Jump to content

Laxmi nibandhasangraha/ful

From Nepali Proofreaders

फूल

कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ । सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले सिंगार्दछन्‌ । वास्तवमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ । अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर छरिन्छन्‌ । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो गराउँछन्‌ । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन्‌ । कविता पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको जागरणकालमा प्रादुर्भाव भएको न हो ! त्यो सच्चा कविता हो, जसमा माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँ पुर्याउँदछ । सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई बीभत्स रूपबाट बचाएका छन्‌ । मानिस पनि एउटा फूलको कोपिला हो, जसमा भावको रङ्ग चढ्दछ, सहृदयताको कोमलता आउँछ, विचारको संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी मगमगाउँछ ! कृ्‌ष्णजीको नाभिबाट कमल फुलेको छ, कमलका फूलमा चार वेद हातमा लिएका बह्माजी प्रादुर्भूत हुनुभएको छ । हरेक फूलमा नजर भएकालाई चारै वेद फुलेका छन्‌। हेर यो गुलाब ! एकान्तमा हृदयअगाडि यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो अर्को रंग, यो अनुपम कोमलता ! कुन जादूले हरिया काँढावाल बोटको श्रीपेच गराएर यस सौन्दर्यको लाली चढायो । कुन स्थिति, कुन नियमले आविष्कार गर्यो–पत्तीहरूको यो कारीगरी, यो मिलाप, यो फुकाइ, यो लच्कँदा बाटुला घेरा, यो सूक्ष्म शरीर, यी मसिना मधुर धर्सा र धर्का, यो स्थानको औचित्य र प्रफुल्लताको वैचित्र्य ! फेरि खरिलो कलिलो डाँठउपरको लच्काइ ! यो परागकेन्द्रको मिहीन तमासा ! हावा र घामतर्फको यो उत्सुक बढाइ कुन सूक्ष्म चैतन्यले दिइरहेछ । यी हरिया पातहरूको घरमा प्रलयसमीरको झुलौनामा केले हल्लाईहल्लाई हँसाइरहेछ । यो पवित्र सजीव चाल र बाललीलाको सरसता र जीवनको तिलस्मी नाटकको खेल हो । फेरि यो मधुर सुगन्ध, मानौं त्यही सुन्दर रूपको सृक्ष्म सार, कुन जलको अगोचर बाफ उठेको हो, कन हृदयको भाव वायुमण्डलमा फैलिरहेको हो ! अहा ! यसलाई कुन अविदित हातले स्पर्श गरेर खिलायो !पृथ्वीको वक्ष-स्थलमा दूध चुसिरहेको यो शिशु, वसन्तको प्रवाहमा श्वास फेरिरहेछ । यसले यो मुस्कान कहाँबाट चोर्यो ! यो कहाँको झल्का देखिएको हो ! उषा र साँझको लालीले रंगीनको भाव झैं यो फूल मेरो नजरसामुन्ने छ । म यसलाई हेरिरहेछु, अन्तमा छालहरू हृदय छुदै छचल्किन्छन्‌ म कहाँ-कहाँ पुग्दछु । सिर्जनाको पहिलो हरियो रंग फैलिदा यो कसको साथमा पृथ्वीको वाटिकामा आएथ्यो ! कहाँ अल्पिन्छ यो रंगीन छाया, कहाँबाट फेरि झल्किन्छ !

फूलमा सौन्दर्यसँग सजीवता मिलेको छ । घरको, पहाडको, आकाशको, पृथ्वीको सुन्दरतामा ज्यान नभएको जस्तो लाग्छ, तर पृथ्वीलाई रंगीचंगी जीवनको चाल दिने फूलहरू हन्‌, आकाशको एकोहोरो गाम्भीर्यमा सजीव गौरवको चाल यप्ने आकाशैका मोती फूलहरू हुन्‌, अथवा ती सुनौला गुलाबी फूल जसलाई हामी बादल भन्दछौं । सुन्दर प्रभात गुलाबको फूल भएर फुल्दछ, मनोहर संध्यामा गुलाब र सुनगाभा मिसिन्छ । प्रकृतिका सुन्दर दृश्यमा फूलहरूमा झैँ तीन विशेषता देखिन्छन्‌–रंगको लालित्य, हृदयस्पर्शी कोमलता र अंगसंगतिको विचित्र माधुर्य । सबै राम्रा चित्रहरू चित्रकारको मगजका फूलहरू हन्‌ । रंग भर्न खोज्नेलाई फूलहरूमा सब किसिमका रंग र छाँट मिल्दछन्‌– फीका गाढा, मिहीन, चड्का, हलुका गहिरा, तर फूलहरूमा सरस चाल छन्‌ । यी सजीवताको माधुर्य सबै चीजमा पाइन्न, कुनै चीजमा यो वैत्रित्य लिएको देखिन्न । चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।

एक अंग्रेजी कवि भन्दछन्‌, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन्‌ । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस्‌ तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्‌, खुशबू दिइरहेछन्‌ । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन्‌ । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।

फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई अनेक धन्दाले हावा छेकिरहेछन्‌ । म बाहिर निस्कन छटपटाइरहेछु, तर मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! फूलसँग आफ्नो जीवनको महान्‌ उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य सङ्गति त्यो लयदार मिलाप आउन देऊ ।

हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !

अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- हावातर्फ यो उज्यालो जगत्‌तिर फैलिन कोशिश गर्यो । माटोतल जरा हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिंदै यो सानो अङ्कुरले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिंदै यसले यो रूप लियो, यस्ता पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र तब वसन्तलाई सुस्वागत गरेर एउटा झीनो डाँठको टुप्पामा सानो गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो । हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको छ।

यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन्‌ । यिनमा पनि भाले-पोथीको नैसर्गिक भेदले विचित्र क्रिया पैदा गर्दछ । मानिसको जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय छ। जीवनको जादूले यिनलाई छोएको छ । यी सुकुमार परीहरू मलयसमीरको प्रभाव याद पाउँछन्‌, वसन्तले यिनलाई पनि मोहनी लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले यिनलाई पनि पुलकित गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार चालमा हलुका तवरले झल्किरहेको थियो ।

तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन्‌ । छओटा डण्डी भएको पाङ्ग्राको एक-एक चक्करमा यिनीहरू एक-एकबाजि झल्केर जान्छन्‌ । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा बराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूल न वैलिन्छ, न मर्दछ । चन्द्रमाका कला झैं प्रकृतिको स्थितिमा यो कुनचाहिं कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर उठ्दछ।

यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? हामी भन्दछौं–यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको सूक्ष्म आभास छ। नत्र मानिसको कविता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने थियो । दृष्टिगोचर जगत्‌ सपना होइन विपना हो। परिवर्तनको खेलभित्र भए तापनि यसमा असीम र परमसुन्दर विचित्र झल्काहरू छन्‌ । जुन सौन्दर्य म एउटा फूलमा देख्दछु, त्यही म मानिसको मुखमा, स्त्रीजातिको लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका छन्‌ । त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले मानिसलाई मुटुमा छुन्छ । कविको उन्माद बहुलट्ठी होइन, सच्चा कवि भनेको सौन्दर्यवाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा पौष्टिक व्यञ्जन हो ।