Jump to content

Laxmi nibandhasangraha/juwa

From Nepali Proofreaders

जूवा

मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरुमध्ये सबभन्दा रोचक र जीवनको लाभ–हानि, उक्साइ–गडाइनजिक आउने एउटा खेल जुवा छ । यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो–

'त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरु गरेर कराइ मारा'–

त्यस्तो मनुष्यको मुटुजस्तो तवर्गका दुई अन्तिम अक्षरहरुले नाम बनेको चिजसँग घनिष्ट सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्ट्याउँदै क्षण–क्षणमा विशालका भावहरु उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जनु लेखमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर डुबुल्की लिंदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जुवाले गरिब र धनी दुवैलाई आफ्ना–आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरु चिजलाई भन्दा हृदयलाइ ज्यादा छुन्छ । हार्दिक भावहरु परिवर्तन गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका तिखा समुत्सुक आँखाहरुलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षणअगाडिको भए तापनि उल्टाउन पाए उसलाई जगबको आनन्द मिल्छ । दोस्रो श्वासमा के लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व–प्रतीक्षक भविष्यजिज्ञासु भावहरु र शक्तिहरु उत्तेजित भएर आउँछन् र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट–पुलटको सङ्केत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् । मानिसको ज्योतिषशास्त्र सारा फजुल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ । उः हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारेखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याडहरु गन्दछ ! ऊ एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठिक–ठिक बताइदेऊ भनेर ती रेखाहरुद्वारा कौडीको मूसे दाँत कतापट्टि हास्छ भनेर जीवनको सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चिसी नै जीवन हो र कतिलाई डर लागिरहेछ कि मौकाको राज्यमा मानव पूर्वप्रतीक्षा याथार्थिक साफल्यमा आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्म आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा उद्वेलित हुने भावहरुका नाटकीय र सजीव याथार्थिकता अनुभव गर्दै तुलबुलाउँदै, धरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरुको आधारमा अपूर्ण मानव– समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गने मौका ताकिरहेछ । यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नटुवाहरुले आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखे झैं घरको अवस्था र रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा आकाशखेतीको रङ छँदैछ । एक झिमिकमा के हुन्छ हामी भेट्टाउन सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट जीवनबाट मोहनी नै हराउँथ्यो ! तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र घनीभूत भएको चेत ईश्वरको कृपाले च्वाट्ट ठाउँमा पर्‍यो भने मात्र बस ! जीवनको जुवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सधैं सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । सबै ग्रहहरुको स्थान ता हेरिसकियो, तर विचार गने बेलाको साइत बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरुका किताब पनि दार्शनिक विवेक ठहर्‍याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जुवा हारिन्छ, तर जुवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा ल्याउन सकिंदैन र चित्रकार र लेखहरु झैं सत्यान्वेषणमा अगाडि बढिरहेछ, या पछाडि हटिरहेको छ भन्न मुस्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्, अव्यक्त आशाहरु खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही हो, जसले उड्दो क्षेणको मुटु भेट्टायो । क्षणलाइ ठाउँमा पक्रन सक्नु नै सफलता हो । जुवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरु ज्ञानका सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । मानिस जीवनको आँखाले पढ्दैनन् । जुवामा नाटकभन्दा रोचक सजीवता रहन्छ । यहाँ जीवनको वास्तविक मोहनी सोह्र कौडीमा खेलिरहेको हुन्छ । चार–चार दिशाका द्वारपाल झैं चार दाउहरु बसेका हुन्छन् । कुनै अदृश्य विधिले क्षण–क्षणमा नयाँ इच्छा प्रकट गर्दछ, सोह्र कौडीभित्रमा अनेकौं हृदयलाई जय–विजय र आशा–निराशाहरुको उलटपुलटको सञ्चालन गर्छ ।

