Laxmi nibandhasangraha/kalpana
कल्पना
१. 'तिनीहरू त्यो भित्री आँखामा झल्कन्छन् जो एकान्तको आनन्द हो;'– वर्डस्वर्थ
म त्यही भित्री आँखालाई कल्पना भन्दछु ।
२. वास्तवमा कल्पना आँखा जस्तो छे; त्यसले वस्तुका रङ्गरूपको चित्रण ठीक त्यस्तै किसिमसँग गर्दछे, जस्तो आँखाले गर्दछन्, तर जहाँ आँखाको काम खालि उपस्थित दृश्यमान वस्तुको प्रतिबिम्ब यान्त्रिक तवरले दिनु मात्र छ, कल्पनाको क्रिया अनुपस्थित वस्तुको याथार्थिक या परिवर्तित रूप दर्शाउनुमा रहन्छ । मेरा आँखाले भएको कुरा मात्र देख्तछन्, ती नजरसामुन्नेका, तर म काठमाडौंमा हुँदा डिल्लीबजारको दृश्यमा मेरा बाह्य आँखा अन्धा हुन्छन्, र डिल्लीबजारमा हुँदा काठमाडौंको तरफ कुहिरा हुन्छन्, भौतिक प्रकाशका लहरले जहाँ छोइन्नन्, त्यहाँ यी चर्मचक्षुलाई न रङ्ग छ, न रूप !यी मासुका लेन्स हुन्, यन्त्र हुन्, दर्शक होइनन् । तर त्यो भित्री आँखा जसलाई म कल्पना भन्दछु– दार्शनिक दृष्टिले जड ठहराइए पनि कविताहरूको भावुक चेतमा सजीव र सुन्दर छ, उसलाई वस्तुको उपस्थितिको जरूरतै छैन, स्मृतिपटमा परेको छाया जगाएर र ऊ अनुपस्थित वस्तुहरूको सूक्ष्म स्वरूप सत्यप्रदर्शन गर्दछ । ऊ काठमाडौंमा डिल्लीबजार अन्धो छैन, न त उसलाई वस्तुको याथार्थिक सीमितत्वले बाधा बनाउन सक्तछ, किनकि सृजनात्मक परिवर्तन गर्नु उसको सहज सामर्थ्यभित्र छ, आँखा भएको मान्छे अन्धो हुन सक्तछ, यदि उसमा कल्पना शून्य होस् तर कल्पना भएको मान्छे अन्धो हुन सक्तैन यद्यपि उसमा आँखा नहोस् ।
३. कल्पना भन्ने शब्द क्रिया र शक्ति दुवैको सम्बन्धमा उत्तिकै प्रयोग गर्न सकिन्छ, तर क्रिया होस् या शक्ति होस्, कल्पना उत्तिकै जादूगर्नी छ, यसको एक चुट्कीमा सहस्ररजनीका जीवहरूले अन्धकारभित्र अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रङ्गदार भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ ।
४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान छ । परमेश्वरको मौलिक सृजनात्मक स्वप्नशक्तिको सानो झल्का-जो मनुष्यमा भरिदिएको छ–कल्पना भनेको त्यही हो । परमेश्वरले बनाउन र नवीनताको प्रदर्शन गर्नको शक्ति आफ्नो ठेक्का सम्झनु हुन्न । तर प्रेमको तत्त्वले सृष्टिको स्वरूप खडा भयो। त्यही दिव्यप्रेमले मानवजातिमा कल्पना गर्न सक्ने र ईशनिर्मित पदार्थहरूबाहिरका अनेक नवीनताहरू कल्पना गर्न, खडा गर्न सक्ने सामर्थ्य दिनुभएको छ । 'अलिकति तँमा पनि सिर्जनाको चाख राखिदिन्छु, जिज्ञासा र नवीनताको प्रेम, शून्यलाई रङ्ग र रूपले सजीव बनाउने शक्ति र संभवको सीमाभित्र रहेको असृष्ट वस्तुहरूको आभ्यन्तरिक उद्घाटन गर्न सक्ने मौलिकता, तँ मेरो नक्कल गर्न पाउनेछस् र मेरा अनुकरणमा तँ पनि सानो स्रष्टा बनेर आत्मरञ्जन र आत्मप्रदर्शनका निमित्त साना-साना जगत्हरू निर्माण गर्दै विशाल जादूको सानो टुना देखाउन पाउनेछस् ।' परमेश्वरको हुकूम यस्तो भएजस्तो लाग्दछ, जब एक मुठी माटोबाट मानव-मूर्तिको रचना गरेर प्रेमसंग उसमा दिव्य वरदानहरू दिने विचार गर्नुभएथ्यो ।
