Laxmi nibandhasangraha/chanda ra laya
छन्द र लय
मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पिताजी संस्कृत र नेपालीमा कविता लेख्नुहुन्थ्यो र उहाँलाई करीब असी वर्षको उमेरमा पुरानो सौख पुनर्जागरित भएको थियो। वृद्धले काव्य-रचना गर्नुमा हामी मानव-आत्माले यात्रा गरिसकेका क्षेत्रहरूको दृश्यउपर वैराग्य र भक्तिको भावना उठिरहेको देख्छौं; र मेरा प्राणदाता पिताजी अक्सर ईश्वरको स्तुति संस्कृत र नेपालीमा लेखिरहनुहुन्थ्यो । म साफी गरिदिन्थें– रातो मसीमा बाँसको कलमको सफा टड्कारा टाँका लगाएर । स्कूलबाट फर्किएपछि चार र छ बजेको अन्तरमा मेरो यही काम ज्यादा हुन्थ्यो र मलाई पनि कविता लेख्ने सौख त्यसैबाट बढेर गयो ।
केटाकेटीमा कविता कण्ठ गर्नु र सुन्नु कति हृदयमा असर गर्दो रहेछ मैले सम्झिरहेछु । पिताजीलाई संस्कृत कविताहरूमा सौख थियो र 'रसगङ्गाधर' का पाना पल्टाएर बराबर मलाई कविका राम्रा राम्रा अलङ्कारमण्डित पंक्तिहरू देखाउँदै अर्थ लगाइदिनुहुन्थ्यो । त्यसका साथसाथै स्तोत्रकलापका मीठा स्तुतिहरू मलाई कण्ठ गराएर भन्न लगाउने उहाँको सौख थियो। 'पुराण' भन्नामा बडो चित्ताकर्षकतासाथ सुरिलो सङ्गीतमय स्वरले भन्न सक्ने हुनाले उहाँले भागवतका श्लोकहरू उच्चारण गरेको सुन्न मलाई बहुत मीठो लाग्दथ्यो । यिनै प्रभावहरूले कता कताबाट मेरो हृदयमा छन्द आफैं घुसेर आयो, जस्तो गानाको लय कुनै कुनै केटाकेटीको कानमा सच्चाइसँग घुस्दछ ।
तर शायद अझसम्म मैले मगण र रगणको भेद छुट्ट्याउन सकेको छैन, किनकि मलाई तिनको जरूरतै छैन, जहाँ हृदयले छन्द पक्रेर टिपिसक्यो, उहाँ रगणको व्यायाम गर्नु गाना जानिसकेपछि सुरहरूका निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशुहृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लग्दथे । मीठो कविताको बोली चराको बोली झैं लाग्दथ्यो; वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिल्दारहेछन् र लय घुसेपछि, हावाले बाँसमा मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दोरहेछ ।
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गड्यो उहीं मानिस आफ्नो विलास पाउँदो रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सूक्ष्म झल्का र अनुभूति पाइँदा रहेछन्, जसले ती नियम, लय र तालमा हिँडाउँदा रहेछन् । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्तारहेछन् ।
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सूक्ष्म बुद्धि र लय पक्रिने सूक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्; र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ सत्यलाई सुन्दरद्वारा देख्तारहेछन् उतैतिर लाग्दा रहेछन् । मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रङ्गिलो मोहनी पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सूक्ष्म चेत पाएर छन्दको ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन् । कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न वस्ताद चाहिएन ।
