Jump to content

Laxmi nibandhasangraha/sustari swas fera

From Nepali Proofreaders

सुस्तरी श्वास फेर


मलाई कोपिला टिप्न डर लाग्दछ, मुना चुँड्न हात काँप्तछ । फूल सायद आजसम्म मेरो हातले च्यातेको होओइन जस्तो लाग्दछ । सुन्दरताका मृदुल नमुनाहरुमा क्रूरताको आत्मा कँपाउने के मोहनी हुन्छ ? राम्रो चिज देखे मलाई रुँ रुँ लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ, जस्तो मेरो हृदय अश्रमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरुको पापी शिकार झैं त्यसलाई ताकेर अश्रुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई छन् ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै पापको मुटु हो ।

यी भावहरु बराबर आए तापनि आदत यस्तो बलवान् छ कि फुस्रा क्षणहरुमा मैले अनेक पाप गरेको छु । मेरो जिभ्रोमा हिंस्रकता छ, म मासु खान्छु । यद्यपि छ बाजि छाडें, मेरो आत्मा नखा भन्छ, मलाई हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाऊँ– खाऊँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, त्यो सुन्दर रङ्गीचङ्गी परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका आँखाले सरापे–मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो । मेरा कविताहरुको आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक पछुताउको अबोल खेदहरुलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर गयो । चितानजिक हुँदा मैले मासुको गन्ध सुँघें, घीन लाग्यो, अनन्त घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र बनिसकेको छु, मुर्दा मासु लुछ्नलाई र चपाउनलाई मानवदन्त प्रयोग गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला बसेको बेलामा गुमेको आत्मा कहाँ–कहाँ झ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो– जीवहरु र कलिला पत्तीहरुका निमित्त, तर किन म यस्तो मुर्दा झैं बस्तछु । म आफैं राम्ररी बुझ्दिनँ ।

मलाई संसारका क्रूरताहरुले गिज्याए त्यस बेला जब म मृदुलको र्स्श पाइरहेथें मेरो हृदयमा भीषण दक्खल परे । दुनियाँका राता दाह्रा र नङ्ग्राहरु देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें, ‘म मात्र ज्यादा मृदुल हुनु अतिजीविताबाट वञ्चित हुनु हो !’ संसारको ढुङ्गे व्यवहारले नै हाम्रा कोमल नसाहरु ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल भावहरुमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्रूर दक्खलहरु हृदयमा अनुभव गरेर, दुनियाँ सोझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले तर्साउनुपर्छ, ठुला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धुलो बनूँ ? यस्ता प्राकृत भावहरु संसारका हावाले सजिलैसँग उब्जाउँछन् ।

त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका नङ्ग्रा कति लाल छन् । मासु खाने, धर्मधुरन्धरहरुको प्रवृत्ति देखेर रिस उठ्यो । उनीहरुका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रलाई सिवाय मैले देखिनँ । आत्माले भन्यो– 'धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जिबो जीवस्य जीवनम्' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें– 'धत् उल्लू हो ! चुप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ ! म खालि प्राकृत जङ्गल–कानुनमा चलिरहेछु । महामायामा हिंसा छ !' तैपनि जिभ्रोलाई छकाए पनि यसभन्दा मिठोपन कहीं अरु ठाउँमा छ भन्दै खान्थ्यो, सायद कन्दमूलमा र वृक्षले आफैं हातले दिने रसभरि दानाहरुमा । म मुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थें, 'छिः कस्तो, मैलो, मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी आदतले त्यसै आँखा छोपिदिन्थ्यो ।

म बुझ्थें– म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई छकाउँथें । म सम्झन्छु–दुनियाँका व्यवहारका जरामा केही विषालुपन छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ । मलाई आदतले त्यसै लागिरहेछ ?

अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ– कोरीको शरीर जस्तो ! म के अरु चिज चाहन्छु, अरु जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी र चराहरुबाट ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन् ।

कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् । स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ मृदुलको मोहनीबाट वञ्चित छस् ।'

मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ । तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।

बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने आदतहरुबाट आएको जस्तो लाग्दछ । मान्छे अरुहरुसँग आफ्नो खाना मिलाउँछ र आफ्नो आँसुहरुले उद्धार माग्दछ ।

म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक पुर्‍याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले तर्सिन्छ ।

मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन् । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । तर दाँजेर हेर, मृदुले छोएका क्षणहरु र क्रूरको पग्लिंदो रक्तस्वाद– मानव–जिभ्रोमा ! त्यहाँ आसमान जमिन छ !

खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैं नखसुञ्जेल टिप्नु स्वार्थको हात लम्बाए जस्तो लाग्दछ । कोही ऋषिहरु बोटमनि फल झर्नको आशामा चातक झैं बस्ता हुन् । उनलाई टिप्न गाह्रो लाग्दो हो, कन्दमूल खोस्रने मन्त्रहरु होलान्, जस्तो समिधा काट्ने र भात खाने । ऋषिहरु खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदा हुन् । स्वार्थ घुसेको खाना अँध्यारो खाना हो ।

ऋषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा संसार कस्तो–कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा सिल्मिलाउँदा जीवनहरु खालि ‘खाँ ! खाँ !’ गरेर मुख बाउँदै दाह्रा किट्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिंदै गरिरहेको घीनलाग्दो नाटक देखिंदो हो । दुनियाँ खाँ खाँ–मा छ । उता चोर्छ, उता धूर्त्याइँ गर्छ, उता हत्या, मासु सिंगार्छ–कालका निमित्त ।

