Jump to content

Laxmi nibandhasangraha/hasyaras

From Nepali Proofreaders

हास्यरस

हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकुत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ; तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा विरोधहरू छैनन्‌; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि हँसाउन सक्तछिन्‌ जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र विरोध हाम्रो होशमा टड्कारिंदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ; तर आफ्नो नाकको ऊँचा रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो । त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, झुस्मुसे, डाँडीदार, लम्बे हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने–कुतकुती लागेर !' मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी- चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीङै खेलिरहेछन्‌ । बीचमा भाँचिने पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन्‌ । अनि पयर ! मानौं हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचार्यो, यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै विचार गर्दै हिंडुवा जन्तु आफ्नै उपहासिताले हाँसेर हिंड्छ तब हाँसो कसरी उद्तछ ? जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कुतकुती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर जीवनको समर्थक हुन्छ । अरू कुरा हामीलाई अनौठोपना जस्तो लाग्दछ– जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कुतकुतीले हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा उपस्थित विषयहरूसँग तुलना गरे यस्तो कुराले भेदको चैतन्य दिलाएर अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको दूरता या परिवर्तनको प्रमाणमुताबिक कुतकुती लागेर हाँसो उठ्तछ ! नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन्‌ । यहाँ आदती कक्षासँग विरोध पर्नगयो । कुनै मनुष्यलै आफुले टेकेको हाँगो बञ्चरोले काट्न लागेको देखे हामी पहिले डराउदैनौं, हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक विवेकसँगको विरोध देख्तछौं; त्यसमा साधारण समकक्षको कमी । त्यस्तै डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन्‌ । यहाँ विकासपूर्ण प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैंमा हँस्सी उडाइरहिछन्‌ । त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने चीज या चालले हामीलाई हाँसो उठाउँछ ।

हाम्रो हाँसो परिवर्तनको चैतन्यसँग सम्बन्ध राख्तोरहेछ । मनुष्य अक्सर कट्टर हुँदारहेछन्‌ । उनीहरू परिवर्तन चाहँदैनन्‌ । परिवर्तनमा हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मनुष्य अदल-बदलको सूचनालाई हरहमेशा हँस्सी उडाइरहेछ । साधुलाई नास्तिकको बहसले हाँसो उठ्तछ, त्यस्तै नास्तिकलाई साधुहरूको सिद्धान्तले । यसबाट हामी अनुमान गर्न सक्तछौं कि प्रतिष्ठित आदतहरू ज्यादा बलवान्‌ हुनाले तिनका विरोध सत्य नै भए पनि हँस्सी उडाउँदा रहेछन्‌ र मनुष्यको यो जातिको सब प्रतिष्ठित ध्येय या चलनसँग ठक्कर खाने विषयहरू उपहासतिर जाँदारहेछन्‌ ।

