध्याह्नको धूपबाट बचाउ लिन्छन्‌ । त्यहाँ कहिलेकहिले नाच र गान पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्‌, कोही मुरली बजाउँछन्‌, जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन्‌ । यहाँ केटाकेटीहरूलाई पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै ज्यादा रुचाउँछन्‌ । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्‌, नाच्तछन्‌ र गीत गाउँछन्‌ । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस काट्ने काममा बहुत चतुर हुन्छन्‌ ।

यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत निर्मल छ, सारा झिल्टुङलाई त्यसैले पुर्याउँछ, तर दुई हात गहिरो छैन।

झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन्‌ । यिनीहरू अरू तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन्‌ । गठिलो शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ । यिनीहरू आफ्नै हातले उमार्दछन्‌, गोड्दछन्‌, फलाउँछन्‌ र खान्छन्‌ । आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ । ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू निकाल्दछन्‌ र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्‌, कोरी, बाटी, सिंगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन्‌ ।

यहाँ शहरको झिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष हालिंदैन, पहाडको दूध पोसिलो छ,यद्यपि दुहुन गाहारो होस्‌ । आलस्यका निमित्त अवकाश छैन, काम नगरी खान कसैको बूता हुँदैन, पृथ्वीमाताको दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमूनारूपमा देखिन्छन्‌ ।

यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका रूपमा हेर्ने गर्दछन्‌ । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज कति प्रभावकारी हुन्छन्‌, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा विश्वासको भरमा ईश्वरपुकारा, पूजा, मन्त्र आदिबाटै पन्छाइन्छ । खुट्टामा घाउ लागे पनि मानिस फुक्तारहेछन्‌ र मानसिक क्रियाहरूद्वारा धेरै चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो रहेनछ ।

यो ठाउँ वेदको केन्द्र बनोस्‌, वैदिक सभ्यतासँग यहाँको आधुनिक सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो आर्यग्रामको रूपमा सम्बन्धित रहोस्‌, विज्ञानमा भन्दा ज्यादा विश्वास र श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस्‌; सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्‌; यसका अभावहरू मेटिऊन्‌, सानो स्वर्ग बनोस्‌ ।

मेरी शिशु

जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन्‌ । मलाई नरम र कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।

आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो । मलाई एउटा माली बनूँ-बनूँ लाग्यो र बीउ बिनी-बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।

उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न लाग्थ्यो ।

मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !

म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें, रामचन्द्र र कृष्णजी साँचा हुन्‌ भन्ने उसैले बुझाउन लागी ।

म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको देख्तछु!

म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।

मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस्‌ भने पनि म बस्न सक्तथें–खालि शिशुको लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन्‌ । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्वी हरियो हुने थिइनन्‌ । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन्‌ । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन्‌ । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन्‌ । पृथ्वी अन्न उमार्छिन्‌ मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।' मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन्‌ । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ,

किनभने म बालकहरूको प्रेमी छु ।

सुकुलमाथि

मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।

कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाईको भर्खर आविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहेझौं लाग्दछ ।

मलाई त्यस वेला सच्चा नेपाली भएझैँ लाग्यो । मेच र टेबिलको अत्याचारबाट छुटेको वेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुन्ड्याएर बनकर जस्तो गरी बस्तो रहेछ।

मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्यक्तिमा चञ्चलता हुन्छ, किनकि अप्राकृतिक तवरले आधुनिक आसनीमा गोडा पिंडौलालाई प्राकृतिक तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्यासनमा, एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरुदण्ड सीधा गरेर खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचविराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन्‌ कि पीङ खेल्दछन्‌, टेबिलको र मेचको बीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्‌ र अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता । फर्कंदा पनि खर्याकखुरुक आवाज नगरी फर्कन सक्तैन र यसको मुख्य अवगुण त्यस बेला थाहा हुन्छ, जब भाषापरिषद्मा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजमा गिर्खा खर्खराउँछन्‌ ।

फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्टयाउँछ र छातीको भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसैले बुझ्दछ जसले प्रयोग गर्यो । तर आजकालका टिठाहरूसँग खालि घण्टौंसम्म बहस गर्नु उनीहरू बुभ्दैनन्‌ ।

टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?'

