Jump to content

Laxmi nibandhasangraha/sikshya

From Nepali Proofreaders

शिक्षा


हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख बनाइरहेछ । लादिनु र नाकडोरी लगाइ माग्नु नै शिक्षाको मुख्य लक्षण देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्यय एउटा महात्मा छ भन्दछन् । अङ्ग्रेजीले रङ्गिने चश्मा लगाएर ज्यादा जसो संस्कृतले सुषुप्तिको अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिंदैन । विद्यालयहरु यन्त्र बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानव बुद्धिले हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरु धोत्रिएका आवाजका भ्यागुता छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालिम भनिन्छ । बालुवादार बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार आँखाले के देख्तछन् ? सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट तिलस्मी जादु गुमाउनु बालशिक्षाका ध्येय हो । प्राकृतिक विकास नपाएका रुग्ण कलपुर्जाहरुमा घिच्याइएका वाक्कलाग्दा पाठहरुको समूहलाई हामीहरु किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचार रेखाहरु हावाका लहर झैं आफ्नो दिशा लेऊन् । म त आफ्नो रायले विकास लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरु मूर्खता लाद्न चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् । बेतको अत्याचारले राय लदाउने तानाशाहीहरु आफूलाई विद्वान् सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो कवि र कलाकारहरु अदालतको अध्यक्षताभन्दा माथि पुग्न सकेका छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा देखिरहेछु; तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ ।

तर पद्धति पुजारीहरु भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई सायद विरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक विकासद्वारा परिपक्व हुन्छ । युग–युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त परिश्रमले छाने–बिनेका चिजहरु छन् । हामी पहिलेदेखिन् सुरु गर्न सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्लको विशालता त्यस्तै अतर्स्याउने भुलभुलैया बन्दछ । तत्वान्वेषक वेदनाशील छ र अरुहरुको दुःखद्वारा आफूले दुःख निवारणका आविष्कृत उपायहरु हात लगाउनु नै बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा स्पष्टीकृत हुन सक्तैन । मानव–संस्थाहरुमा र शिक्षाक्रमहरुमा पूर्णता नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी बेपर्वाह राख्न सक्तैनौं ।'

म तिनीहरुको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा हुनु पर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, मलिलो बनाओस् । जमिन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका निमित्त मात्र, बिउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, विरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै हो । नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्केत रहे झैं विवेकसम्पन्न हुनुमा कानुनी स्थिति र बन्धनशील विकासहरु अन्तर्गत छन् । तर प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको अनुसार चल्दछौं, अथवा अरुहरुलाई क्रमिक विकास दिनामा हामी कहाँनेर भुल–चुकमा पर्दछौं । जीवनको क्षेत्रमा कुनै रखागणित छैन । त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, अणूभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैन र हाम्रा मनोवैज्ञानिक अध्ययनहरु विवेकको अँध्यारो भित्रभित्रै टुङ्गिन्छन् । यसकारणले कुनै शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् र चारैतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस् ।

पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्‍यायो, दोहोर्‍यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा ! एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । ऊ बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न 'दुई चौका दश, दुई पञ्चे दुई सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् ! त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ जडाउ र ज्ञानहरु जिल्ददार छन् । 'मास्टरजीको चश्माले हेर्नको के चासो ?' यस्ताका विरोधी क्रिया अचेल र सचेल दुवै तवरले चलिरहेको बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न !' बस विदा मिल्यो । हिंड् खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा !

यही रितले आत्मा एक चिज चाहन्छ, शिक्षा अर्को चिज दिइरहेछ । आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सो जान पाए धेरै हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल चेहरा भएको चश्मादार उडुवा मास्टर बेतको छडी लिएर क्लासमा पसे । 'लौ भन् ! हल र स्टिभन्सन साहबको एघारौं थियोरेम्', कण्ठस्थ लप्टन जाँचकले सिपाहीको पाठ बुझे झैं । बस ! कपाल कन्याउन लाग्यो, कपाल कन्याइले आएको कुरा कुइरो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा 'ख ग' ठुलो छ भन्ने प्रमाणित गर्नुपर्‍यो ! 'वाः खुब धक्कु लगाउँथिस् त !' गोबरको मगजमा उम्रिउका यी क्या हुन् ?' तलास खलबलियो । 'अरु ! भन् अरु गधा' गधाले रेखागणित प्रकृत तवरले बुझ्यो त्यो लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर ओर्ल्यो मगजै चलेन ! 'यो जस्तो बोधो गधा मैले देखिनँ । थाप् हात !' उत्तेजना पाउँदी कल्पना तत्वन्वेषिणी बनेर प्राकृत जीवनमा नव–नव प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर पढाउने खुला विश्वविद्यालयबाट वञ्चित भएर प्राकृत सिद्धान्त र तत्वलाई नासमझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अनुशासनद्वारा मगजका मोहनीले चुम्बकिंदा गिर्खाहरुलाई बङ्ग्याएर उही मास्टरजीको 'विद्या भनेको मेचमा बस्न पाउनु हो' भन्ने स्वाङ बढाउने क्रियामा नआई रेखागणितका निमित्त बिचरो सम्बर्द्धनशील बाल्य मस्तिष्क लाचार रहन्छ ।

हामी खाना दिन जान्दैनौं । दिने तवर पनि ठिक किसिमको छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौ; विदेशलाई श्रेष्ठता दिन्छौं । शिक्षित नेपालले आफ्नो घर कहिल्यै पनि बुझ्दैन । नेपाली भाषामा लेखिएका उही चिज नराम्रा हुन्छन्, या तिनमा हृदयस्पर्शिता रहँदेन, अङ्ग्रेजीमा उल्था गरे तिनै चिज दिलदार हुन्छन् । अङ्ग्रेजी शब्दकोषका लम्बा लवज जान्नु विद्वता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमझ बोल्ने विद्वान् ठहरिन्छ । हामी अङ्ग्रेजी देख्तै श्रद्धा गर्दछौं । स्वदेशी भावहरु हामीबाट निक्लँदैनन् । हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । सङ्कीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको क्रम छ । हामीलाई के चाहिएको छ त्यो बुझ्ने थोरै छन् । प्रवृत्तिहरुको संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरु मूर्ख बनाउने प्रमाणलाई शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता,

शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरु र असत्यको हरएक किसिमका तत्वकला 

अक्षरहरुद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे सुगा झैं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा फुर्फुरिन्छ ।

हामी कति समय बरबाद गरिहेछौं यत्तिका निमित्त ! जति मैले बि. ए. सम्म पढें त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई कथा सुनाएर तिनीहरुसँग कुरा गर्ने एउटा बालक निकेतन बनाए म सजिलैसँग बालबालिकाहरुका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थें । मानिस अझ अर्धशिक्षित छँदै छ र न्यून सवर्द्धित । मलाई खेद लाग्दछ कि यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकें र मेरो जीवन सालाखाला पच्चिस होला । तर के हात लाग्थ्यो ? कागजको खोस्टो, जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । मैले त्यस कक्षासम्म राम्ररी न पढें न आइपुगें । जाँचको ऐंडीमा नम्बरका निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध्र वर्षको बोध चिच्याहट पाई पढ्दै नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले हामी बि. ए. एम. ए. हुनासथ किताब पन्साउँछौं । मुख्य काम छ रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो कुरा पढाउन शरम लाग्दैन जो म आफैं जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरु बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच लाग्छ यतिका मूल्यवान् वर्षसम्म राष्ट्रको शिशु निरर्थक आत्मविकारको क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ । गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले पढाउने कुरासम्म त दश वर्षमा कथाकुथुङ्ग्रीबाटै सिकिहालोस् न यो कुरा कहानीबाट ! अनि सोह्र वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस् न नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको भेडो बन्नुमा के देखियो यहाँ ! पन्ध्र रुपियाँ, एक सय असी घण्टा काम गरेर ! अनि गरिबका बाबुआमाले के मोहनी देखून् ? अझ म चाहन्छु कुरा गर्ने शिक्षकहरु दुनियाँमा डुलून् । खुला इस्कुल बनुन् । छानिएका सत्पात्रहरुद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध्र–बिस वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौं या दोस्रो संसारमा बेपरवाहको नतिजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग देख्दा आत्मा सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लागेर घरघरमै घुमाउनु पर्दछ । 'सुरु भएकै छैन' भन्ने पनि छन् नि ? उपाय हजारौं निक्लन्छन् त्यहाँ, जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष गराउन सकियोस् त ? दश वर्ष जीवन राष्ट्रलाई थपिने थियो र हामी दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरु जाति फेरि अरु पन्ध्र वर्ष पढ्दै गर्ने थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने थियौं । सापेक्षित दृष्टिमा हामी तिनसँग बिस वर्ष नाफा गरेर जीवनको दौड छोड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई–चार मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शव वेदनाबाट नवयुगका शिशुलाई बचाउँछौं । 'असम्भव' भन्ने पनि कुनै छन् नि ! तिनीहरु सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन् ! शिक्षा सुधारमा राष्ट्रको सुनौलो भविष्य छ ! झुपडीसम्म किताब पुर्‍याउन सकिन्छ र खेतमा परीक्षा ।

शिक्षा म त्यसलाई भन्दछु, जसले मानिसलाई पूरा मानिस बनाउँछ, जसले जीवनले अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाकलापमा जसले सबै मानसिक र शारीरिक शक्तिहरुलाई बचाउने तवरले मिलापसँग संवर्द्धन दिन्छ; जसले मानवात्मालाई आफ्नो भित्री शक्ति र सूक्ष्मातिसूक्ष्म भावनाहरुमा सचेत गराउँछ, जसले सत्यको पथमा मनुष्यको अनन्त शक्ति पत्ता लगाई विकासशील क्रमहरुद्वारा प्रकाशनशील बनाउँछ, र बढ्दो शक्तिको साथ त्यस्तो अमीर चैतन्यको विकास गराउँछ, जसले हितकारिताको सामर्थ्यदायी नै आत्मबलको गौरव सम्झन्छ । जसले प्राकृत आभ्यन्तरिक उद्गारमा साम्य, सौन्दर्य र सत्याभास दिन्छ र हरहमेशा जागरित राख्तछ, विश्वास उत्पादन गर्दछ र विश्वासका अमर नियमहरुद्वारा स्वर्ग र ईश्वरको चेत खँदिलो बनाउँछ, जसले मानवताको आह्वान आत्मालाई कसरबिना उचालेर प्रत्युत्तरदायी बनाउँछ ।