५. हामी त्यस बेला सृष्टिकर्ताको नजीक पुगेकाजस्ता हुन्छौं, जब हाम्रो अन्तर्जगत्मा त्यो आँखा खुल्नेछ, जसले अनुपस्थित र अनियमितको रूप खडा गरेर रङ्ग भर्ने सक्तछ । ईश्वरसँग मनुष्यको सादृश्य जताउने कुनै चीज छ भने, ती मानव-कला र मानव-कल्पना हुन् । म आफूलाई कुनै अरू चीजमा देवतासँग तुलना गर्न सक्तिनँ‐ कुनै अरू विषयमा उनीहरूको आनन्दनजीक पुगेजस्तो मलाई लाग्दैन । कनै ठाउँमा पृथ्वीवासी हुँदा स्वर्गीय सौख्यको नजीक पुगे जस्तो लाग्दैन । त्यस कलाबाहेक जब ईशेच्छाले उद्भासित भएर झलमलाउँदै उज्यालो कल्पना चित्रमय जगत्को उद्घाटन गर्दछे र नवीन सुरपुरीको निर्माण गरेर मलाई दोस्रो नन्दन-वनको सुगन्ध शीतल कञ्जहरूमा फिराउँछे, त्यसै बेला म ढुङ्गामय पार्थिवतालाई सजिलैसँग उल्लङ्घन गर्दछु, परुष कटुताको जीवन छाडेर पंछीपङ्खे सुनौला हावामा सास फेर्न लाग्दछु, मानव-सीमाहरूको बाँध टुट्तछ, मलाई संक्चित इच्छा र साङ्ला ताकहरूको चिच्याहटबाट सुरको स्वतन्त्र फुर्सत मिल्दछ, म चिडिया बन्दछु र उड्दछु कि बहीखाते जीवनको मेचडेस्की बन्धनमा बाँधिएर बसेको हुन्छु, यथार्थताको बोधो अत्याचार ममाथि रहन्न । वास्तविक सत्यको कटु कानेखुसीबाट म अमलेख बन्दछु, घण्टाघरको समयतौली शासनबाट म स्वतन्त्र रहन्छु र गोडामा जञ्जीर लाग्ने कर्तव्यहरूका तानातानीबाट फुक्का रहन्छु म माटो-अन्नको दुनियाँमा रहन्न । म हावामा बस्ती बसाउँछु, आकाशखेती गर्दछु, र संसारका न्यूनताहरू पूर्ण गर्न खोज्दछु । म सानो स्वर्गमा हुन्छु र सानो ईश्वर जस्तो । मेरा सूक्ष्म प्राणीहरू मेरा प्रजा बन्दछन् र म ती रोशनीले मेरा प्रासादहरू बनाउँछु जो न समुद्र न जमीनमा पाइन्छन् ।
आखिर हेरिल्यायो भने दुनियाँमा अरू चीजद्वारा त्यस्तो उच्च कक्षाको आनन्द मिल्न सक्तैन जति कल्पनाबाट मिल्दछ । हामी आनन्दको अनुभव गछौं हाम्रा पञ्चेन्द्रियद्वारा र नाकका निमित्त सुगन्धको व्यापार र रसनाका निमित्त व्यञ्जनहरू, नजरलाई सुन्दर दृश्यहरू र फिल्मी नाटकीय कलाहरू, श्रवणेन्द्रियलाई संगीतकलाको त्यो विशाल क्षेत्र, र स्पर्शेन्द्रियलाई नरम र कोमलको दुनियाँ । यो सब कल्पनाविना बाह्य बिषयी बोक्रे आनन्द बन्छन् । कविले अम्बा खानु र वैयाकरणले अम्बा खानुमा घेरै फरक छ । 'लघु' देखि 'शेखर' सम्म मेशीन भएको मगज सूत्रबद्ध घोकन्ती स्मृति, अक्षरको चिच्याहटलाग्दो नृत्यले तिर्मिराएका आँखा, नियमबाहिर चल्न नसक्ने पखेटा कुँजिएको वैयाकरणी व्यक्तिलाई अम्बा खाँदा अम्बै हुन्छ, जस्तो वर्डस्वर्थले कसैका निमित्त भनेथे 'उसलाई परगिस नरगिस मात्र थियो, र त्यसभन्दा ज्यादा केही थिएन ।' जस्तो गन्धका चेहरा भएका पुरुषहरूलाई र व्याकरणबुद्धूलाई त्यो मिठास दिएको छैन जो कल्पनाप्रचुर पङ्खदार कविहरूले अनुभव गर्दछन् । यता अम्बा एउटा बीयाँदार पहेलो रूखमा फलेको रातो कोठी लागेको डल्लो फलविशेष (खोइ के भनूँ) गुलियो-गुलियो चीजसिवाय केही हुँदैन । उता कविको कल्पनामा अम्बा अम्बा हुँदैन, तर एक अमृतफल हुन्छ–जसमा सिर्जनाको सब माधुर्य भरिइरहेको छ । कल्पनाको कल्पद्रुममा फल्ने परिपक्व 'गलित फल' को तरङ्गको लहरमा हरेक रसद्रव भावुकको कोमल हृदयलाई भिजाउँदै-भिजाउँदै भित्र घुस्छ । उसलाई यस्तो लाग्दछ कि मानव-जीवन