म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु; र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफूखुशी बालुवामाथि बगिरहेको देखें । मानवशिल्पकला विशाल रचनाअगाडि दिनको चन्द्रमा झैं धूसर बन्दछ । चित्रकारी यो अनन्त रङ्गदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षुद्र रचना महासागरको मीठो रङ्गिलो बुदबुदभन्दा बढ्ता देखिंदैन । जीवनको जादूले सब चीजलाई हराइदिन्छ, र लटमुखाजस्तो बनेर शिक्षितको घमण्ड विशालको मुख ताकेर अँध्यारैमा बस्तछ ।
समुव्रकै तरङ्ग हो, तरङ्गको समुद्र होइन ।
मलाई त्यसै कारण कितापहरूदेखि झर्को लागेर आउँछ र जब नवीन छन्द खोज्नुपर्यो म वनको या पहाडको नजीक गएर नालाको गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमनि बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु । तब उहाँ कहाँबाट मौनको मुटुबाट सन्देश जस्तो हृयदभावना अस्पष्टको मधुर कोपिलामा सुवास झैं भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले मीठो बोली बोल्दछ जस्तो चिडियाहरू आकाशको शीतदार हावामा छातीले उडेर आएपछि बोल्दछन् ।
जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका यान्त्रिक तालीमहरू निको लाग्दैन, सहस्ररजनीको मिठासबाट अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगेजस्ता लाग्दछन् । किताबका नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग कठोरतामा रहस्यको लयदार प्रगति ल्याउन खोजेजस्तो देखिन्छ ।
म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु। भाषा भनेको भुलभुलावट हो। स्वर्गको रस भरिएको छातीलाई शब्दशास्त्र पढ्नुपर्दैन, त्यसै झर्झराउँछ । सिर्जनाको प्राकृत ऐंडी मलाई त्यसै मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्त्व छैन जतिको राबर्ट ब्राउनिङ्गलाई शुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि पहिला गुलाफ देखेर चूप रहन सक्ने थिइनँ । रङ्ग-रेखाबाट शब्दहरू बन्दै आउँथे र मानव-भाषा पछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू कविता भए मलाई कविकला सिक्नाको जरूरत छैन र कलेज-स्कूलहरू बन्नु मानवहृदयको पक्षपात युगमा हुँदो रहेछ जस्तो मलाई शङ्का लाग्दछ । शब्दहरू अनुभूतिबाट बन्दछन् जस्तो अनुभूति विभूतिबाट । शायद हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौं । मलाई 'को हो ?' भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र 'क' अक्षर पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका स्पर्शहरू लम्बिंदै जाँदा दर्शनशास्त्र बन्दाहुन् ।
विश्वमा छन्द नभए म कवि हन सक्ने थिइनँ, चैतन्य नभए म अनुभूति पाउने थिइनँ, स्वर्ग नभए खोज्ने थिइनँ, नरक नभए डराउने थिइनँ, सिर्जना नभए मुखरित हने थिइनँ । गाना सितारमा बज्दैन, तर पहिलो सूर्यरश्मिमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक पहिला प्रभातको तरङ्गमा । मेरा नसामा नाला छन्, हृयदाकाशमा ताराको झिलिमिली छ । गोधूलीबाट म दोसाँधी दुनियाँको मिठास पाउँछु र मेरा छन्द र लय छन्दोमञ्जरी र संगीतपरिचयमा छैनन्, तर अनन्तको फूलबारीमा जलको कलकल बनेर म बराबर निदाउँंछु, संसारबाट अनि म जागृत पक्षी झैं गाउन खोज्छु, किन किन ?
