Jump to content

Laxmi nibandhasangraha/satya sojho huncha

From Nepali Proofreaders

सत्य सोझो हुन्छ

सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झुटो चाहँदैन । 'मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठुला–ठुलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति–पोषण पाउँछ । असत्य आत्मघाती छ ।

म झुटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुझ्ने र सत्यलाई छिपाउने । झुटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झुटोलाई स्वीकार नगरुञ्जेल मलाई झुटोउपर झुटो थप्ने प्रवृत्तिहरु बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भुलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा झुटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरु विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् । यिनका ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्ग्याएर राख्तछन् ।

त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका अङ्गहरु बाङ्गिंदै जान्छन् । विचारधाराहरुले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउञ्जेल त्यसलाई दुःख दिंदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्ग भङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।

त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्वले आत्मवञ्चनमा नपस् । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरु त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्नन् । तिमीहरु सोझो बन, अन्तस्करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैंसँग लडाईं गरेर पाताल पुर्‍याउँछ । डराऊ धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरुका रेखा लेखिएका छन् । तिमीहरु असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण–क्षणमा ईश्वरसँग सत्यको होश माग ।

म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रुपमा चित्रण गर्दछु– जसमा नसाहरु उल्टिएका छन्, हड्डीहरु बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।

सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरुलाई असत्यद्वारा अहिले गरुँ भन्नेचाहिं आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिंदै नरकको बाटो चालिरहेछ । तिमीहरु अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिंड असत्यको गाँजामा । चाँडै नै सत्यतिर फर्किहाल !

तिमीहरुलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त यति दुःख पाउनु मानिसले ? यदि सत्यजस्तो धन गुम्दछ भने ! तर तिमीहरु सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरुलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज सुन्दैमा तिमीहरु च्याँठिन्छौ र रिसाउँछौ । नरक मिठो छ, स्वर्ग तितो छ, तर सत्यको जिभ्राले स्वाद लेऊ, मोल उल्टिन्छ ।

भित्र केही भावना नछिपाऊ जो तिमी छद्मवेशमा प्रहार गर्न चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ । तिमी नजल, सत्यमा ठण्डा होऊ, दोमुखे जीवन आफैं हार खाएर सेलाउँछ । उल्टी– पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।

सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । नदेखिने तरवारहरु हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक आशा काम लाग्दैनन् । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ ।

धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरु धार्मिक हुन सक्तैनन् । असत्यमा नास्तिकता छ । परमेश्वर असत्यको मार्गलाई पूरा गर्दैनन् । असत्यद्वारा सुन्दैनन् ।

असत्यको अभिप्राय राख्नु स्वार्थको दोष हो । के तिमी ईश्वर चाहन्छौ ? के तिमीलाई स्वर्गको राज्य चाहिन्छ ? स्वार्थको लेश छाडेर मकहाँ आऊ र एक उपदेश सुन– 'सत्य सोझो छ ।'