मेरा एक विद्वान् गुरुजी जुवा फुक्नसाथ खालमा उपस्थित हुन्थे र बिहान–बेलुका भात खानको फुर्सतसिवाय लिंदैनथे, यद्यपि अरु बेलामा राति तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जुवामा त्यस्तो चाख लिख्छन् । एक–दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक ठाउँमा बसेर या त उभिरहन्थे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जुवामा सोख राख्नुहुन्छ ?' उनले जवाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि मैले जुवालाई राम्ररी बुझें, मलाई यसको नाटकीयता र जीवनसँगको सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरुद्वारा मिलेका तर्कहरु अहिले लेख्तछु ।

जुवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब ठहराइएको चिजहरुमा पनि औपदेशिकता पाउने विचारशील मनुष्यको लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि नैतिक सामग्रीहरु प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर 'छिः छिः दुरदुर' गरेका मान्छेमा पनि त्यत्तिका गुणहरु पाइन सक्तछन् कि मामुली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जुवा खेल्नु खराब सम्झिएको छः तर जुवाभित्र पनि अनेक किसिमका उपदेशहरु पाइन्छन् । हामी कुनै चिजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जुवा खेल्नु चरित्र भ्रष्टको लक्षण भनेर प्रष्ट तवरले भन्न सक्तैनौं ।

मनोवैज्ञानिकलाई जुवा जस्तो राम्रो अध्ययनको विषय केही छैन । यहाँ अनेक किसिमका चेहरा पढ्न पाइन्छन् । कोही मुख राता, कोही निला । कोही हाँसिरहेका हुन्छन्, कोही अनिश्चित तवरले अन्दाज गरिरहेका हुन्छन् । मानिसले धर्मलाई त्यहीं ल्याएको हुन्छ र मनुष्यको लक्ष्मीपूजाको तमाशा भन्ने यही जुवा हो । अनेक कक्षाका मानिसहरुको अनेक–अनेक किसिमका भावहरु र अनेक–अनेक किसिमका अवस्था र अक्षणहरु यहीं देखिन्छन् । जसले खालमा बसेर जुवा खेलेको छैन त्यसले यी कुराहरु राम्ररी बुझ्दैन । त्यहाँ मनुष्यहरु घुँडा धसेर, छाती फोरेर मारा चिल्लाइरहेका हुन्छन् । पैसाले चकत्कारी आकर्षण र अनेक चुड्किला हँसिला खेल देखाउँछ । कहिले हँसाउँछ, कहिले चम्काउँछ, कहिले अँध्यारो बनाउँछ । मानिसले अन्न खाँदैन, घर सम्झँदैन, निद्रा निको मान्दैन र प्रकृतिका अरु क्रियासम्म पनि रोकिएको थाहा पाउँदैन, तर आशालाई ऊ छाड्ने होइन । ऊ हरहमेशा 'आउँछ कि आउँछ कि' मा छ । मिजास बदलिन्छ, झोकाझोकी पर्दछ । तर उसको आशा सधैं उत्तिकै छ । बराबर आशाले ठक्कर खान्छ तर फेरि उत्तेजित भएर अगाडि सर्दछ । मानिस जित्नका निमित्त हारिरहेछ, उठ्नका निमित्त लडिरहेछ र हरहमेशा मर्दैछ पनि बिउँझिंदै छ पनि ।

जुवा लाग्छ भन्दछन्– जस्तो गाँजा लाग्छ, चण्डू लाग्छ । यो पनि एक नशा हो, यो नशा प्राकृत छ । हरहमेशा दुनियाँलाई लागिरहेकै छ । त्यही नशाका लक्षणहरु जुवामा प्रदर्शित हुन्छन् । कोही व्यापारमा दौडिरहेछन्, कोही कारखानातिर, कोही अफिसतिर । के दौडिरहेछन् ? तिनै भावहरु जो हामी यहाँ देख्दछौं । जुवा लागिरहेकै छ । बाबु र छोराको नाता बिर्साउँछ, भलाद्मी भलाद्मी झगडा गरिरहेछन् । पैसाको मोहनीले भित्री आँखा बन्द गरिदिन्छ । मान्छे दाउ हेर्दछ अरुहरुलाई बिगार्न र आफ्नो मतलव हासिल गर्न । उसलाई अरुको परवाह छैन । मेरो नै दुनियाँ छ, आवश्यकतामा विलास थप्नु नै जीवनको दौड छ । स्वार्थसङ्केतक गोल चक्कीहरु भाग्यका तमाशामा थपिन, डब्लिन र सोहरिन हरहमेशा चार दिशा घुमिरहेछन् । चञ्चलताले आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ । एक–एक किसिमका एक–एक डफ्फा एक–एक पक्षमा लागिरहेछन् र अदृष्टको हुकुममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर भित्रभित्र । मलाई तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको हुकुमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने नियम राखिएको छ ।

