Jump to content

Laxmi nibandhasangraha/kabirajko chyangre khacchar

From Nepali Proofreaders

कविराजको च्याङ्ग्रे खच्चर

कविराज च-प्रसादको मुख्य चिह्न झुस्मुसे दाह्री थियो– त्यस बेला जब एक शंक्याहा बडाआदमीका छ महीनाको कपालदुखाइ उनले गोडाका बूढीऔंलाको नङमा कापालिनी बूटी लगाएर बिलकुलै निर्मूल गराउँदा चङ्गा भएका उनले हरियो दोसल्ला ओढाएथे । बनारस विश्वविद्यालको प्रमाणपत्रमा काने चित्रकारीलाई फूलबुट्टा सिंगार्न लगाएर, डाक्टर द्रव्यरञ्जन सेनको हस्तलिपिमा अंग्रेजी प्रशंसापत्रसमेत टाँसी उनी हरेक घरका बिरामीकोठारीमा हेर्न आउनेहरूको नजरलाई 'ओहो !' 'ओहो !' पार्दथे । हामी भन्न सक्तैनौं कति मात्रामा मनोवैज्ञानिक प्रभावहरू औषधिमूलोलाई मद्दत दिन्छन्‌; तर प्रमाणपत्रमा चित्रकारी नभएको भए यो कुरा वज्रलेप निश्चित छ कि धेरै बिचरा मनुष्यहरूको स्वदेश सेवानुरागी प्राणले दुःखको दुःखमै यमपुरीको बाटो लिन्थे अनि उनी कुरा गर्न खूब सिपालु थिए र आकाश-पाताल जोड्नेहरूले स्वर्गमा पुगिसकेको प्राण पृथ्वीसम्म फर्काएर ल्याउन सक्तैनन्‌ भन्ने कनै व्यक्तिको अनुमान हुन सक्तैन ।

तर आफ्नो सफलताको हरियापाती लगाएको अधबैंसे कविराजलाई घोडा चढ्नमा ज्यादा अभ्यास नहुनाले र आफ्ना हड्डी र जोर्नीको समेत होशियारी जबर्दस्ती हुनाले अरबीको त कुरै भएन, ताजा तेजिलो खच्चरको पीठमा सवार हुनेदेखिन्‌ पनि स्वभाववश उनी डराउँथे । तैपनि जजमान धेरै हुने पुरोहितलाई ज्यादा कामको भीड परेझैं चिताका नजीक पुगेका अभागीहरूले बचत पैसाले प्राणलाई आशा राख्ने कविराज बाजे सम्झनाको कारण, उनी बेफुर्सदी भएर साँके सार्कीका जुत्तालाई चाँडै खियाउनुभन्दा बरु रवाफ र धाकसमेत रहने हुनाले एउटा च्याङ्ग्रे खच्चर खरिद्नको बुद्धिमानी राखेका थिए । पहाड नचढ्‌ त पर्खालै सही ! र अरबी भनेको ज्यादै अग्लो जन्तु थियो र वायुपङ्खी सिलिङ चढून् भने ताजा र तेजी भए धोबीखोलामा टिपेर मुन्ट्याउन कति बेर ? चौपायामा अरू किसिमका जन्तुहरू उनलाई सुभदै सुझेनन्‌ र बल हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरमा धेरै बेर जुँघा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तबरसँग खुल्यो कि उनको पुड्के छोटखुट्टे मूर्तिलाई सकभर सानो किसिमको वाहन सुहाउँथ्यो । के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा-खोज्दा वामन बनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तले सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि भर्याङ लाउन नपर्ने, न पर्खाल-पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको बाबुको के मजाज ? उनी सानो भए पनि च्यवनप्रास खाएर निक्कै गठिला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई अडाउन सक्तथे । यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन र पैसा सोद्धा बिचरो गरीब बामन बनजरले दमको औषधि गरेको बापत सित्तैंमा टक्र्याउँछ भन्ने निवेदन गर्यो । अनि त्यस दिनदेखि त्यही च्याङ्ग्रे खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबैभन्दा एक कुरामा ज्यादा सुबिस्ता देख्तथे कि सडकमा हुँदा ढोग्ने र टाउको थाप्ने पहिचानहरूलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनको जरूरत थिएन, अरू लम्बा-चौडा अरबी सिलिङ भए त्यो पनि त मुश्किलकै कुरो थियो ।