विश्वकवि नभए साना कवि हने थिएनन् । हामी खालि हावामा रुनझुनाइरहेका टुक्रा टिप्तछौं । महासागरका स्वातिबूँद करुणामा पिउँछौं । साना नीदमा सपना देख्तछौं र हाम्रा भाषा व्याकरणबाट निस्कदैनन् तर हृदयको प्रथम राशिबाट हाम्रो विश्वमा शीतकणमा झल्किरहेछन् र अनन्तको सामुन्ने आँसुका दानाजस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई दोहोर्याउन र भाव लिन दिइएको छ । हामी अपूर्णता र लय सुन्दछौं र क्षणमा अनन्तको स्पर्श गर्दछौं । पहाडहरूमा नीरका शिल्पकारी छन् । विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । धन्य ! त्यसको आनन्द जो आफ्नो मीठो रुनझुनीमा मस्त छ । म उसैको नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू कानमा बराबर पस्तछन् र हृदय परदेशी बन्दछ । म आत्म-समष्टिको होश पाएर स्पन्दन लिन्छु । मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द हुने थिएन, यदि विश्वनेता बेलयको अन्धो काकताली हुँदो हो । हर मेरा तार मिलेर आउँछन्, तारकित तार-तम्यको जुहारदार झलमलाहट पनि अतन्तका बिन्दुहरूको नूपुरमा छन्दको आह्वान सुन्दछु ।
अनि त्यस होशले गुलाफ गाना बन्दछ, त्यसका कोमल अधरहरू बोलेर उठ्दछन् । माटो र रश्मि छिरेर सजग बन्दछ, मधुर कम्पमा थर्कन्छ । मलाई वृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिलाहरू र बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन् । चराहरू प्रार्थित प्रदेशमा स्वर्गका खबर ल्याउँछन्, सम्पूर्ण वस्तुहरू कानमा स्पर्श गर्दछन् र तरल बन्दछन् । दृश्य-जगत् गानामा परिणत हुन्छ । लहरदार आनन्दसागर पुकारको राहमा कलकल र झलमल लिएर मुखरित हुन्छ । पहाडका नीलरेखा खँदिला संगीतशाला बन्दछन्। ग्राह्य वस्तुहरू बज्दछन्, सबमा आत्मचेतको रङ्गिलो भाषा स्पष्ट बन्दै आउँछ । त्यस बेला भाषाभेदहरू व्यर्थतामा पुग्दछन् । म झल्का र शब्द पाउँछु । मलाई यस्तो लाग्दछ कि हृदयमा एक केन्द्र छ, जहाँ छुनासाथ वस्तुहरू बोल्दछन् । यो अगाध शब्दसागर अनियत, बेताल र बेलयको हुँदैन । दिव्य अभिप्रायको संगति मिहीन सम्बन्धहरूका टुनाले टुक्रा-टुक्रा जोड्दछ, जस्तो सुरहरू पहिला गवैयाको प्रतिभाका सूत्रमा अभिप्रायबद्ध भएर माला गाँसिन्छन् र अल्प भागहरूमा पनि एकसूत्री ऐक्य देखाउँछन् । मलाई बराबर त्यसैले लाग्दछ कि लेख्नेभन्दा नलेख्ने कवि बेस होलान्, किनकि हृदयमा प्राकृतिक कम्पन र स्पन्दन पाउनु र भित्रभित्रै चित्रकारिनु र शाब्दित हुनु, आफ्नै दिव्य संगीतमा संसारको समझउपरको अप्रकाशित अविरल काव्य हो किनकि भित्री शब्दहरू मानवभाषामा सबै व्यक्त हँदैनन् तर आफ्नो स्वानुभवी दृष्टिमा सदा आत्मप्रकाशिनी र आत्मभाषी, सच्चा कविहरू मानवप्रेमले लेख्ताहुन्, सिर्जनाको प्रेरणा मानवप्रेरणाबाट निस्कँदो हो । निराला अकेला ढङ्गकालाई के कलम लिनु पृथ्वीमा ओर्लनु होवैन र अक्षर बनाउनु रहस्यलाई गिजाएजस्तो लाग्दो होवैन ?