नै हातहाँगे, औंलापाते, पयरफेदे, नसाजाले, भावरङ्गी, सपनाचर वृक्ष जस्तो छ–जसमा अमृतस्वादी फलहरू परमेश्वरको आभासोज्ज्वल घाम, हावामा फैलिरहेछन्; रङ्गदार बादलहरू हृदयाकाशमा आउँछन् र आफ्ना चित्रविचित्र पखेटाहरूबाट अग्रशीतल शीतलवहरू झारेर बालवृन्तका शिशुहरूको पोषण बाह्य प्रकृतिबाट अनेक किसिमका सूक्ष्म प्रदानहरू पाएर खँदिलो भएका रङ्गदार धनुबाट मिठासका सूक्ष्म प्रेरणाहरू ओर्लेर आउँछन् । अनन्तको संगीत स्तब्ध निशाको मुटुबाट उच्छ्वासित भएर अनाकर्ण्य मिठास उसको फस्टाउँदो जीवनभित्र घुस्तछ, र त्यो विशालको मोहनी जसलाई छुन सकिन्न तर भाँच्न सकिन्छ, त्यसका चारौं तरफबाट आउँदै, स्पर्श गर्दै, दिव्य आकृति, दिव्य संगति र दिव्य मिलाप (जस्तो रस्किनसाहेबले भनेका थिए) त्यसको रूप र रेखा मिलाउँदै लैजान्छ । उषाका आँसु मोतीको सुगन्ध रसनेन्द्रियमा कस्तो स्वाद दिन्छन् त्यो उसले याद पाउँदै जान्छ, जूनको रसिलोपना, मट्टीजरे, हावा खेलाडीको फलरूप प्रदानमा कुन किसिमसँग स्वाद बनेर आनन्द दिन्छ, सो कुरा कविले अनुभव गर्न थाल्दछ । उसले सूर्यरश्मिस्पर्शको स्वाद चाख्तछ, वर्षाको शीतलोपन, हावाको सन्देशको मिठास अनुभव गर्दछ, र अम्बाको पार्थिव स्वादउपरको स्वर्गीय प्रभावसारहरूमा उसको कल्पना घुस्न थाल्दछे । उसलाई टोक्नुमा क्रूरता देखिन्छ, एक टुक्रा मुखमा हालेर स्वाद लिंदै उसले कमसे कम पाँच मिनेट त्यसको कोमलता र माधुर्यउपर समालोचना गर्न थाल्दछ । उसलाई त्यहाँ दिव्य मिठास ईश्वरमाधुर्य सच्चिदानन्दको केही आभासिक भौतिक खँदिलो रस मिल्दछ । न एउटा नन्दनवनकै पहाडी स्वर्गको कल्पना गर्दछ जहाँ कुनै चाँदीचञ्चला निनादिनीउपर बादलबूँदे रसले भिजेर पारिलो घाममा पाको भएको अमृतफलको हात-अटाउ शीतल डल्लो, रङ्गिलो चुरीदार कोमल करले टिपेर, राता छिर्का र कोठीउपर शावकलोचनी पहाडकन्या नजर लगाएर हेरिरहेकी बडो राम्रो लागेर एकै छिन डोकामा हाल्नुको अगाडि ! अनि तिनी गीत गाउँछिन्, मोतीलहरे दन्तले कोइलीपातले जिभ्रो आधा नौलो पहाडी शब्दहरू जो सुरिला माधुर्यमा उच्चताको हावादार प्रवेशलाई प्रसन्न गर्दछन्–चरीचतुर, सरल तरल कुर्लन र त्यो गाना त्यो स्वादसँग मिल्दछ र मधुर ध्वनिको कम्पन रसनेन्द्रियबाट मगजमा पुगेर स्वादिलो बन्दछ ।
त्यस्तै तवरले हामी भन्न सक्तछौं कि जहाँ कल्पनाको जादूगरी छैन त्यहाँ आनन्दको सच्चा आत्मा रहेको हँदैन । कल्पनाहीन मनुष्यहरू जीवनका उच्च कक्षाका मोजहरूबाट हरहमेशा वञ्चित छन्। गद्यगह्रौं मगजहरू जीवनका साधारण मौरी भुनभुनाहटमा छन्, खालि चुस्तछन् स्वाद लिन जान्दैनन्, रङ्गीन चीजहरूको आह्वानसम्म सहज बुद्धिले बुझ्दछन् र रस लिन जान्दछन् । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू ताजा, रसिला र आत्मविस्तारक हुन्छन् । उनीहरू दर्शनढुङ्गासँग कुरा गर्दछन् र जाईको फूललाई कथा हालिदिन्छन्, हलुवाबेद खाँदाखाँदै उनीहरू सुनकेस्री रानीको बगैंचामा पुग्दछन्। प्रौढ पुरुषका विभिन्न सौखहरूबाट वञ्चित गराइए तापनि प्रकृति माताले शैशवलाई त्यो जादू दिएको छ जसले खेतका झारहरूमा विशाल जञ्जाल देख्तछ, चन्द्रमामा देवता र तकियामा पहाड र जसलाई एक कोइलीको आवाजमा अविदितको आह्वान छ ।
'हे आनन्दी चरा ! जुन पृथिवीमा हामीहरू टेख्तछौं,
फेरि यस्तो भएझैं विदित हुन्छ–
एउटा स्वप्निल परीप्रदेश
जो तेरो निमित्त उचित निवास छ !!'
तर प्रौढ हिसाब गर्ने मगजलाई न त यस दुनियाँमा सपना छ, न जादू, यो दुनियाँ उनका निमित्त सधैं खँदिलो छ, यो जीवन सधैं जोड्नु र घटाउनुमा ल्याउन सकिन्छ, उनीहरू संसारका सब समस्याहरू गणितसूत्रद्वारा हल गर्न खोज्दछन्, उनका आनन्दहरू इन्द्रियका मोटामोटी तृप्तिमा रहन्छन्, उनीहरूलाई त्यो रहस्यको भावना छैन, जसले संसार छाउँछ । उनीहरूको आत्मामा संसारको ज्यादा अत्याचार हुन्छ । रोटीभन्दा रसिलो कुरा केही देख्तैनन् । उनीहरू कल्पनाको प्रशस्तता देखाउनेलाई या त केटाकेटी या त छटाएको भन्दछन्, उनीहरूलाई इन्द्राणीका रङ्गमा दौलत छैन, न त पहाडको पल्लापट्टि मोहनी छ । उनीहरू जीवनलाई ढुङ्गाजस्तो देख्तछन्, दृश्यहरूको सूक्ष्म संदेश र प्रकृतिका साना भौम शब्दहरू उनका पकडमा आउँदैनन् । उनीहरू पक्रिने गल्तीनेर छामिने कुराहरूमा व्यस्त हुन्छन् । न त उनीहरू ताशको राजारानीको मुलुकमा पस्न सक्तछन्, न त उनका अन्धा आँखाहरू त्यो भाग्ने देशको द्वार फेला पार्दछन्, जहाँ जीवनबाट फुत्केर हामी भगुवा केटाकेटीहरू आराम लिन र लहड गर्न चाहन्छौं । यी साधारण कक्षाका संसारस्वाँगे मानिसहरू या त फुस्रा इज्जत र रवाफका जुँगाबटारीमा जीवनको सफलता देख्छन्, या त टकसारका खबटा बटुल्नामा : यस्ताका निमित्त संयमको द्वार खुल्दैन, यिनलाई दौलत भनेको सन्दूकको भारी छ, प्रकृति भनेको मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन् ।
तर सच्चा तवरले बढेका शिशुहरू कवि बन्दछन्, कलाकार बन्दछन्, उनीहरू आफ्नो चमत्कार मगजका झिलिमिलीमा विचारशील उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन, संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्, जसमा भावुक रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वर्गको मिठास अनुभव गर्दछन् । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्, जस्तो अमेरिकन एमर्सनको बारेमा कोही भन्दछन्, तर साधारणतः भारतीय कल्पनाको श्रेष्ठता स्वयंसिद्ध छ ।
हामी अलि अर्कैतिर ढल्यौं । अँ साँच्ची ! म भन्न लागिरहेथें कि कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहङ्गमगुञ्जित शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्, तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछु अथवा वागमतीको किनारतिर । त्यो दैनिक नवजागरणको छविलो जादू मेरो आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्कुराहट लिन्छन्, न म त्यहाँ केही दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा मामूली दैनिक दर्शन ठहर्याउँछु, एउटा सघैंको बेपरवाहले देखिने घटना जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशुत्व, यो अन्धता देख्ता स्वर्गका देउताहरू रुन्छन्, किनकि दिव्य प्रेमको सुनौला प्रदानलाई तिनै आँखा निरादरको दृष्टि दिन्छन् जसद्वारा देवताहरू मानव-हृदयमा सानो स्वर्ग दिनदिनै बनाउन चाहन्थे । सूर्योदयबाट मिल्ने आनन्द छाडेर म टक्सारको पछि दौड्दछु र प्रकृतिको जादूलाई नदेखेर भन्दछु कि 'मानव- जीवन खालि दुःखको भण्डार हो ।'
त्यस मनुष्यले के आनन्द अनुभव गर्यो जसले फूललाई फूलभन्दा बढ्ता केही देखेन, जसले सपनाको विमान चढेर र तरङ्गहरूका मधुर लहरहरूमा गुलाफको फूल झैं ढलीमली खेल्दै चलेन ? जसका निमित्त हावामा बस्ती छैन र बादलमा शहर छैनन् । 'एक टुक्रा खरी' को उपर प्रबन्ध लेखेर संसारलाई चकित गराउन सक्ने मनुष्यहरूसँग दाँज्दा ती मनुष्य मनुष्य नै होइनन् जो खरीका पहाडहरू पाए पनि बोधो व्यापारको दृष्टिले मात्र हेर्दछन् । मलाई यस्तो लाग्दछ कि कुवेरभन्दा गरीब व्यक्ति दुनियाँमा कतै पनि छैन, र गरीब-धनीका भेदहरू मनुष्यभित्र रहने नासमझको सहज बुद्धिमा निर्भर भएको जस्तो लाग्दछ । अक्सर गरेर ती घनीहरू ती गरीबभन्दा धेरै गरीब हुन्छन् जो बाह्य रङ्गदार सामग्रीहरूका अभावउपर दिव्य कल्पनाले भूषित झोपडीका हरेक फूलमा स्वर्गका परीहरू नाचेका देख्तछन्, जसलाई जूनमा सपना ओर्लेर आउँछ, जो उदय-अस्तका सुनौला दृश्यमा हृदयलाई कुबेरभन्दा धनी बनाएर परमेश्वरको सोझो चैतन्यले गद्गदाएर उठ्तछन् । कल्पनाको कमी हुने पुरुषहरू भित्तामा रङ्गरोगन लगाउन चाहन्छन्, चित्रकारीले सिंगार्दछन् तर कल्पनादार धनी-गरीब आफ्नो झुत्रैझात्रे कोरन-किरिन लिउन उप्केको बुट्टे भित्तामा सहस्ररजनीभन्दा रमाइला कथाहरू देख्तछ र तिनैद्वारा आलस्यको लहडीपनमा अनेक चित्रकारीहरू पाउँछ । प्रकृतिले 'अदला- बदला' को नियम लिएजस्तो विदित हुन्छ र जहाँ घनीहरू बाह्य भिलिमिलीमा बोधा यन्त्र झैं रमाउन्नन् । गरीबहरूलाई त्यो जादू- जोशिला कल्पना दिएको छ जसले दारिद्र्यउपर हँस्सी उडाउँछ र मनुष्यलाई देवताहरूको विलासनजीक पृर्याउँछ । हामी सूर्य उदायो भन्दछौं तर ज्यापू भन्दछ 'स्व स्व ! भगवान् कस्टो सुन जस्टो भएर उडायो !' गरीब बाहुनचरीहरू श्राद्धको चुकानीलाई तारीफ गरी गरी, कहिले चौरासी व्यञ्जनमा एक व्यञ्जन बनाउँछन्, कहिले भन्दछन् कि स्वर्गका देवताहरू यत्तिको मीठो चीज खान पाउँदैनन् र यो पृथिवीको विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : 'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन् हाँडीमा ।'
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न- भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ । मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले । यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन् र कुन जादूका कुनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन्, जसलाई हेर्दा एक करोड मनुष्य छक्क पर्दछन् । 'सत्य' लाई तिनले कहाँ भेटे ? र 'कलि' लाई कुन बाटोमा फेला पारे ? वसन्त ऋतुको त्यस्तो सुन्दर राज्य कसरी देखे ? ती ऋतुहरूसँग उनले कहाँ कुराकानी गरे ? ऐंसेलुका दानामा टुना हालिदिन्छन्, कोइलीका गानामा संसार ! अहिले मलाई कसैले यस्तो प्रश्न गरोस् सबभन्दा धनी पुरुष नेपालीमा को छ? म सजिलैसँग उत्तर दिन सक्तछु कि हाम्रा कुवेर 'लेखनाथजी पौड्याल' हुन् र अर्का बालकृष्णशमशेर । यी दुवै नेपालका साहसी जहाजी हुन्, हाम्रा निमित्त दूरयात्रामा– कहाँकहाँ पुगेर नव-नव प्रदेशहरू खोज्दै, पत्ता लगाउँदै, प्रकाश गर्दै गर्दछन् र अनेक 'खजाना द्वीप'हरूका खबर ल्याइरहेछन् । नेपाल यिनले गर्दा चौडा र विस्तृत हुँदो छ, हाम्रा सिमाना बढाइरहेछन्, नयाँ उपनिवेशहरू विजय गरिरहेछन् र हावाको सुनसानमा यिनीहरू जीवनका चमत्कारी दृश्य र नाटकहरूका नयाँ-नयाँ नेपाली बस्ती र पात्रहरू पैदा गर्दछन् ।