यस्ता मान्छेहरू ती हुन्‌ जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन्‌ । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन्‌ र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्‌; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्‌, थचक्क बस्न सक्तैनन्‌ र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ ।

महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक

अज्ञान ?

लेख्ने बानी

मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थें र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथें ।

तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा शायद फोस्रो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यको भन्दा झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन्‌ र उनको जीवन सफल हुँदो छ। म किन सत्यको सती जाऊँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?

तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्‌ । मैले झूटो बोल्न खोजें भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजें भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्‌, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।

यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न । यो विशाल विश्वमा उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस्‌ ।

तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधेरा कोठरीका उल्झनमा र ठक्करमा च्याँठ्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन्‌ । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नूकचूकहरू, अभावको ऐंडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ–यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।

प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले मानवआत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्तैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌– जसको विजय एकध्येयीको सफलता हो ।

तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म जस्ता छट्टू, फटाहा, कथा कथ्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।

नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष

साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन्‌ तर उनीहरू सम्झँदैनन्‌-यो रचना आफ्नै हृदयको कति नजीक छ ।

हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार । हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुद्‌ चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ।

म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्‌, न कि तगण र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्‌, जहाँ मानवआँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्‌, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्‌-जसरी चराहरू बोल्दछन्‌, न कि जसरी वस्तादहरू कसरत गर्दछन्‌, हृदयले हृदयलाई बोलाओस्‌ कवितामा, न कि आडम्बरलाई । सोझो-सच्चा-नङ्गा पहाडको महत्त्व होस्‌ कवितामा, जसबाट नालाहरू आफसेआफ भुलुभुलाउँदै उठ्तछन्‌ । धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा स्वदेशी कविहरूउपर जत्तिको श्रद्धा लाग्दछ, उत्तिको अरू कम पुरुषमा लाग्ला जस्तो लाग्दछ । उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा प्रेरणा दिन । उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग सम्बन्ध राख्तछ । भानुभक्तले ढुङ्गाको तकियामा सुतेर ब्यूँझँदा फूलको हृदय भेट्टाए । घाँसीमा उनको परमेश्वर बोल्यो, सच्चा नेपाली हृदयलाई ब्युँझाइदियो, सुन्दरको देशमा बोलाएर लग्यो । कविले त्यस वेलामा हार्दिक अनुभूति जुन श्लोकमा उद्गार गरेका छन्‌, त्यसमा भाषा र भाव सत्य झल्किने क्षणहरूको आँसुनजीक आउँदछन्‌ । भानुभक्तको आत्मालाई हृदयको देशमा धारा बनाउन मन लाग्यो । संसारका आतपम्लान यात्रीहरूका निमित्त एउटा पाटीको पौवाली हुन मन लाग्यो । जुन भावले अशोकले बाटामा वृक्ष रोपे होलान्‌, त्यही भावनाले सच्चा कविहरूलाई पैलो ऐंडी मिल्दछ । घाँसीको कथा हामी सबै नेपालीको हृदयमा गड्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानवहृदयका प्राथमिक आभासहरूको मुहानतिर फर्कन्छौं !

भानुभक्तले त्यस बेला रामायण लेख्ने विचार गरे, जुन वेला नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित आकार उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको मनमा 'नेपाली साहित्य' नामक शब्दयोजना नै उपहास जस्तो लाग्यो । त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक पोषण लिने आश्रय थिएन । हामी लेखकका कठिनाइहरू ज्यादै कम अनुभव गर्न सक्तछौं । तर सबै निर्माणकर्ताहरू अँधेरामा झल्का पाउँछन्‌, सूनसानमा आह्वान सुन्दछन्‌, गोधूलिमा सुन्दर मन्दिरमा यात्री बन्दछन्‌ । मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्‌, किनकि उनको हृदयलाई सुनौला चुलीले भेटिसक्यो । अँधेरीमा आकार कुँद्नलाई दिइएको थियो । नयाँ सपनाले उनी छिनु लिएर बसे, पूर्वको स्वर्ण-प्रभात मृदुमुख र झङ्गार लिंदै आयो । उनले पहाडको नीलो मसीले लेखे । लेख्नलाई आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदयकेन्द्रतिर । भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए ।

भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, फेरि सीता हरिनुभयो, फेरि रावण मारियो । हामीले झोलुङ्गाको भाषामा नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान्‌ लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किदै उनका राम्रा क्षणमा सपना देख्न लागे । यहाँ केही थियो–जो अघि थिएन–केही खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र दिव्यताको भारतको रस निचोरिएको थियो । नेपालको बारीमा एउटा सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्डूकगणहरू यी उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुझ्नदेखि सदा टाढा छौं ।

साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्‌, नेपाली हृदयको श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य सरलतामा छ–त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति टाढा थिए, जति एक ध्रुवबाट अर्को ध्रुव । उनी सच्चा ब्राहमण थिएर उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन्‌ उनी के गरिरहेथे, तर हामी जान्दछौं–उनीले हाम्रा निमित्त के गरेर गए । उनको भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्‌, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिभ्रोमा सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा सजिलोसँग खुल्दछन्‌ । उनी हृदयलाई आह्वान गर्दछन्‌ । एउटा अज्ञात मोहनी हामीलाई उनको पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्‌ । मान्छे उनलाई अनुवाद तुल्याउँछन्‌, तर हामी अनुवादन देख्तछौं–पुराना ऋषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन्‌ जहाँ बालकहरू रमाउँछन्‌, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन्‌ । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्‌, उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन्‌ । उनको भाषा नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्तछन्‌ ।

नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा । उनी अतुलनीय छन्‌ । धेरैले समग्र नेपालीको हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्‌ । उनी एक्ला छन्‌ । अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ–ज्यादा रङ, ज्यादा प्रश्न, ज्यादा शङ्का, तर उनी आफू जस्तै छन्‌–एकै किसिमका निर्मल । उनले सब समस्या सरल तवरले हल गरिसकेका छन्‌ । उनको भविष्यलाई सन्देश यही छ–सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।

उनी हाम्रा आदर्श छन्‌ । मिल्टनलाई वर्डस्‌वर्थले बोलाएझौं धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्‌, यद्यपि त्यही उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैं बोल्दछन्‌ । तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन्‌ । उनको 'बालाजू' मा चातुरीको नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्थे । चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका थिएनन्‌, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए । त्यस ठाउँले उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए । उनको 'कान्तिपुरी' मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी उनलाई कान्तिकी पुरी जस्तो लाग्यो, जस्तो कहिले-कहीं हामीहरू बिहान-बेलुका पहाडचुलीमा देख्छौं । उनी नेपाली स्त्री-पुरुष देखेर हार्दिक प्रेमको कवितात्मक प्रशंसा लेख्तछन्‌ ।

गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर सानी अमरावती पृथ्वीमा खडा हुन्छिन्‌ । हामी त्यो कविता पढ्नासाथ बुझ्दछौं–कति सरलतासँग उनी कान्तिपुरीको हृदयनजीकै पुगे । आजकालका कविहरू पनि लेख्छन्‌–विशाल विस्तार र अलङ्गारसँग । कोही-कोही छानबीनको अलौकिक चात्री चाहन्छन्‌, तर हृदयले पाएका झल्काहरू त्यसै सुन्दर छन्‌, सचेत रोजाइको जरूरतै छैन । कवितामा गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको गहिराइ देखेन ? गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता सरल भएर झल्किन्छिन्‌ । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरको मौन लिन चाहन्नन्‌, तर कलकल बोल्दछिन्‌ । झल्किन्छ हामी भन्न सक्तैनौं, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर कविताहरू हामी पाउन्नौं, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ आँसु हाँस्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्‌, मेरा निम्ति नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन्‌ ।

पाँचौटा चाहिने कुराहरू

दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्–ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म।