ऋषिको आत्माले भन्दो हो, ‘हाय ! अन्धा जीव हो ! यो उचाइमा अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ । यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरु बज्दछन् ।’

आत्मौपम्य नै ऋषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादुमा मेरो विश्व र ब्रह्म छ । म अरुलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म अरुबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार छैन । मलाई त्यस बेलासम्म जिउनको अधिकार छ, जबसम्म म परजीवनको आदर गर्न सामर्थ्य देखाउँछु । तब यो जीवन चोरी हो, डकैती हो, तर यसलाई सत्य र धर्मको तत्वमा बलिदान दिएर पखालिने मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।

बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौं । तर मानवता त्यहाँ सुरु हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुट्तछ । बाघ खालि हतियार हो, उसमा दोष छैन । तर विवेक र ज्ञानको बक्सिससँग हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरु खोज्ने मानिस कति अन्धो होला ?

जहाँ हिंसा टुङ्गिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य–समर्थन गर्न खोज्दछ । क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै आत्माले मानिहाल्नु पर्दछ, त्यहाँ हिंसाको जरुरत छैन । हामी ब्राह्मण क्षत्रियलाई तल्लो दर्जाको सत्य समर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा र दीनताद्वारा आफ्नो सत्य राख्तछौं ।

हिंसा नपञ्छाई मनुष्यको शैशव सकिंदैन । हाम्रो सच्चा विकास त्यहाँ सुरु हुन्छ, जहाँ संसार भ्रातभावमा आइपुग्दछ । सभ्यता सुरु भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति सुरु हुन्छ । अहिले हामीहरु संकीर्ण–विकीर्ण छौं, एक विश्व–मानव–संस्था अझ उघ्रिएको छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी हजारतर्फ खिचिन्छौं र विरोधी बन्छौं । मानवजाति टुक्रिन्छ, गाँसिन्न ।

कोही–कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम हो । सर्वोत्तम शक्तिहरुको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौं संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण मानव अन्तर्गत्का विरोधी व्यक्तिविषयी भावनाहरु र ध्येयहरु हुन्, हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी विरोधहरु एक तत्वका हाँगा हुन् र एक तत्वमा सास्य लिन्छन्, तब समरहरु टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो ।

मलाई मानिसहरु 'सपनाखोरी' भन्ने नाम देलाख्, यदि म भनूँ कि म मानव–भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्गीहरुसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको सुरु सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँग्लिन्छु, म विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कुचित हुन्नँ, मेरा सहानुभूति सीमित हुँदैनन् ।

मैले अघि बताएँ हिंसामा मानव–जातिलाई भयङ्कर खतरा छ । साम्य नभएका असङ्गत सङ्कीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना र ध्येयहरुमा छरिनु र सधैं रुनु बिसौं शताब्दीको अभाग छ । मानिस एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरु यहाँ बल्किन्नन्, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरु धोत्रिन्छन्, सबै सत्यध्येयी हुँदैनन् । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न जहाँ भ्रातृभावको विकास छैन, छापाका भङ्राटाउके झुटा सहानुभूतिहरु हामीलाई काम लाग्दैनन् । यो विशाल मानवशक्ति ध्रुव पाउँदैनन् । अनि खण्डन, मण्डन र संघर्षमा काटमारका प्रदर्शनीहरु देखाउँछ । अफ मान्छेले बुझेका छ्रनन्– ती समरहरु खटिरा हुन् । समष्टि शरीरमा फैलिएपछि मानव–रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ । यी भीषण लक्षण हुन् । हामी यिनलाई एलोपेथिक इजाजले ठण्डा बनाउन चाहन्छौं ! मानवशक्तिले सत्यको र एक्यको दिशा पाएन, गडबडियो हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र प्रवृत्ति नपाई बाँदर–नजिकै हुन्छौं ।

यो जीवन एक वीणा हो जहाँ विवादहरु बजाउन दुःख हुन्छ । हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरुमा अवहेलना नराख, खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, तारहरु ठिकसँग छोऊ यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्, यहाँ मृदुललाई बोलाउन सक्नुमा महिमा छ ।

म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरुलाई म सहानुभूति गर्दछु । जस्तो दिव्य करुणा गर्दछ । कीराहरु नमार्नू र कीटाणु नमार्नू भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो मुख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरु आफैं हराएर जान्छन् । तिनीहरुको बाहुल्यले भन्दछ– मानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरु जरुर हराउँछन्, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरुले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरु हराउँछन्, मृगहरु बढ्दछन् ।

तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होऊ । मानव– मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो लाली र रङ्गीचङ्गी चाचाहरु क्षणिक सिंगार हुन् र मिथ्याबाट आउँछन्, यदि तिनीहरु हिंसासँग सम्बन्ध राख्तछन् । वीरको आत्मालाई पनि कहिले–कहिले रुन मन लाग्दो हो ।

लोभ, काम, क्रोध, ईर्ष्याहरु सब हिंसा हुन् । म मान्छे अरु मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरु पशुहरुका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही–कोही साधुको कहानी छ ।

तब मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर । दुनियाँमा क्रूरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनाधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।