Jump to content

Laxmi nibandhasangraha/aakar ra abhipraya

From Nepali Proofreaders

आकार र अभिप्राय

विश्वमा आकारमा अन्धोपन देखिंदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौं त्यसमा पनि अशेष नियमहरूको सूक्ष्मता भएजस्तो विदित हुन्छ । यसकारण हामी अन्धो प्रकृतिमा निर्भर रहन सक्तैनौं । सूक्ष्मातिसूक्ष्ममा चमत्कारी होश राख्ने कोही मानव- चैतन्य काम गरिरहेको स्पष्ट झल्कन्छ । यसैले रस्किनसाहबले भनेथे– 'एउटा मकै उम्रेको हेर ! त्यहीं संसारका ज्ञान छन्‌ ।'

माथि बताइएको दृष्टान्तमा हामीले चित्रात्मक कल्पना लगायौं भने हामीलाई यो चैतन्यको क्रिया स्पष्ट झल्कन्छ । मकैको चाउरे- चाउरे सेतो आँख्ले पहेंलो दानाभित्र बोट पहिले नै सृक्ष्माकारित रहेको थियो । त्यहाँ हाँगा हाल्ने, जरा फैलाउने, रस सोस्ने, तेज र पोषहरू मिलाउने, संचालन गर्ने, व्यायाम लिने, बीज संरक्षण गर्ने विकासी भावहरू प्राथमिक अवस्थामा केन्द्रीभूत थिए, अस्पष्ट र अस्फुटको राज्यमा । जब माटो तयार पारेर त्यो दाना रोपियो, त्यसका अव्यक्त भावनाहरू स्थान पाएर आत्मविस्तारक सिर्जनामा प्राकृतिक फैलाहटको प्रेरणा पाउन लागे । त्यसका परमाणुहरूमा जो चमत्कार गुप्त थियो, सो रहस्यको अँधेरीबाट स्पष्ट हुन र व्यक्त हुन लाग्यो । के उसलाई थाहा थियो कि जरा तलतिर हाल्नुपर्छ र सोझो तल मात्र होइन तर पार्श्वविस्तारमा ? के उसलाई थाहा थियो कि माटाका साना गिर्खाहरू धुलाउनु र तिनबाट खनिज र अरू पोष निकाल्नुपर्दछ ? बढतीमुताबिक टाँस्सिने, पक्डिने र फैलिने क्रियाहरूको हिसाबी जरूरत बढ्दै जान्छ भन्ने के ऊ पहिले नै थाहा पाउँथ्यो ? के उसलाई याद थियो कि वर्षाले खनिज पदार्थका पोषणहरू घोलको रूपमा प्राप्य बनाउँछ र त्यसका निमित्त नलीहरूको जरूरत पर्दछ ? के उसले ओसजन नक्तजन सूक्ष्म क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ? के उसलाई यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उठ्दछ मानौं हावाका झोक्काहरूले फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिंदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दह्रिंदै जान्छ मानौं आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा आँख्लिन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै बढ्दै रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट आयो ? त्यसमा पनि मधुर अभिप्राय छ– हाम्रो आँखाका निमित्त र संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको खेलाडी शिशु मृदुल र कठोरको त्यत्ति मात्रामा काँट राख्तछ, जत्तिले विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता टुसा पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू झर्छन्‌ र नवीन पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा राख्तछ । ऋतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तवरले रहेको विदित हुन्छ । त्यो जीवनको अङ्‌कुर कहाँबाट निस्क्यो, जो यसरी हावामा सर्सराउँछ ? मानौं सूर्य र पृथ्वीले रहस्यमा केही-केही वार्ता गरिसकेका थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बुद्धि छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति दिएको छ जहाँ यसलाई विश्वाऽस्वादक जीवनानन्द मिल्न सक्थ्यो । त्यही आशामा यो जीवनको अङ्‌कुर पालन गरेर बसेको थियो । मानौं सानो वासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक भाव स्पष्ट हुन्छ । त्यसको खस्रोपनामा कीराहरूसँगको लडाइँ छ; लम्बे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वयः सांकेतिक हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन्‌ र मानौं फल नपाक्तै मनुष्य झुक्किएलान्‌ भनेर आत्मसंरक्षणका निमित्त डशाराको रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया र यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कुन दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आँखा छलेर हेर्न हुँदैन जब मकै पाक्यो जुँघा कल्सेंदो खैरो भएर जरियो, बस । बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन्‌ । पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्‌, बोट सुक्तछ, संसारमा आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड खुकुलो पार्दै जान्छ । अब आगामी ऋतुका शिशुहरूलाई पोषण गर्नलाई मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन्‌ ।

कुनै बान्की कुनै रेखा बेमतलबका छैनन्‌ । जराको रातो जालदेखि पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक ढङ्ग र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका दौलत र वैज्ञानिकका चमत्कारहरू त्यहीं झल्कन्थे ! यसमा बठ्याइँ छन्‌ पत्रचातुरीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन्‌ । म राम्ररी बोलाऊँ त शायद बोलि पनि हाल्दो हो कि!