'बाजे ! के बोको चढ्नुभएको यस्तो !' भन्ने टीकाकारहरूलाई उनी मुखभरिको जवाफ दिन्थे । 'बोको र घोडा त चिन्नुहुन्न तपाईं, खै ! दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस्‌ न ए ? कि खसीलाई गधा बनाउने ठगहरूको किस्सा दोहर्याउन आँट्नुभयो ? कहाँ भन्नुहुन्छ ! सानो भए पनि निक्कै पो छ त यो पनि ! खुर-खुर खुर-खुर गर्छ ! खालि सिप्कनो चाहिन्छ ।'

शाङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मूसामा चढेर साना भएनन्‌ । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन्‌ भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला ? फेरि 'पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहनको काम बोक्नुभन्दा टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पर्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँघामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेझोक्रूवा मिजासको जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे– लिखे टुकुर टुक्रमा– र यो मीठो चैतन्य उनमाथि गद्‌गदाएर चढ्थ्यो कि हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना बागबजारको सडकमा रंगमगिइरहेछन्‌ ।

जुन दिनको हामी उपाख्यान गरिरहेछौं उस दिन जुँघामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिषगराज बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले धम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न झुसमुसे दाढीवाल कविराजलाई देख्यो, न उहाँको गधघामुखे वाहनलाई, हामी निश्चित तवरले भन्न सक्तैनौं । दुईतर्फबाट यस कुराको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात्‌ वनको बाघ आएझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्ट्याच्यूतिर, कहिले बिजुली-अड्डातिर सहारा खोज्न रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने– तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे– तैपनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन्‌ रन्थनिएछ– अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक्‌ ! भ्वाँक्‌ !! भ्याँक्‌ !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन्‌ र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश बतासिएका हुन्‌ हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर 'सर्वनाशे समुत्पन्ने अर्द्ध त्यजति पण्डित: भन्ने शास्त्रवाक्यअनुसार उहाँ त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर कद्नुभएछ । हुन त धेरै ठूलो हाम्फाली परेन होलाजस्तो पाठकलाई लाग्ला । हुन पनि दुई हात र अढाईसम्मको हुँदो हो । तर मान्छेको घनघोर भीड र हँस्सी लागिहालेछ; मोटर आफ्नो बाटो चलिहालेछ र बिजुलीघरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन्‌ । चोटपटकको बारेमा चश्मा चकनाचूर ! आँखा ज्यौंका त्यौं । तर बायाँ हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन सेनको प्रेस्क्रिप्शन लिएर 'कस्तो ओखती हो ! रसादि हो कि काष्ठादि ?' भनी सोध्न आउनुहुँदा मेरो कलेजै रहेन ! अनि मैले उहाँलाई सम्झाएँ कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू च्याङ्ग्राको सट्टा कालिकास्थानमा चढाइदिनु धेरै बेस हुँदो हो ! उहाँले मान्नुभएन र मैले यति थपें कि 'यो च्याङ्ग्रे खच्चर संसारको सबैभन्दा अलच्छिना उल्लू रहेछ !' भनी जन गिल्पिनको किस्सा त्यहीं सुनाइदिएँ र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र हुनुहुँदौ रहेनछ । तर फेरि निको भएपछि त्यही च्याङ्ग्रे खच्चर चढ्न लाग्नुभएछ; र म भन्न सक्तिनँ यस कुराको कारण न प्रेम हो, न बहादुरी हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले-कहिले भेट्टिदै हुनुहुन्छ– च्याङ्ग्रे खच्चरमा झुसमुसे कविराज ।