तरङ्गहीन, लहडशून्य, लटमुखा गद्दू पुरुषहरूभन्दा त गाँजा खाने थर्डक्लास भलादमीहरू धेरै मजाका हुन्छन् । तिनीहरूको सानो कोठरीभित्र एउटा अलिखित साहित्य छ । त्यहाँ बसी-बसी तिनीहरू अविदितको यात्रामा चल्दछन् र यस्ता-यस्ता चुट्किला रसिला खोज पत्ता लाउँछन् कि साधारण श्रोता चकित भएर उठ्दछन् । 'कुनै हिंड्दा- हिंड्दा यति हिंडेछ रे कि उसको सब जीउ पैतालादेखि खिइएर खालि टुप्पी लिखुर-लिखुर गर्दै घर आइपुगेछ रे !' अब यस्तो कोठरीमा बसेर संसारयात्रा गरेर यात्रा चमत्कारी कल्पना गर्न सक्ने तपाईं र हामीहरूमध्ये कति थोरै होलान् । गाँजा खानेले हामीहरूलाई बताइरहेछ कि जीवन रसिलो हुन या रमाइलो हुन धेरै सामग्रीको जरूरत रहेनछ । तर शिवबूटीका भक्तहरू तल्लो कक्षाका कृत्रिम साहित्यिक हुन् । हामी त्यही झुलनतरङ्गी समाज बन्न चाहन्छौं, त्यस्तै नशामा; त्यस्तै कल्पनाको झिलिक-मिलिकमा; त्यस्तै टुप्पीलिखुर यात्री बन्न चाहन्छौं तर हामी चाहँदैनौ, 'यो बारीको क्या मिठो गाँजा ।' गँजडीसँग नाता नजोरी कुनै लेखक बन्न सक्तैन, तर हाम्रो गाँजा बारीमा उम्रने चाहिँ होइन, हातले मलिने चाहिँ होइन, तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्रुममा फल्ने साना-साना झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र 'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको जादूमगजलाई कुतकुत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौं र पृथिवीको प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं ।
हामीलाई सत्य भनेको चीज कल्पनाभन्दा झूटो लाग्छ, र इन्द्रियग्राह्य वस्तु काल्पनिकभन्दा फोस्रो लाग्छ । खँदिलो भनेको त्यसको नाम हो जो हातले पक्रन सकिदैन । देखिने र बनिसकेका चीजमा त खालि परिचितको निर्मोहनी छ, नभएका र नदेखिएकामा अविदितको जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन् किनकि त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तैन जब आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको जेठो दाज्यू हो, र विवेकको बीजगणित हो; हामी दर्शनका दार्शनिकतामा सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन् विशाल छ र यसका स्पर्श र अनुभूतिहरू झन् सत्यका नजीकमा पुर्याउँछन् ।
तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त भनाइहरू घटित हुन सक्तछन् । हामी उच्च कक्षाका सत्याभासित कल्पनाका बारेमा मात्र ध्यान दिइरहेछौं । पागलका कल्पना र विकृतका भावनाहरू भिन्नै किसिमका हुन्छन् तर प्रतिभासंपन्न पुरुषहरूको कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे र सच्चा क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र बनोट र यसका मुटुका सत्यहरू एक झल्कामा समष्टिरूपले सूचना पाउँछ र तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन् ।
मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय हो र उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, वाल्मीकिको कविता, कालिदासका रचना, ऋषिमुनिहरूका काल्पनिक अन्वेषण र सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छ र त्यसका दाँजा कुनै देश छैनन् । हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू, हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती करोडौं अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता छन्– तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला काल्पनिक स्त्री छैनन् न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन् । श्री रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृष्णजीको सत्य व्यापकत्वमा भारत बलिरहेछ । कृष्णजी छैनन् भन्ने विश्वास पूरा तवरसँग म यदि पार्न सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य छ जो व्यासजीले बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ । मेरा निमित्त हंसवाहिनी माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता लेख्,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो श्लोक-सिर्जनाको वेदना ! शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो मेरो चार पंक्तिको दौलत मेरै बेपरवाहीले गुम भयो !
मलाई यस्तो लाग्छ कि मनुष्यको तत्त्वसंगत कल्पनाको सच्चा विकासमा परमेश्वरप्राप्ति र मुक्ति पाइन्छ । कल्पनाका चित्रहरू बराबर हाम्रा आँखाअगाडि झल्किन्छन्, र तिनलाई तेत्तीस कोटि देवताहरू बनाउनु साधुको धर्म हो । हामी कल्पनाद्वारा आँखा चिम्ली-चिम्ली बाह्य संसारका वस्तु र तिनका सम्बन्धहरू भेट्टाउन सक्तछौं र तिनमा ठीक आत्मा र आलोचना पुर्याएर हामी सत्यको मुटु फेला पार्न सक्तछौं ।
तर एउटा विचित्र क्रिया म आफूभित्र देख्तछु जसमा विवेकको खोजीले म केही पत्ता लगाउन सक्तिनँ । बराबर म जाग्रत् वा सुषुप्तिको अवस्थामा सपना देख्तछु गजन-गजबका, केके कहाँबाट । एक किसिमको ध्वनि निस्कन्छ मेरा सचेत क्रियाहरूबाट । म त्यस चित्रण वा ध्वनिउपर केही प्रभाव राख्न सक्तिनँ । क्षणक्षणका असरहरू कसो-कसो घुम्दै-घुम्दै भनभनिंदै मिल्दै एक चित्रमा शान्तिका समयमा ऐक्यमा आइपुग्छन्, र तिनको सूक्ष्म त्रियाउपर हामी विवेकसंगत व्याख्यान गर्न सक्तैनौं, समय- समयमा ती सपना निक्लन्छन्, प्रकृतिले रहस्यको पर्दामाथि के बनाउँछिन्, के बनाउँछिन् ! जीवनको झल्का त्यहाँ पाइन्छ, त्यसको सजीवता अङ्गसंगति, तर त्यो चित्रण सचेत क्रियाबाट म पाउन सक्तिनँ । संस्कृत भावनाहरू प्रतिक्षण लहराउने मनमा यिनको क्रिया चमत्कारी हुँदो हो, तर अपशोच ! हाम्रा निमित्त संसार ज्यादै अत्याचारी छ ।
आखिरमा म त्यस कविलाई धन्यवाद चढाएर यो लामो गन्थन खतम गर्दछु जसको कल्पना खँदिलो भएर म जादू बनेँ र यो विशाल चमत्कार– जहाँ अणुमा विश्व र विश्वमा अणु छ ।