त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन्‌ । जस्तो स्त्रीजातिहरू बैंसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन्‌ । मौरी बोलाउँछन्‌ र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन्‌ । तिनका आकारमा सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । हाम्रो मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्‌साहबको भनाइमा त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।

हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू थपिरहेकै छ । आकारहरू आभासित बन्दछन्‌, बिलाउँछन्‌ । तर हरेकमा दिव्य प्रतिभा झल्केकै देखिन्छ ।

पृथ्वीको गोल आकार, आकाशको रूप, ताराहरूको बनौट सबमा कला पाइन्छ । पृथ्वीको गोलाइले दिन-रात ऋतुसञ्चालनको महिमा राख्तछ, राम्रो समय र देशको नाम-विभाग सजिलो हुनजान्छ । आकाशको गोलाइमा हामी ईश्वरको दिव्य स्थितिको गोलाइ देख्तछौं, जसमा सब चीज ठेगानसँग राखिएको छ । यसको ठूलो गोलामा साना वर्तुलाकृति रूपमा पूर्णका साना पूर्ण झैं ताराहरू झल्किन्छन्‌ ।

शोपन्‌हारसाहेबको दर्शनमा सारा इच्छाशक्तिकै विकास र तारतम्यको रूपमा संसार दर्शाइएको छ । आकृति केवल इच्छाको विकास हो । रेखाहरू सब अभिप्रायबाट अङ्कित भएका जस्ता विदित हुन्छन्‌ । व्यक्तिमा आभ्यन्तरिक इच्छाहरू रूपमा प्रकाशित हुन्छन्‌ र विश्वमा समष्टिरूप दिव्य इच्छाशक्तिका बनोटहरू जस्ता देखिन्छन्‌ । आँखाको खोपिल्टोमा संरक्षणार्थ अभिप्राय छ । जिभ्रोका गिर्खहरूमा आस्वादनात्मक चमत्कारहरूका सूक्ष्म कला पाइन्छन्‌ । चेहरामा मन झल्किन्छ । फियोको बनोटमा समरभूमिको तयारी छ, माछालाई पानीभित्र सास फेर्न आकार दिइयो, हात्तीको आकारले सूचना दिन्छ कि उसको बुद्धिमा खालि ठूलो हुनु नै सर्वविजयिता रहेछ । परिस्थिति र जीवनका भागहरूले इच्छाको विकास गर्दछन्‌ र हाम्रा इच्छाहरू सुन्दर र सूक्ष्मतिर विकासिनु सभ्यता हो ।

विश्वमा आकृति र अभिप्राय साथसाथ देखिन्छन्‌ र अभिप्रायकै खँदिलो भौतिक रेखालाई हामी आकारको रूपमा देख्तछौं । मलाई बराबर वस्तुहरू खँदिला छैनन्‌ कि भनेर छाम्न मन लाग्दछ; किनकि संसार खालि विश्वनिर्माण-कर्ताको कल्पनारेखा जस्तो विदित हुन्छ । यहाँ खालि सपना, भावना र इच्छाका खँदिलापनहरू मात्र छन्‌ । परमाणुहरू पनि खालि कम्पनका संख्यामा र ढङ्गमा आकारित भएका जस्ता विदित हुन्छन्‌ ! दिव्य इच्छाका लहरहरू नै अङ्कित हुँदा संसारमा वस्तुहरू खँदिला भएजस्तो हाम्रो भित्री चेतले दर्शाउँछ । यो संसार काकताली होइन, अभिप्रायशील विकासशील आकार हो । बाह्य रूपहरू आभ्यन्तरिक कल्पनातत्त्वहरूका खँदिला प्रदर्शन मात्र हुन्‌ कि भन्ने हामीलाई लाग्दछ । संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत पाउँदछौं । संसार सपना हो, तर दिव्य सपना हो, र इन्द्रियहरूका विषयमा हाम्रा सम्बन्धात्मक चेतहरूमा अखँदिलो इत्यादिका भावना आउँदछन्‌ ।

जहाँ जडको स्वतः क्रिया छैन त्यहाँ जड स्वयं आकृति पाउनै सक्तैन, किनकि चिदाभासको क्रियाशीलता नपाई उसमा परिवर्तनशीलतासम्म पनि हुँदैन । हरेक आकृतिलाई चेतनशील अभिप्रायको आवश्यकता छ । एकबाजि शून्य थियो भन्ने हरएक धर्मको विश्वास छ, परमेश्वरले बनाएको जगत्‌मा इच्छा-लहरहरू नै अभिप्रायणील आकारमा व्यक्त हुँदै खँदिलो भएको जस्तो लाग्छ । विश्वपदार्थ के थियो; परमेश्वरको काल्पनिक चित्ररेखा रङ्ग कि कुनै ईश्वरभिन्न वस्तु ? जो आकारिएको थिएन तर इच्छाले अङ्गित हुँदै उपस्थित विश्वको रूपमा उद्घाटित भयो । यस कुरामा हामी आफ्नो कल्पना फैलाउन सक्तछौं ।