Jump to content

Laxmi nibandhasangraha/lekhne bani

From Nepali Proofreaders

लेख्ने बानी

मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थें र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथें ।

तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा शायद फोस्रो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यको भन्दा झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन्‌ र उनको जीवन सफल हुँदो छ। म किन सत्यको सती जाऊँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?

तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्‌ । मैले झूटो बोल्न खोजें भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजें भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्‌, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।

यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न । यो विशाल विश्वमा उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस्‌ ।

तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधेरा कोठरीका उल्झनमा र ठक्करमा च्याँठ्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन्‌ । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नूकचूकहरू, अभावको ऐंडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ–यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।

प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले मानवआत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्तैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌– जसको विजय एकध्येयीको सफलता हो ।

तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म जस्ता छट्टू, फटाहा, कथा कथ्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।