तब के हास्य रस प्रकृतिको विरोध हो ? होइन । आदतसँग विरोध होला, तर हामी भन्न सक्तैनौं कि हाम्रा आदत र आधुनिकताहरूमा मिथ्या छैन । जतिसुकै हामी हाँसेर उठे पनि तिनीहरूसँग विरोध राख्ने विषयहरू हाम्रा प्रकतिका मार्मिक तत्त्वहरूको नजीक आउन सक्तछन्‌ । तर मार्मिक तत्त्वहरूभन्दा पनि तिनको व्यक्तिगत चैतन्य नै जीवनमा ज्यादा काम गर्दछ । यस्तो चैतन्यसँग ठक्कर खाने विषयहरू सहज उपहासका विषय देखिन्छन्‌ । सौन्दर्यको समझ पनि विकासशील छ, तर आदती भावसँगको विरोध नै कुतकुतीको कारण हो । यसकारण हामी हाँस्तैमा परिवर्तनलाई मिथ्या बनाउन सक्तैनौं; यद्यपि त्यहाँ मिथ्याको भान होस्‌ । तब हास्यरसमा पनि सत्यको उद्घाटन हुन सक्तोरहेछ । यदि हामी मनुष्यलाई त्यहाँ लगेर हँसाऊँ, जहाँ उसले सच्चा सौन्दर्य र प्रकृतिको होश पाओस्‌, त्यस ठाउँमा मनुष्य आफ्नै न्यूनता र मूर्ख्याइँहरूउपर पनि हाँस्न सक्तछ । त्यहाँ सुधारको अवकाश छ। जर्ज बर्नाडका लेखहरू हास्यरसलाई त्यहीं लैजान्छन्‌ र धेरै जना आफ्ना आदती समझसँगका विरोधले मात्र हाँस्तछन्‌ तथा खालि हँस्सी मात्र सम्झेर त्यत्तिमा छाडिदिन्छन्‌ । अरूहरू आफ्नो शैशवी न्यूनता र गधेपच्चीसीका मूर्ख्याइँहरू देखेर हाँस्तछन्‌ र तिनबाट झल्केको शिक्षा र परिवर्तनको होश पनि पाउँदछन्‌ । तर बर्नाड शा विरोधहरूको व्यापार गर्दछन्‌, आत्म-विरोध, आदती विरोध, कक्षाविरोध इत्यादि । तिनमा दृष्टिकोणको विभिन्नता र परदेशीपनबाट आउन सक्ने हास्यरस निकालेर साहित्यिक संसारलाई चकाचौंध बनाउँछन्‌ । तैपनि उनी आफूलाई सामाजिक दार्शनिक भन्दछन्‌ र सत्यको उद्घाटक भन्ने सम्झन्छन्‌ । तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई आफ्ना आधुनिक न्यूनताहरूउपर हँसाएर मनोरञ्जन गराउनु हो ।

हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कूँजो, यान्त्रिक, मूर्ख व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो पनि हाँसिरहेको देख्ताहुन्, मानौं पाषाण पनि समाजको उडिल्लो- बुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसँग ठक्कर नखाओस्‌ । हामी विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वभ्रमण गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको दृष्टिकोणले समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ । एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण छन्‌; नत्र साहित्यिक क्षेत्रमा असङ्ख्य लेखकहरू शैली र सन्देश पाउने थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए ।

दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ बुझिन्छ । पहिलो–एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसँग अरूहरूको राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ– सत्यलाई एक नसम्भझेर अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्गा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुर्याउनु नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । ऊ मोलतोल उल्टाइदिन्छ, हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा पदार्पण गरेर हामीलाई हँसाउँछ, हाम्रा सत्यलाई मिथ्या देखाइदिन्छ र ज्ञानी बुझेर हाँस्तछन्‌, अज्ञानी खालि हाँसोको निमित्तको हाँसो भनिठान्दछन्‌ ।

हामीलाई किन हाँस्न मन लाग्दछ ? हामीहरू खालि भूलको गाँजा खान चाहँदैनौं, सधैं मूर्ख हुन चाहनु प्रकृतिविरुद्ध छ । हामी बराबर विदूषकसँग बसेर 'कस्तो लाग्यो हँ ? भनेर सोध्न चाहन्छौं । हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझ्न चाहन्छौं । हामीलाई त्यसमा स्वास्थ्य छ ।

तर कोही समालोचकहरू भन्दछन्‌ कि हास्यरसमा गाम्भीर्य हुँदैन र हास्यरसको तल ओह्राल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ । कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन्‌ तर जब उनीहरू हलुका क्षणहरू पाउँछन्‌, तब हास्यरसमा छन्द छेड्दछन्‌ । यो भनाइमा सत्य छैन भन्न सकिन्न । कविता साम्यभावमा लहर छुटेर आएकी हुन्छिन्‌ । सब विरोधहरूको खडबडे उपहासक चेतसँग ठक्कर परेर कवित्व गुण बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भावुक प्रेरणाले लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य कवितामा घुस्न सक्तछ ।