ईश्वरविना संसार नै शून्य छ। कारण नभई कार्य हुँदैन । हामी 'उनी छन्' को विश्वासमा जीवन धारण गर्दछौं । यत्रो विश्वको काँट र अडान देख्तादेख्तै यसमा चैतन्ययुक्त महापुरुषको सत्ता देखिदैन भन्नु अन्धोपन हो। यो अनन्ततामा एक ठाउँ खडबड परे कत्रो विप्लव मच्चिन्छ, तर अणुअणु संगत भएका छन्, ताराको त्यत्रो जगड्वाल चाल छ, तर टक्कर छैन, समय र देशमा अभिप्रायपूर्वकका व्यापार देखिन्छन्, सूर्यचन्द्र नीतिको उचित कालीनतासँग काम गर्दछन् । रूखहरुलाई बीउभित्र हालिदिएको छ, बीउहरूलाई रूखभित्र । दानामा विश्व छ र विश्वमा दाना छ । यो मिलाप, यो तराजु, यो रौंप्रमाण तौल, यी चक्रहरू, यी उचित कालीनताका कमहरू सबै भन्दछन्–दिव्य चैतन्य भन्ने कल्पना होइन तर संसारको सत्य हो ।

चित्, संगति, साम्य अभिप्राय–यिनीहरूबाट हामी ईश्वरको सत्ता मान्दछौं । जडबाट चैतन्य आउँदैन भने यो चैतन्यको मुहान कहीं हुनुपर्छ । त्यो विराट् चैतन्यलाई परब्रह्म भन्दछन्–त्यस अवस्थामा, जब विश्वसृष्टि हुनु बाँकी नै थियो, जब इन्द्रियहरूको प्रादुर्भाव भएको थिएन उनी व्याप्त थिए, विशिष्ट भएका थिएनन् । जब प्रथम कामको स्फुरणसाथ उनी सिर्जना आभासित गर्न लागे, अनि उनको स्वरूप व्यक्त हुँदा स्रष्टाको प्रादुर्भाव भयो । त्यस अवस्थामा मूर्त भएका विश्वस्रष्टा हाम्रा ईश्वर हुन्।

ईश्वरसत्ताका प्रमाणहरू धेरै हुँदाहुन्, तर म न दार्शनिक हूँ, न वेदान्ती । म आफै सहज बुद्धिले फेला परेका कुराहरू बहस गर्दछु।

चित्, संगति, अभिप्रायको प्रमाण पहिले नै भल्काइसकियो । कार्यरूप विश्व भएपछि कारणरूप कर्ता सजिलो न्यायबाट निस्कन्छ। वैज्ञानिकहरू अन्धो काकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन । त्यहाँ अराजकता देखिन्न । रूखका जरामा पनि दिव्य अभिप्रायको अदृश्य औंला काम गरिरहेको जस्तो देखिन्छ । जडको शून्यताउपर केही अर्कै आभास स्थिति भइरहेछ, मिलाप दिइरहेछ, बनाइरहेछ, आकार मेटिरहेछ । ताराका रेखाहरूमा पनि दिव्य झल्किरहेकै छ। अनि तेस्रो कुरा–हामी विरोधको द्वन्द्वमा साम्य पाइरहेछौं, मानौं ती दुवै विरोधी कुराहरू एकै सत्ताबाट क्रियात्मक रूपमा आभासित छन्। चौथो चीज यो हो कि–जडमा स्वतःक्रिया हुँदैन, किया गर्ने कर्ता सहजसँग प्रमाणित हुन्छ। पाँचौं कुरा– हामी संसारमा दिव्य नीतिको संकेत पाइरहेछौं, यहाँ द्वन्द्वको ऐक्यमा नै शान्ति र सत्य भेट्टाइन्छ। दुःखहरूमा परमेश्वर सम्झाउने र सत्य संकेतक अभिप्राय स्पष्टीकृत छ र हामी असत्यको राहले शान्ति पाउँदैनौं । सौन्दर्य सत्यबाट भल्कन्छ र चराहरूको मधुरता परमात्माहरूको आनन्दको लागि पाइएको जस्तो बुझिन्छ । माधुर्य परप्रेममा आभासित हुन्छ र विश्वोपयोगितामा चीजहरूले सौन्दर्य लिएजस्तो प्रतीत हुन्छ । तब स्पष्ट हुनजान्छ कि–चराचरमा दिव्य नीतिकै शासन रहेछ । छैटौं कुरा–ईश्वरीय चेत नभई मानवमन प्रकृत विकास पाउन सक्तैन, गडबडिन्छ । कट्टर नैतिक पनि टूटफूटको अँधेरीमा पर्दछ । सब तार सुरमा मिल्दैनन् । नास्तिकापत्तिहरूद्वारा संघर्षण र विश्वस्थितिमा गडबडीहरूका प्रणाशक उपाधिहरू उत्पन्न हुन्छन् । सातौं कुरा–परमेश्वरमा विश्वास नगरी कुनै आत्माले संसार छाड्न सक्तैन । यो सबै मनुष्यजातिको त्यस वेलाको अनुभवमा म निर्धारित राख्तछु, जब यिनीहरूको प्राण गलामा आइपुगेको हुन्छ । हाम्रो मरणासन्न प्रकृत आध्यात्मिक ध्वनि 'हे ईश्वर !' को पुकारसँग जीवन समर्पण गर्छ । सार्वजनिक यस प्रवृत्तिले हामी ईश्वरको सत्ता आखिरमा स्वीकार नगरी सक्तैनौ । आठौं प्रमाण–हामी प्रेमको आभासमा पाउँछौं । सिर्जनाको दिव्य अभिप्राय प्रेममा उत्पन्न भएजस्तो देखिन्छ, यो प्रेम अरू ठाउँ अनन्त करुणाको रूपमा देखा पर्दछ। जीवनलाई सच्चा आनन्द दिन सूचना भएका सामग्रीहरू झैं संसारमा सब चीजहरू आभासित भएझैं लाग्छ। तिनमा उपभोगहरूबाट पाइने आनन्दउपर एउटा यस्तो राम्रो दिव्य प्रेमको तत्त्व फल्किन्छ कि त्यसबाट ईश्वरको सहानुभौतिक सादृश्य (मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण– मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ । यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ । मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ । मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।

जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।

त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या वैकुण्ठ हो।

मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं । भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्‌को क्रियाले लेखाउँछ, चित्‌को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र परलोकभागिता स्पष्टै छँदैछ ।

यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव कियामा रहन्छ र ईश्वरेच्छाले संसार त्याग गरेर आफ्नो स्थान लिन जान्छ । उसको जवाफदेही अनन्त छ, उसका भाव र विचारहरू सब उत्तरदायित्व भावी फल धारण गर्दछन् र ऊ ईश्वर नसम्की संसार त्याग गर्न सक्तैन ।

यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ । अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई धर्म भनिन्छ ।

धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।

तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।

तर यी पाँच कुरा जहाँ छन्‌, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन्‌ । ईश्वरविना ऐंडी हुँदैन, आत्माविना माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।

सरिताको कलकलमा

हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं– 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको पनि त केही मौलिक तत्त्व हुनुपर्छ । हाम्रा जागरूक हृदय त्यहाँ के पाउँछन् ? कुन प्रभाव ? यो पनि एउटा विश्लेषणलाई चाखलाग्दो कुरो हो । हामीहरूले सौन्दर्यका मूलतत्त्वहरूको अन्वेषण त्यहीं गर्नुपर्दछ जहाँ युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीवन बिताउने मनुष्यहरूले यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको त्यत्तिको परवाह गर्ने गर्दैनन् । न त उनीहरूको जीवनमा यसद्वारा आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ ।

