Laxmi nibandhasangraha/pahadi jivan
पहाडी जीवन
मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीं बस्तछौ ?' उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक गर्ने ढिंडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय दृश्य देखेझैं लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका, चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहने-जस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई कठ्यांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्र्यबाट निकालेर आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।
म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन् । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।
मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन् र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्, योगी हुँदैनन् । उनीहरू भीडअगाडि गर्जन्छन्, तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्, उनीहरू ढोलक पिट्न चाहन्छन्, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता हेर्न ! त्यसको सम्भावना हेर्न ।
मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा देखिन्छन् र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, ऊ थाकेर आखिर मौन रहन्छ ।
सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू यात्रीहरूकै साथमा अगाडि बढें ।
मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्ययनलाई चाख थियो, न उनीहरूमा औपन्यासिकता नै थियो (बाटामा कहिले तरुनी भोटेनी भेटे जिस्कनुसिवाय) न कुनै वनस्पतिज्ञ थिए, न कसैलाई सोझो बाटोबाट अलिकति यताउता बाङ्गिन टेढिन मन लाग्दथ्यो । 'ठिमिलेयात्रा' भन्ने नाम म यसलाई दिन्छु-सरासर दगुर्यो, ठाउँमा पुगेर सरासर फर्किएर आयो। प्राचीन ऋषिहरू यसरी जरूर यात्रा गर्दा होवैनन् । हामीलाई सधैं फुर्सतैको कमी छ । न केही नगर्नुमा नै जीवन बित्तछ; केही नदेख्नुमा नै हामी 'वाहवाह' पाउँछौँ । एकदुई कुरा यसो टिप्पणीसम्म वराबर कोही गर्दथे, तर ध्यान, भावना र प्राकृतिक सृक्ष्म अध्ययन उनीहरूमा शून्य थियो ।
मैले बाटामा एउटा भोटेनीहरूको नाच देखें जुन बडो रमाइलो थियो । पुरुषहरूभन्दा स्त्रीहरू राम्रा, गुलाफी रङ्गका बलिया होलान् जस्ता देखिन्थे । तिनीहरू हँसिलो चेहराका, मड्गोलियन कटका, साना दाँतका, राताराता घिउ-घिउ गह्नाउने, रातो कोट र सत्रन्जी जस्ता जामा लगाएका, पुड्कापुड्का ठिटीहरू थिए । तिनीहरू नाचेको निक्कै रमाइलो देखिन्थ्यो । खुट्टा हलुका तवरले बराबर उचाल्दै झार्दै, बराबर हातले पनि शान गर्दै, मसिनो सुरिलो स्वरले गीत गाउँथे तामाङ बोलीमा र शायद एउटा भोटे मुरली हो कि के बजाउँथ्यो र नाच्तथ्यो । नृत्य नै तिनीहरूको कला र विलासको नाममा एउटा वरदान भएजस्तो बुझिन्थ्यो । अरू तवरले तिनीहरू गरीब थिए तर नृत्यमा बडा धनी र सुन्दर जस्ता देखिन्थे । यी नृत्यहरू प्राकृतिक थिए, पहाडमा लहरा नाचेझैं गुलाफी रङका फूलहरू गालामा फुल्दथे । यहाँ कृत्रिमताको लेश थिएन, प्राकृतिक तवरले हाँस्तथे, प्राकृतिक तवरले नाच्तथे, बोल्दथे त्यसै प्राकृतिक तवरले, तर सब तवर राम्रो थियो र रसिलो । खुट्टाका छिटा बलिया, कामका सिपालु तामाङ्नीहरू पहाड चढ्ने र ओर्लने आदतहरूमा नै नृत्यका अभ्यास पाउँथे । यहाँ तिनीहरूलाई न दम चढ्दथ्यो न कसरत जस्तो लाग्दथ्यो र तिनका स्वरहरू मसिना, चरा जस्ता थिए- पहाडमा जन्मेका र पहाडमा पंख उम्रेका, नबुझिने तर मीठा ज्यादा अनुस्वार भएको स्वर थियो, मानौं–
“एङ्गो सङ्गो झाझे झेङ्गा
राङ्गा राजे तिप्लिङजोग्गा !'
जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कुञ्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन् ।
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला । कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्टुङ भन्ने त्यही रहेछ ।
झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिंदो रहेछ । यसलाई बाहुनगाउँ भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, खरले छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेंलिएर टम्म रहेका, काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैंचा जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू देखिन्छन् र एक-दुई ठाउँमा लिचीका बोटहरू पाइन्छन् । माटो अलि ढुङ्गिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाख्रीहरू पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे ।
पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र रातोको रुचि गर्दछन्, एकआँठे कपाल ज्यादा बाट्ने गर्दछन् र काम गर्दा घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले गठिला हुन्छन् । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन् र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन् । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर हुक्का दुरदुराउँदै गफ गर्दै रहन्छन्, छिमेकीहरूका मामलो र बन्दव्यापार, मुद्दा झगडाहरूमा टीका-टिप्पणी गर्दछन् र एक्लै भए भने भानुभक्तको रामायण लिएर फलाक्ने गर्दछन् ।
एउटा चौतारो छ । ठूलो बरको हाँगादार बोटलाई ईंटले बारेर बाटुलो पिँढी उठाएको छ, र त्यसका छहारीमा ती पहाडीहरू बस्तछन् र मध्याह्नको धूपबाट बचाउ लिन्छन् । त्यहाँ कहिलेकहिले नाच र गान पनि चल्दछ । कोही गाउँखाने कथा हाल्छन्, कोही मुरली बजाउँछन्, जब गाईभैंसीहरू यताउति चरिरहेका हुन्छन् । यहाँ केटाकेटीहरूलाई पढ्नको उस्तो जरूरत देखिँदैन र यिनीहरू पढ्नभन्दा कामलाई नै ज्यादा रुचाउँछन् । बराबर यही बरमनि यिनीहरू लुकामारी खेल्दछन्, नाच्तछन् र गीत गाउँछन् । केटाकेटीहरू दूध दुहुने, भैंसी चराउने, घाँस काट्ने काममा बहुत चतुर हुन्छन् ।
यहाँ पानीको कमी छ-एउटा पहाडको कुनामा ढुङ्गा रसाएको जस्तो सानो कुवा छ, खोक्रो ढुङ्गामा पानी रसाएर भरिएको पानी बहुत निर्मल छ, सारा झिल्टुङलाई त्यसैले पुर्याउँछ, तर दुई हात गहिरो छैन।
झिल्टुङ शान्त छ, सोझो छ, लगरीझगरीबाट दूर छ, चाहिने कुरा फलाउँछ, शानरवाफमा विश्वास गर्दैन, सीधासाधा जीवन नै आर्यको आदर्श देख्तछ, सब विश्वास श्रद्वा, भक्ति र सनातन रीतिथितिमा अडेको छ । ब्राह्मणहरू यहाँ गोठाला र किसानरूपमा रहन्छन् । यिनीहरू अरू तलाशभन्दा पृथ्वीलाई कोर्नु, बाट्नु, सिंगार्नु नै निको मान्दछन् । गठिलो शरीर, तन्दुरुस्ती र ऋणमा नडुब्नु नै यिनलाई जीवन जस्तो लाग्छ । यिनीहरू आफ्नै हातले उमार्दछन्, गोड्दछन्, फलाउँछन् र खान्छन् । आफ्ना-आफ्ना टुक्रामा आफ्नो-आफ्नो किस्मत गर्नु नै मुख्य ध्येय छ । ढुङ्गिलो भिरालो पहाडको छातीबाट यिनीहरू आफ्ना चाहिंदा चीजहरू निकाल्दछन् र यिनीहरूलाई खरखुशामद र झूटा, बाङ्गा चालको जरूरत छैन । आफ्ना-आफ्ना टुक्रालाई सानो स्वर्गसमान बनाएका छन्, कोरी, बाटी, सिंगारी र यो आत्मसन्तोषी सौन्दर्यको उचाइमा उनीहरू दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन् ।
यहाँ शहरको झिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष हालिंदैन, पहाडको दूध पोसिलो छ,यद्यपि दुहुन गाहारो होस् । आलस्यका निमित्त अवकाश छैन, काम नगरी खान कसैको बूता हुँदैन, पृथ्वीमाताको दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमूनारूपमा देखिन्छन् ।
यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका रूपमा हेर्ने गर्दछन् । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज कति प्रभावकारी हुन्छन्, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा विश्वासको भरमा ईश्वरपुकारा, पूजा, मन्त्र आदिबाटै पन्छाइन्छ । खुट्टामा घाउ लागे पनि मानिस फुक्तारहेछन् र मानसिक क्रियाहरूद्वारा धेरै चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो रहेनछ ।
यो ठाउँ वेदको केन्द्र बनोस्, वैदिक सभ्यतासँग यहाँको आधुनिक सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो आर्यग्रामको रूपमा सम्बन्धित रहोस्, विज्ञानमा भन्दा ज्यादा विश्वास र श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस्; सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्; यसका अभावहरू मेटिऊन्, सानो स्वर्ग बनोस् ।