आखिरमा म वेदान्ती बन्दछु । यो फल्दो, फुल्दो, रङ्गिलो झिल्किदो प्रगतिशील संगीतको आत्मा नै सिर्जना रहेछ । ॐकारी अमृत स्पन्दनमा विश्वनिर्माण भयो भन्नेतिर मेरो विश्वास ढल्किन्छ । सूर्योदय जस्तै त भयो होला नि ! पहिले स्तब्ध सुनसान हुँदो हो निराकार र निरञ्जनको नीरव एकान्तमा । अनि 'उनी खै ? उनी खै !' भनेर अकेलाले सोधे होलान् ।प्रश्न तीव्र हुँदाहुँदै कला जन्मिन्छन् र त्यो प्रथम कामको उत्पत्ति म ठीक बुझ्न सक्तिनँ ! तर मलाई घाम जस्तो उज्यालो छ कि त्यसपछि परमेश्वर आफ्नै प्रेममा मुग्ध भए । प्रेमले लीला सिकायो र लीलाले सिर्जना गरी । सिर्जना प्रेमको पूजासामा भयो होला । यी मेरा क्षुद्र अनुमान हुन् र कत्तिले बोक्रे वेदान्ती बनाउलान् भन्ने डर छ । तर अहिले लेख्तालेख्तै यस्तो लाग्यो । आफूलाई परमेश्वरको सानो टुक्रा सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन् र ? हामी ईश्वरले सीमित हुँदा भिन्नताको होश राख्छौ र विवाद पनि यादमा परिणत हुने ठाउँमा एकसिवाय दुई देखिन्न होला । तर मलाई सिर्जना मीठो छ; प्रेम रसिलो छ; र म आफूलाई झिल्का बनाएर छर्न चाहन्छु । म छन्द र लय टिप्छु जस्तो सुकुमारी पहाडकन्याहरू ऐंसेलु टिप्छन् ।
छन्द र लयविना म केही कुरामा ऐक्य देख्तिनँ । कविता र गानाले सारा संसारलाई एक सूत्रमा गाँस्तछ । बेछन्दी हुनु विक्षेप हो । बेलायकको बोली अन्धकारबाट उठ्छ । छन्द र लय समय र अवकाशको अनन्ततामा विश्वकविको प्रतिभा झल्कन्छ, किनकि अल्पांशी विभिन्नतामा एकले गाउँछ । म परमेश्वरबाट अलग पनि हुन चाहन्छु र बराबर मिल्न चाहन्छु नत्र खोज्नुको मोहनी र वियोगको मधुर रोदन र मिलनको तीव्र आनन्दविना जीवन खल्लो हुन्थ्यो र रुनुमा, हाँस्नुमा, च्याँठ्ठिनुमा, रिस देखाउनुमा छन्द र लय छैन म भन्न सक्तिनँ । कृष्णको मुरलीमा सबै रिसका पनि राग छन् । उनको छन्द हामीले बुझ्नुपर्छ, उनको लयमा आत्मा रहनुपर्दछ । जब परमेश्वरलाई आफूबाट अलग बनाउन चाहन्छु तब रूप र रङ्ग व्यक्त गर्दछु । उनी प्रेमले ओर्लेर आउँछन्–त्यही रूपमा जो प्रेमको हृदयले भावना गर्दछ र सपनाका देशका चित्रहरूमा सत्य रङ्गिदै ओर्लिरहेछ; र त्यस ओर्लनुमा म छन्द र लय देख्तछु ।
छन्दसँग हामीलाई किन ज्यादा प्रेम भएको होला । मेरा कारणका विवरण विवेकसंगत हुँदैनन् र मलाई बताउन असजिलो लाग्दछ । छन्दमा प्रथम रश्मिको कम्पन भएझैँ लाग्दछ । शायद जीवन हृदयबाटै विस्तार भएको हो । म परब्रह्ममा पहिले भाव भएर जन्मेंहुँला र भावको लक्षण छन्द हो । जीवन अरू बेला बिदा पाएर गुनगुनाउँछ, तर समूचा जीवन आत्म-चेतना एकत्रित भएर आउँदा हृदयमा घनीभूत भएर सररर्र पर्सिएर आउँछ, खँदिलोपना पगिलिएजस्तो लाग्दछ, जस्तो आँसुमा कडा संसारको सब कठोरता पग्लिएर आउँदछ । तरल माधुरीमा म विश्व बुझ्दछु, त्यहाँ प्रेम र सिर्जना घुम्टो खोज्दछन्, कणाकणासँग बेरिँदै, अङ्कमाल गर्दै बहन्छ र एउटाको हृदय अर्कोसँग झुनझुनाउँछ ! म