Jump to content

Laxmi nibandhasangraha/kumbhakarna

From Nepali Proofreaders

कुम्भकर्ण

संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैं अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो । तर निद्राको पूर्ण तवरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।

हामी अनुमान गर्न सक्तछौं कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक आँखा टट्टाइरहेछन्‌, अङ्गहरू घ्यार्रघुर्र र संघर्षहरूले थर्किरहेछन्‌, र निरर्थक अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले झिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिंदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।

कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌– 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेर्यो उति दर्शन न हो । यता चिल्छ, उता पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेर्यो उति जल्नु । जब जागरण नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।'

हामी यी कुरा त्यस बेला बुझ्दछौं जब सिमलको तकियामा शिर अडाएर तीन हात बित्तालाई दिउँसैको उज्यालोमा नरम सेतो तन्ना कसिएको बिछ्यौनामाथि लम्पसारको विलासमा चङ्गा बनाउँछौं, 'आलसपनको मोहन-वनमा' भन्ने कविता स्फुरण हुँदा म कुम्भकर्णको चेला थिएँ र संसारको कटु कार्यक्रमलाई मीठो हँस्सी उडाउँदै बादल- बिछ्यौने बनेको थिएँ । र त्यस बेला मैले बुझें कुम्भकर्णले किन निद्राको वरदान मागे ।स्वानुभवमा नअडेको कविताले सजीवता लिन सक्तिन र जब अनेक विचित्र चरित्रका दृष्टान्त पाउँछु तब अनुकरणद्वारा तिनलाई बुझाउने गर्दछु, र शायद पाठकलाई पनि मेरो अनुगमन गरेर त्यस्तै अवस्थामा यो प्रबन्ध हेर्नु ज्यादै नै लाभकारी होला भन्ने मेरो क्षुद्र राय छ।

संसार गोडामा पाङ्ग्रा लगाएर गुडिरहेको थियो, जस्तो लादिएका बयलगाडीहरू मध्याहनको धूपमा हिंड्दछन्‌ । म सुतुवालाई न शिरमा जाँतो थियो न पयरहरूमा ढिकीच्याउँ ! मेरो श्वास आँधी बनेको थिएन, मेरा गाला फलाम झैं राहा बनेर तातेका थिएनन्‌, बाबा आदमउपरको शाप आँखीभौंमा थिएन । कुकुरको झैं जिभ्रो चलाउनको परिश्रम मलाई पर्दैनथ्यो । यो संसार त्यत्तिको विलासभवन अरू बेलामा हुन सक्तैन, जत्तिको आफ्नो एकान्त कोठरीमा ? पयरमा खुम्च्याइ थिएन, मनले बादशाहको अदब मान्दैनथ्यो । म कलमले नलेख्ने कवि जस्तो थिएँ, अक्षर घृणा गर्ने लेखक जस्तो तर्कुले जीवन बोल्दैनथ्यो, खालि झन्झन गर्दथ्यो । वाह विलास, इन्द्र पनि त्यस बेला हिंडिरहेकै हुँदाहुन्‌ ! तर मेरी कल्पना त्यस ठाउँमा सुत्थी जहाँ शकुन्तलाले प्रेमको विलास र विषाद दुवैबाट हृदयमा अनौठा भाव पाइन्‌ । म भन्न सक्तिनँ नयाँ मुनामा हो कि फूलको शय्यामा हो । त्यसै बेला नीदनजीक हुँदा मबाट नलेखिएका कवितामध्ये एउटा स्फुरण भयो, मन अचेत र विचेतको दोसाँधमा स्वयं गीत गाउन लाग्यो:-

"अलसपनाको मोहन वनमा,
रुनुझुनु रुनुझुनु जीवनसार !
नसाहरूमा मधुर नशाको,

बज्छ अनाहत मृदु झङ्कार ! ॥
फिल्मी जीवन बन्दछ मिरमिर;
भर्दै अर्धनिमीलन सार ।
लहरीहरूमै श्रवणसिपीमा
समरहरूको पारावर ॥
ढकनी-परीका पातला पंख
आधा-विपना-सपना-सार ।
चेत विचेतका दोसाँध-जगत्‌मा
ओर्लिन्छन्‌ मृदु झङ्‌कृतिदार
जलमा थलमा नहुने ज्योति-
हरूको बन्दछ मधु संसार ।
गोधूलिका अप्सरगणहरू
रुनुझुनु गर्छन्‌ तार हजार !"

यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम भावको झिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको गोधूलिमा स्फुरण लिन्छन्‌ र अलिखितका संसारमा मात्र लहरिन्छन्‌ । अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको अत्युत्तम साहित्यधन बन्दथिन्‌ । उनका निद्राअगाडि कति लामो गोधूलि हुँदाहुन्‌ र कति लामा विलास !

जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्काको राजा रहन्थ्यो । उनी पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । दृश्यजगत्‌भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा हामी त्यो आनन्दपूर्वकको प्राचीन झुकाइ देख्न सक्तैनौं । उनको आत्मा आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई झिलमिलाएर बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेझैं उनी शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छाभासिनी नवीन नगरीहरू निर्माण गर्ने सामर्थ्य देखाउन सक्तछन्‌ । उनी रक्तपातविना, कल्पनाका सूक्ष्म क्रियाहरूद्वारा सुषुप्तिको देशमा ब्रह्मा, बिष्णु, शिव तीनौटैका अंश बनेर सिर्जन, पालन र विनाश गर्ने गर्दथे । यस्तो नवजगन्निर्माणको रुचि देखाउने एक विश्वामित्र मात्र थिए क्या र ? तर उनी विपनाद्वारा विफल भए, हाम्रा कुम्भकर्ण सपनाद्वारा सफल हुन्थे रे।

हामी त्यस्ता राजालाई हरहमेशा प्रशंसा गर्दछौं जो अनायास राज्य सृष्टि गर्दछन्‌, जो एक झिमिकमा शहर रच्तछन्‌, जो निमेषमा नामेट पनि गर्न सक्तछन्‌ । मलाई एक दिन नभएको एउटा आदर्श राज्य बनाउन मन लाग्यो र बिछ्यौनामा पल्टें । आँखा चिम्लेर सिर्जनाको सचेत भावनाले चित्रकार खँदिलो पार्न खोजें, अलि-अलि बन्ला-बन्लामा आफै बालुवाको घर झैं मेटिएर गयो । मनोवैज्ञानिक विश्लेषण गर्दा मैले बुझें कि सचेतको दोष थियो । किनकि सपना सचेत तवरले विकास लिंदारहेछन्‌ र हाम्रा आदर्शान्वेषक सृजनात्मक अन्तर्लोचनमा विपनाको निक्कै दबावट रहँदो रहेछ । त्यसैले कविले लेखूँ भनेर लेखिंदो रहेनछ, र सब आनुभाविक 'मानववाद'हरू हरहमेशा विफल हुँदारहेछन्‌ । तर कुम्भकर्ण प्राकृतिक क्रियामा यस्ता सपना पनि देख्ताहुन्‌ जहाँ हामी बीसौं शताब्दीलाई झक मार्न र तरङ्गित हुन फुरसतै छैन ।

"हे निद्रा, तिमी हौ सुशील सँगिनी
प्यारो सबै देशको ।
जादू स्वर्गिय जो सुटुक्क छ छुने
एकान्तकी उर्वशी ! ॥"

भनेर कुनै अंग्रेजी पढेका नेपाली कविले कतै लेखेको देखेजस्तो लाग्छ ! हामी प्राचीनका जहाजी बन्यौं भने कुम्भकर्णको आत्माले यसै गरी गीत गाइरहेको सुन्नेथियौं । त्यस बेला जब लङ्का खलबलाइरहेकी थिइन्‌, रावणकी राज्यश्री ढलमलाइरहेकी थिइन्‌ र सीता तुलबुलाइरहेकी थिइन्‌; त्यस वेला रावण गालामा हात लगाएर आसन्न मरणको विषादमय तरङ्गमा थिए, राक्षसहरूका जननी बच्चाका कपाल मुसार्दै आँसुका ढिका खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झैं सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्‌, भयभीत रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्‌, गाडालाई कुतुकुती र पहाडलाई रायो ।

बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत छैन, नशाहरू आफैं चढ्दछन्‌, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन्‌ र संसारको भौतिक कर्कशता अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्‌, 'सुखेन अस्वाप्सं नकिञ्चिदवेदिषम्‌ !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढुकीमा सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त सुनसानमा एकान्त तपस्वी बनोस्‌ ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत अन्तःकरणले जित्तछ र बहीखातामा अक्षर चढ्न कम या बन्दै हुन्छ ।

आखिर सुख भनेको कहाँ छ–यदि आँखा चिम्लनुमा छैन भने ! संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन्‌ । हामी असुन्दरका अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख पाउँछौं र नव-नव झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्याउनाका पखेटाहरू स्वर्गनजीक पुग्दछन्‌ । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु, उति नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही हुँदैनन्‌ । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन्‌ । ऋषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुनेः ।' जति बाह्य विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन्‌ जस्तो लाग्दछ । आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू मेरा कुरा बुझ्लान्‌, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ र ! त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी ओह्राल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्कासम्म विचरण गर्दै गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव जो कामधेनु अम्लान पुष्पहरू नन्दनमा उग्राउँदा पाउँदी होलिन्‌ र यस्तै सुतुवा र तरङ्गदेशीहरू मात्र संसारमा दुहुना गाई हुन्छन्‌ । पञ्चतत्त्वका पाँच थुनबाट हामी त्यो अमृत दुहुन्छौं, जो देवता पिउन खोज्दछन्‌, त्यही उग्राइको रस । तर जब आनन्द ज्यादा हुन्छ र संसारको विस्तार गर्न हामी अपूर्णभाषी हुनाले हताश हुन्छौं तब हामी मौनमा निदाएर मौनमा पस्तछौं । त्यहाँ 'न किञ्चिदवेदिषं'को विशाल नगरी छ जहाँ कुम्भकर्णसँग हात मिलाउन पाइन्छ ।

बिछ्यौनामा लेटेको वेलामा तपाईं बुझ्नुहुन्छ उर्वशीहरू कस्तो चालसँग हिंड्दथे र कुन किसिमको हलुकापनले, जब उनीहरू सखीसँग आँखमिचौनी खेल्न पछाडिबाट सुस्तसँग अगाडि बढ्दथे तिनका नूपुरहरू चाल मार्ने चरणले स्वर्गका मुनाहरूलाई हावालहरले शेष ढल्काएझैं गरेर चल्दा झीनो रुनुझुनुसँग कसरी बज्दारहेछन्‌ भन्ने कुरा आफ्ना मनका तरङ्गहरूको मधुर आवाजमा झन्किएर अनुभूत हुन जान्छ र त्यसै बेला कोमल अदृश्य करले ढकनी छोपिदिन्छ । कसले होला भन्ने अनुभव काम गरिरहेकै अवस्थामा, अनेक अप्सराका नाम र रूपहरू ध्वनित हुन्छन्‌, झल्किन्छन्‌, बिलाउँछन्‌ र हाम्रा अनेक प्रश्नहरूलाई उद्घाटनको उत्तर निस्कँदैन । त्यसैले त हाम्रा नेपाली उटपट्याङ कविले (तपाईंले नाम सुन्नुभएकै होओइन) लेखेका छन्‌ :-

'नीद परी !
तकिया-पहाडको तन्ना-बागमा रुनुझुनु नूपुर सुस्त झरी पङ्ख भरी !
हलुका परेला पुतलीहरूका स्वर्ण धूलीमय रङ्ग भरी । अधर भरी !
कुसुमहरूको अम्लानपनाको इन्द्रेणी झैं मधु बिखरी !
चुम्बन दिन्छिन्‌ मदमस्त बनाई मग्नपनाको जादू भरी । भुलीवरी !
जगको लहरी, मन कति सिहरी, सपना मधुर मधुर परी !
कसले जान्दछ मोहन-वनमा कुन जून-किरणमा नाद झरी ?
परीहरूको 'आँखमिचौनीहरूका जादू भरी'

तब न सुत्न जान्नु ! हाम्रो रायमा सुत्न जान्नु पनि एक सूक्ष्म कला हो।

तर हाम्रा कुम्भकर्ण वीर निद्राको प्रेममा अति लागेर यसरी संसारमा अपवादित भएका हन्‌ । सुताहाहरूको परीक्षामा उनी हरहमेशा स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे ! ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी पाउँछौं–त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ, मानौं मानिस निद्रामा बोसो हाल्दछन्‌ ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?' भन्ने हाम्रा संरक्षकहरूको गाली सधैं हामीलाई घच्घच्याइरहेकै हुन्छ । कुम्भकर्णकी स्वास्नी कस्ती थिइन्‌ भन्ने अर्को अनुमान नदेख्नेलाई हुनजान्छ । हाम्रो व्यावहारिक कुम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप भएदेखिन्‌ लङ्कामा उनलाई कति खिसी हुँदो हो ।