Jump to content

Laxmi nibandhasangraha/jugha

From Nepali Proofreaders

जुँघा

म के लेखूँ के लुखूँ जस्ता भएर विचारशून्य क्षणमा घोरिइरहेको बेलामा आदती तवरले मेरा बायाँ हातका बुढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरुप रोमगच्छ तह लाउने काममा पुगेछन्, जसलाई 'जुँघा मुसार्नु' भन्दछन् । मैले के भावले जँघामा ताउ लागन लागें म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर सायद यो रहेछ कि जुँघालाई सम्याउनु !

यो कागज–कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुवै कमाउनु पर्दछ । मैले लेखेका कुरामा छिः छिः गरिदेलान् भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मिठो ऐंडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही भावनाहरु शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बिच–बिचमा पैदा गर्दछिन् । कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादुगरी गिर्खाहरु कुनै विषयमा झल्कँदै, रुनझुनाउँदै जाग्रत हुन सकेनन् । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषर्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर आउँदा अर्को चिज के सम्झियोस् बरा ! ओठमाथिको जुँघासिवाय ?

तपाईंले याद गर्नु भएको होला– जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरु आड नपाएर आफ्ना औंलाद्वारा पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रुपको मर्दको चिह्न मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म–आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौं ! किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको नवीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ । जुँघाका टुप्पा–टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेसिनका काइयाँले जम्मा गर्दछन् । त्यही विचारले होला मेरो औंला जुँघाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन–शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।

वास्तवमा विचारीहरु जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नलाई सबभन्दा सजिलो उपाय हुन्छ– जुँघा बटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही–कोही आँखा पल्टाएर जुँघाको टुप्पालाई बटारबुटुरको सास्ती दिंदा–दिंदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन्, कसैको बानी हुन्छ– जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा उखेल्दै टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरुलाई एकै किसिमका आत्म– सूचनशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल–असल मगरहरु– जसका नास्ति जुँघा न दाह्री ।

जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जतिजति बल बढ्दै गयो उति–उति माथिल्लो ओठमा कालो रेखी बस्तै जान्छ । जतिजति मर्दले संसार बुझ्दै गयो उतिउति त्यो लम्बिंदै जान्छ र जतिजति पुरुषर्थ गर्दै गयो उतिउति त्यो सम्मिंदै जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हुरुँ त' भन्ने दुश्मनको हाँक हुन्छ । स्यालका 'जुँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लक्क उफ्रन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चिजले पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ ।

हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरु शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको तसवीर म देख्तछु, ती सबमा म पाउँछु– जुँघाको भयङ्करता । शिवाजीको तसवीर हेर्नुहोस्– क्या काले, कराले, मुठे जुँघाको भयङ्कर प्राचुर्य र वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् । जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन पुरुषहरुमा गठिलो व्यक्तित्व थियो, देख्दै काला–काला डरलाग्दा जुँघे वीर थिए । उनीहरुको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।

तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्तो कुष्ण–सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरुको रोमहीन ओठमाथि मर्दपना रोई–रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुषजाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्ता लाग्दछ । आजकलका नवयुवकहरु नखरे, नाजुक, ओठमा लाली लाएका स्त्रीहरु जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नीमान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन् ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइश निरर्थक छैनन् । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मिठो बलवा छ । हामी घरकी कुखुरीले ठुगिन चाहँदैनौं । हामी दुर्बल थाङ्ना स्याहार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको हुंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक पुरुषहरुमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्न सकिन्छ– जुँघाहीन पुरुष भएका घरमा घोडी नै राज्य गर्दछे । पुरुषहरुलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जाइटिङ्ग्रे हुन्छन्, जुँघा राख्ने– जवान ।

मैले 'ले हन्ट' नामक प्रसिद्ध प्रबन्ध लेखकको एक हास्यप्रधान लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीमा बागीहरुको पक्ष लिइन्, किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको कदम सायद ठिक दिशामा रहेछ । त आजकलको महान् परिवर्तन हेर्नुहोस् ! 'लोग्नेको जुँघा राखे रे भनने रिसले एक ममेसाहेबले पिस्तोलको गोलीले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।' आधुनिक स्त्रीहरु जुँघाको किन यस्तो रिस गर्दछन्, म भन्न सक्तिनँ । आजकल स्त्रीहरुले पुरुषलाई मिच्तै ल्याएका छन्; उनीहरु सम अधिकारको मागबाट पनि अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न देख्यो कि सायद उनका नजर जल्दा हुन् । मनोवैज्ञानिक कारणहरु अनौठो छद्मवेशमा बाहिरका क्रियामा काम गर्दछन् ।

तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मुठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ । मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरु ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन् त मान्छे र भालुमा के फरक छ ? भालु–नङ पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभैं बढ्न दिने पुरुषहरु सौन्दर्योपासनाका नजका कसिङ्गर हुन् । ती अजायब घरलाई नमुना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठहर्‍याउनुपर्छ ।

जुँघा पनि थरी–थरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानौं जुवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टे जुँघेहरुमा उत्साह कम हुन्छ, उनीहरु सायद जे भने पनि मान्छन् र 'जी हाँ हजूर' किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठिक उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन् मानौं यिनका थर 'मै–हुँ–म' हो । तिखोटुप्पे सुइरे जुँघा भन्दछन्, 'कोही टेरे टेर्, नटेरे नटेर्' यो संसार मेरा निम्ति, म हुँ कुबेर !' कोही पुतलीकट हुन्छन्; यिनीहरुलाई नाजिज्मभन्दा ठुलो सिद्धान्त दुखियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक–एक जुँघामा एक–एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको चरित्र बुझिहाल्दछु । तर असल–असल मगर र भोटेहरुले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।

जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरु अवश्य छन् । म जब स्कुलमा थिएँ– तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्कार डरलाग्दा थिए । जब उनी जँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरुपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लडकाको मनमा सहजसँ प्रभाव गर्दछ । लडकाहरु भन्दथे– जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा–मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै–घोक्तै निदाएको मैले सपना देखें– माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरुप पनि थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्रा बिचमा अलिकति फाटेर कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा हाले र म माष्टरको वृत्तिमा लागें ।