नाला जस्तो स्वर्ग बर्सिंदा जन्मेहुँला–यी पहाडहरूको मुखतिर पार्ने मीठो ओरालीमा । अनि बहनुमा अविरल आनन्द छ त्यस जीवनलाई, जो बहन र कलकलिन चाहन्छ । मलाई स्रोत मन पर्दछ, छरिन मजा लाग्दैन । ढुङ्गा छन् छन त, तर तिनैउपर चल्नु मेरो हीरा र मोती भएर झल्कन्छ । त्यसैमा मेरो प्राकृतिक गान पाउँछु । रक्तसंचालन लयदार नभएर मेरो जीवनको मुटु रुग्ण रहन्छ । अक्षरले अक्षर बोलाउँछन् र शब्दले छाया र सहानुभूति खोज्दछन् । भाषा अड्दैन तर बग्दछ। हावा गह्रौं हुँदैन तर लहराउँछ । सच्चा शिल्पकलामा रेखाहरू तरल हुन्छन्, जस्तो ताजमहलमा । म बोल्नुभन्दा मीठो बोल्दछु, अर्थ रहस्यवादी बन्दछ । अक्षरका छायामा लेटेर सपना देख्तछु । पहिले मान्छेले गाए अनि लेखे, जब कुराले मुटु छुन्छ मान्छे गद्य छोड्दछ र गाउँछ । तीव्र वेदना र तीव्र आह्लाद छन्दलाई वाहन बनाउँछन् । भाषाले सुन्दरको झल्का त्यहाँ पाउँछे जहाँ सत्य सरल हुन्छ । शिला शालिग्राम हुन्छ जहाँ कल्लोलहरू खेल्दछन् । मानवप्रति चकित बनेर नौलो देशको भावना पाउँछे र गद्यको साधारणपनबाट सपनाको देशतिर विदेशिन्छे । पङ्क्तिहरू अल्पको विशालता लिन्छन् र हृदयसँग कानेखुसी गर्दछन् । दिव्य बन्धनमा बस्नेले बन्धन नाघेझैं पाठकले साना सीमाहरू पार गर्दछ । कम्पनहरू त्यहाँ भेटिन्छन् । अनि गिरिगह्वर गुञ्जेझैं अनुप्रासहरू गुञ्जाएर दिलले दिल बोलाउने अक्षर र शब्दहरू बोल्दछन्, सिपीहरू सागरलहरले थर्कन्छन् । दोहोरो 'कुहुकुह' गरेझैं विचित्र दोहोरावट पुछारमा हनाले बोल्दछ, मलाई त्यो आनन्द मिल्दछ जुन जल लाद्ने हावालाई मिल्दछ ।
जहाँ वार्णिक छन्दहरू छैनन्; त्यहाँ मात्राहरूमा संगतिको मिष्टभाषिता लयदार बनेर निक्लन्छ । वार्णिक छन्दहरू प्राचीन सिलसिलाजस्ता विचित्र बहाव लिएका देखिन्छन्, मानौँ प्रकृतिका मुटुबाट कसरी-कसरी निक्लिएका थिए। मात्रिक छन्दहरू फुका र रमाइला हुन्छन्, ज्यादा लच्किला, लस्सादार र कल्पनालाई खेलबहाड गर्ने प्रशस्त ठाउँ दिने । वार्णिक छन्दहरूमा मधुर बन्धन छ, तापसपना कडा गाम्भीर्य उनीहरू पाठ गरिने र पढिने चीज हुन् । मात्रिक छन्दचाहिं संगीतसँग सम्बन्ध राख्तछ र विभिन्नता धेरै-धेरै देखाउँदछ । उसमा अर्कै सौन्दर्य छ, यसमा अर्कै विभिन्न माधुरी । 'कालिदास' का पङ्क्तिहरू आफै बोलेर चल्छन् । 'पंत' का पङ्क्तिहरू गीत गाएर चल्दछन्; 'निराला' का बेसाँध रबर पङ्क्तिहरूमा म संगीतको चैतन्यले भावमा लय खोज्दै गीत गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो।
लय पाइँदै नपाइनु दोष हो, छन्द देखिंदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन् क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि– अन्धोले पनि कवि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै बाँधिनु भन्नु र वार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पखेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन् ।