यस्तो विस्तीर्ण दुनियाँमा कल्पना र विमर्शका निमित्त अनन्त उपादानहरू छँदाछँदै भावुकको सहृदयताले युवावस्थाको उत्साहसाथ अरू चीज छाडेर जलको शब्दमय प्रवाहमा विशेषता पाउनु हाम्रो नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्‌मा अरू ठाउँमा यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं– यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ्य, तारल्य नै रुचाउँछ जो यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढ्यता कल्पनान्तर्गत बन्दैन । एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू चाहन्छौं कि रूखहरू चलून् । त्यसै कारण भावी कविहरू पात हल्लेको निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अङ्कन हरहमेशा मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको तारल्य ने रहेछ भनेजस्तो लाग्न आउँछ । प्रकृतिका विशाल क्षेत्रमा हाभी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्, चलोस् । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले सन्तोष पुर्याउँछन् र कहिले बादल, हावा र ज्योति-परिवर्तनले । तर तिनको विशाल वक्षस्थलबाट हामीले समुत्सुक समीक्षण गरिएका सौन्दर्य सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला महीधरवक्षः प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ । यस्तो विदित हुन्छ, मानौं ती विशाल अभ्रभेदी शृङ्गारहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्‌प्रबाधक निनादहरू लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्– त्यो मधुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा पाषाण तरङ्गको मधुर सप्तकमय पथमा छर्बरिंदै छचल्किदै लुङ र लुर्कन बन्दै कलमलाउँदै, झिल्मिलाउँदै आएका स्वर-लहरीहरू शीघ्रतया हृदयान्तर्गत हुन जान्छन् । तिनमा नैर्मल्यसँग ज्योति खेल्दछ । पानीको आत्मा झलझल हुन्छ, त्यो धवलायित प्रवाहशीलतामा जहाँ पानीयले पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोच्छ। यो प्रवाहमा आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गर्दछन् र ध्वनि दृश्यमान हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको चीज प्रवाहमा छ । नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको मोहनी लिन्छन् । उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको देखिन्थ्यो । सरित्‌किनारले जति कवि बनाए, उति बगैंचाले बनाएनन् होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् । पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं चराले टिपेझैं बोली भन्दछ । यो प्राण-स्पृश्य छ– विशेष गरेर गर्मीका दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू सुर मिल्दै आउँछन्– जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- किनारमा निस्कन्छन्।

कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ । यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू बन्दछन्, तर भिन्न-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य नवीनको अनन्तको बोलीमा दोहर्यावटविना एकै सत्य मुखरित भइरहेको जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा प्रबल उत्तेजना मैले कतै देखिनँ ।

मान्छे-जादू

बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !

मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र बुझ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ। हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम ने जीवनको विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेर्यो ! मैले भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।' र मेरो जादू छिप्यो ! 'म' बुझ्नाको चमत्कारलाई मैले समयमा विस्तार गरिदिएँ । दुनियाँले झिल्का-झिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुझेन ।

अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुझ्दछु, जब आफूलाई भित्रबाहिर हेर्दछु !

'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !

मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ । चरक र सुश्रुत मेरा चेला थिए । आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हँसेर बसिरहेछु । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए । अज्ञानको सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ । मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्गसंगतिबाट फर्मुला बनाए, तर अत्तर-छालासम्म बुझ्न सकेनन् । मेरा रक्ताणुहरू तिनले परीक्षानलीमा हाली रङ्गाए; तर अझसम्म लाली बुझेका छैनन् । तिनले मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन् । उनको पाण्डित्यदर्शन रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।

उनीहरू मलाई पो पढाउन चाहन्छन् ! भन्दछन्- फियो 'समरभूमि' रे ! रक्तसञ्चालन 'लडाइँको बाघचाल' रे, लक्षण 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र अण्डाको उखानमा घोरिदै छन् । कीटाणु अधि कि रोग अधि ? मेरो रुधिरसञ्चालनको अदृश्य सिङ्गै माछाहरू पक्रँदैमा उनलाई आकाश- पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिभ्रो काड्ने कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए । मृत्युको चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका झटारा जस्ता गोली र झोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।

तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अझ आँखेपन हो । के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा डाक्टरहरूमा भयङ्करता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ मेरो नाक बुझदैन । बोक्रे विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्। (क-ख) ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुझ्न खोजने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरुलाई नै देखें । उनीहरू वैज्ञानिक पण्डित हुन् खँदिलोसिवाय अरू चीजलाई दुनियाँ भन्दैनन् । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के काम ? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर यान्त्रिक अध्ययन गर्दछन् । उनका ज्ञानले ने प्रपञ्चलाई प्रशंसा गरिरहेछ ? उनीहरूले जान्ने हूँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सूक्ष्मताहरू मिर्गौलामा देखे, र दर्शनको मिर्मिरे झलक गिदी-गिर्खामा केन्द्रित भएका पाए । ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन् । प्रकृतिका उपासकहरुलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चातुरीमा कहिले जिथ्रो काडेर निकाल्दो हो। कति माधुरी ? कति चातुरी ! उनीहरू विकास देख्तछन् त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा संरक्षिणी जादू देखाइदिएथें, तर उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुझदैछन् । दुई आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा भल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ । 'मगजरञ्जन'-को तत्त्वमा सबै ग्रामोफोन बनिसकेका थिए । मेरा अणुहरूमा डाक्टरहरू विश्वको अनुहार देख्ने थिए, तर विज्ञानले सूक्ष्मवीक्षणयन्त्रलाई हदमा पुर्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन इत्यादि एक-एक विश्वकोष छन् । मेरा थूकमा अभिप्राय छन्, सिंगानमा सौन्दर्य ! दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला फीसलोलुपता कम भएका डाक्टरहरूले बुभदछन् म के लेखिरहेछु । यिनउपर यो विचार गर्नु कि यो सब कलपुर्जे सूक्ष्मप्रबन्धी नसाको लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्, जसको नाम मानव-जीवन हो– त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा मानवजातिको फैलावट र प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने ।

तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ । मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ, मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन; म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ? कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो, 'जय जीवनदाता ! मलाई नछाडे ।' ऊ आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । ऊ आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे । उसलाई फलूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । ऊ भन्थ्यो 'वा', जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा भिजाएर हात फ्याँक्तथ्यो । उसमा विश्वास थियो– त्यो विश्वास, छुरीको टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै ओठ लेप्राउँदै ऊ बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले जीवन ।

मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुझ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव पढ्छन, न कि कङ्कालका भीषण जडताहरू । मेरा कानका निमित्त संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैं गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् । सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट शीतमय बास्ना निकालिरहिछन्– कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड दैनिक खर्च ! मलाई खोल बनाउन तीन सय र्याङ्किन कम्पनी जन्मेर छाँटकाँटको विज्ञान पढिरहेछन् । मेरो जुँघा छाँट्न तीन लाख फ्याक्टरीहरू कुइँ-कुइँ गरिरहेछन् छुरा र डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा छन् । म भैंचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन्, उता अलमलिन्छन्, यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न खोज्छन् मलाई– जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! बरू आलु रोप्नेले प्रकृतिलाई बुझ्न सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस् । उनीहरू आज आविष्कार गर्छन्, भोलि मेट्तछन् । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्झन्छन् ! म उनीहरूलाई हरहमेशा हँस्सी उडाउँछ । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ । तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ बाबु हो ! खोज ! मलाई राम्ररी बुझ्न एक अनन्त काल बाँकी नै छ !' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछु, भूटा कुराले आफूलाई बुझाउँछु, सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले झल्काइदिएका छकावटहरूले नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले खान्छ !

के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगर्नी, जसलाई मानिस कल्पना र भावना भन्दछन्–के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ 'शिशु फूल'[1] फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा कहाँबाट किरण पस्यो ? विशाल झल्किरहेका शिखरहरू तिमीले देखेका छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु– मभित्र फुलेको फूलको कोपिला सुँध्दै दुनियाँ सभ्यताको दावा गदछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन् । मेरो विश्वासमा दुनियाँले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो सौन्दर्यचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले । मभित्र अतीतको कम्पन छ; वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका छन् । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि बसेर पढिरहेछन् ! म नीतिको चन्द्र-सूर्य अड्याउँछु र मेरा भावनाहरूलाई अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको छ ! र तैपनि मलाई दुनियाँ बुझ्दैन । दुनियाँका धेरै सूक्ष्म कलाहरू अझ मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट बजारमा नचिनिने जुहारहरू झल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले मलाई खोस्टो देख्तछ; दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो मूर्ति–जससँग लडाइँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन हो र कसैले त्यहाँ हेर्यो– जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निक्लने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको वेलामा 'भोलि पाँच बजे उठ्छु' भन्ने भावना अनन्तको घडीको सुई ट्वाक्क देखने गरी कसरी ब्यूँझिएर उठ्तछ ?

'किरो'[2] हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन गरिरहेछु । मेरो हात पढे दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त थकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ पढ्नाका निमित्त !

अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक विचारमा विश्वको लहरोपहरो तानिन्छ । अनि सूक्ष्मातिसूक्ष्म सबैको होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा कति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।

यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो छ । यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।

  1. मेरो एक गाइने गीतको शीर्षक ।
  2. अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष ।