Laxmi nibandhasangraha/bhaladmi
भलादमी
विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुकूम चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि अर्थको यति अप्रभ्रंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्: घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्, रङ्ग र रेशमका भलादमी काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन् । जमाना रङ्ग बदलन्छ ।
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन् । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ बढाइदेऊ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी झन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर' ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस् ।
विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको प्रमाणपत्र सधैं उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवर्द्धक कोठी र अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिंड्नेहरूको नाक र नजरमा आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।
उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन् । त्यस्तै कोही भलादमीहरू नआएको भकभके झिक्तछन् । गुलाबको जस्तो भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद जनाउनलाई भलादमीको हाड नभएको जिभ्रो बोलचालमा वैज्ञानिक तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलङ्कार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन् । कसैको रेशमी रुमाल झिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ, यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशमी झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्, सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्, कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ । कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्, विनयको बोझाले भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही बोलक्कड हुन्छन् । बकबकोपाध्यायको सर्टिफिकेट विश्वविद्यालयले कनै दिन निकाल्नेछ । कोही बडा गफी हुन्छन् । कलकत्ता र बम्बई उनीहरूका हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर कोही हुन्छन् बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्, दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।
आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घट्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले तान्दछ । जबसम्म तिमी भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंंचिएको हुन्छ । उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किंदैन । अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षण- शक्तिको नियमअनुसार भिन्न वस्तुहरू परस्पर खिंचिन्छन् ।
प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई आफ्ना पुजारी बनाउन चाहन्छौं । यो भाव भलादमीमा सबभन्दा चर्को तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन । पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी आफैंलाई सिगार्दछ, आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।
भलादमीको दुनियाँ बाहिरी देखावटमा हुन्छ । भलादमी र फुस्रा सिद्ध मनोवैज्ञानिकको दुई छेउमा रहेका हुन्छन् । पहिलाको दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत् आँखाको पहँचपार हुन्छ । एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ । एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हेर, रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ रङमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैंको झगडा छ, भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख हो । सत्य बीचैमा रहन्छ भन्दछन्।
भलादमीका अरू किसिमका सूक्ष्म रूपहरू छन् । जसको नजर आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको चिह्न हो । साहित्यको क्षेत्रमा पनि यस्ता भलादमी हुन्छन् । जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रुभूषाहरू हुन् । जब तिमी शब्द र अलङ्कारपछि दगुर्दछौ, तब तिमी साहित्यिक भलादमी बन्दछौ । जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ, तर फुस्रा बाबाका छातीमनि पनि विचित्र शृङ्गार रहेको हुन्छ। यो भित्रको वैचित्र्य, त्यो बाहिरको । तर भलादमी जति रङ्गीचङ्गी भए पनि, नङ्गा सिद्धको चेहरामा भित्रबाट निस्किएको ज्योति नै प्रभावपूर्ण हुन्छ । भलादमी ! तिमी प्रसिद्ध हुन हतपताउँछौ, पैसा जस्तै नाम पनि सच्चा तबरले कमाउनुपर्दछ । तर तिमीलाई प्रशंसा-प्रेमले मात्र कर्मक्षेत्रमा ल्याउँछ । रंगीचंगी भडकले आउँछौ तिमी हृदयमा आसन जमाउँदैनौ, आँखा मात्र तिरिमिर्याउँछौ । भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य-देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्दछौ । काँचको चश्माको ठाउँमा तिमी किताबका चश्मा चढाऔला, पाउडरको सट्टा तिमी कालो चरित्रको चेहरामा सफेद लगाऔला। लालीको बदला तिमी नक्कली रंग रचाऔला ।
त्यस्तै अरू क्षेत्रहरूमा पनि भलादमीहरू छन्। चित्तशुद्धिभन्दा शरीरशुद्धिको विचार राख्ने पुजारी, भावभन्दा शब्द याद गर्ने पाठक, मानिसको हितभन्दा आफ्नो नामको ध्यान राख्ने सुधारक, मासु खाएर सहभावको कविता लेख्ने कवि, बुझाउनभन्दा हात लगाउन जान्ने शिक्षक, गर्नभन्दा बोल्न जान्ने नोकर, अर्काको लेखमा हँस्सी उडाएर कलम सुताउने पाठक–यी एक-एक किसिमका एक-से-एक भलादमी हुन् ।