जुवा लागेको बेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त जुवाडेका आँखा वडा तिखा हुन्छन् र भुइँमा कौडी पर्नुभन्दा अगि नै उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको बेलामा या ज्यादा तोड लागेको बेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरु देख्तैन । एक–दुई कौडी घोप्टो–ठाडोसम्म बिलकुल नदेखिने बराबर हुन आउँछ । यस बखतमा कौडी हान्नेले बराबर पैसा सोहर्दछ र झगडाहरु चल्छन्, तर सबभन्दा मजाको बेला हुन्छ जब कौडी आड परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले–कहिले निश्चित तवरले मुद्दाको फैसला गर्न नसके जस्तो थाहा हुन्छ र यता ढल्काऊँ कि उता ढल्काऊँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहाले जस्तो बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढङ्गले उलटपुटल खाएका कौडीहरु दुई पक्षको द्वन्द्व युद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरु फैसला गरेर उठ्तछन् ।

जुवाको नाटकीय रोचकताका साथसाथै निखरा खेलको रुपमा पनि यसको मजा लिन सकिन्छ, यसका हानि–लाभबाट अलग रहेर खालि मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । 'सुखदुःखे समे कुत्वा लाभालाभौ जयाजयौ' भन्न सके जुवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक अवस्थालाई संकट पर्ने गरिकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता नदखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै मनोरञ्जन प्राप्त गर्न सकियोस् । जुवा थैलोको महत्वमा रहँदैन, तर रहन्छ मानसिक अवस्थाको महत्वमा । अरु मानिसहरु भाग्यका आत्मपक्षी र विरोधी लहरीहरुले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस् कि क्याँट लक्कुहरुले मजाको रमरम मात्र दिऊन् । भावनामा ज्यादा धक्का नदिऊन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु प्रभावित हुनु या सेलाउनु अर्धसभ्य र जङ्गलीहरुको लक्षण हुन् । आफ्नो तत्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरुले हम्मेसी छुन सक्तैनन् र ऊ आफ्नो तराजु नडगाएर शान्त रसिक रहन्छ । ऊ पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । उसको मन सँग्लिसकेको हुन्छ । ऊ संसारको जुवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्वमा लिन्छ । उसको चेहरा हमेशा बदलिंदैन, संसारमा 'मारा' हरु छन् भन्ने उसलाई थाहा छ र विभिन्न भावका चेहरामा परिवर्तनशील रङहरु पनि । तर उसको चेहरा बदलिंदैन, ऊ लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त ऊ जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरुको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, ऊ घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम यही जीवनमा दैवेच्छाले पाए जस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले दाउ देखाउँछ । रिस–रागहरु असंवर्धित पुरुषहरुका विकृति हुन् भन्ने उसलाई ज्ञात छ । ऊ खालको एउटा ऋषि हो । ऊ अध्ययन पनि पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हुँदैन ।

जुवा नखेल्नु भन्ने उपदेशहरु चाणक्यनीति जस्ता औपन्यासिकता- विहीन मामुली कट्टर नीतिपन्थी बोक्रे साँपा उक्तिहरु हुन् । हाम्रा नीतिहरु ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सक्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहार खर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् । त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ ।

बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् । पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ ।

चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् । कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको भोजनभट्ट हुनु हुन्थ्यो; र केही पात्रहरु बटुलेर जीवनरुपी जुवालाई उतसाहपूर्वक अध्ययन गर्नु हुन्थ्यो । कहिले संस्कृत श्लोकहरु र कहिले नेपाली श्लोकहरु बराबर निक्लन्थे । जुवाको चेहरामा साहित्यको रङ पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जुवाको एउटा दुनियाँ नै बनिसकेको थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो नाटकमा उहाँले जुवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर भावहरु मामुली शब्दद्वारा झल्काउनु भएको छ, त्यस्तै उहाँले जुवा खेल्दा जुवाभित्र अर्कै औपन्यासिकता देखिंदो हो ।

मलाई जुवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्न यसमा प्रशस्त मौका देख्दछु । कोही मानिसहरु यसलाई जीवनको पेशा नै बनाउँछन् ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र कौडीको रखाइमा अभ्यास गर्दै जुवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरु आशावादीको श्रेणीमा रहन्छन् । तर असम्भव भनेको केही रहेनछ । कोही–कोही यस्ता छन् कि कौडी र हात घोटी–घोटी अभ्यस्त हुँदा–हुँदा चैपट चौका, बागपञ्जा, छट्टु छक्का र तेजी तीया बनेका हुन्छन् । धेरैजसो जुवा यिनीहरु हार्दैनन् र अक्किल गरेर जुवाबाट केही–न–केही लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन् । यिनीहरुको सिको सिक्नेहरु अनेक किसिमका ढङ्ग देखाउँछन्, कोही जमिन र हातको अन्तर कुरेतले नापेर कौडी छोड्छन् । कोही कौडी मुठी पार्नको कला देखाउँछन् । पेशादार जुवाडेहरु सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन् भन्ने कुरामा कोही–कोहीलाई आश्चर्य लाग्दछ तर तिनीहरुलाई कौडी नै एउटा किताप छ जो तिनीहरु हरहमेशा अध्ययन गरिरहेछन् । रासायनिक तराजुको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरु आफ्नो फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्; हातको छालाले हरेक कौडीको मुटुका प्रवृत्तिहरु छामेर सम्भावनाको तौल लिन्छ र यस बेला यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सूक्ष्मितसूक्ष्म विज्ञान उनीहरु नै बुझ्दछन्, जो कौडीलाई जीवन समर्पण गर्दछन् । नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्; तर मानिसको कलपुर्जामा हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ–ठाउँमा बिग्रिन्छ र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन । तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अक्किल र जुवाचेतको चमत्कार हो; जस्तैः जुवाचेत पनि साह्रै लाभदाय हुन्छ र यो समझविना जुवा खेल्ने मानिसहरुलाई जुवा खेल्न जान्नेले मनमनै मूर्ख ठहर्‍याउँछ ।

एकदिन मलाई हिसाब पढेको काम लागेको छ । एकजना इञ्जिनियर र म कोजाग्रतमा जुवा हेर्न गएका थियौं, दुवै जनाको पाकेटमा एक–एक मोहर थियो । मैले सूचना गरें कि 'शिक्षित पुरुषहरुले यस मौकाको खेलमा गणितात्मक सूक्ष्म विज्ञानको उपभोग गरेर साधारण मनुष्य जुवा खेलिरहेका ठाउँमा अलिकति श्रेष्ठतापूर्वक रुपियाँ निकाल्न सकेनौं भने ता हामीले पढेकै व्यर्थ भयो ।' तब बस्यौं एक खालमा र इञ्जिनियरको पाकेटबाट एउटा कागज निकालेर जुवाको नक्सा बनायौं दाउहरु बराबर तवरसँग बाँडिएका छँदैछन्, यद्यपि चौकाले अलिकति आधिक्य पाएको छ, तब सोह्र कौडीको उलटपुलटमा यस नियमको दुनियाँमा नियमै पाउन सकिन्न भन्न सकिन्छ र ? यहाँ सम्भावनाको गणित लाग्दछ । सबै दाउहरु उत्तिकै बराबर पर्ने सम्भावना राख्तछन् । जो ज्यादै परिसकेको छ, फेरि पर्ला भन्ने सम्भावना कम हुन्छ । जो ज्यादै कम परेको छ, त्यो फेरि पर्ला भनने सम्भावना छ । तब खिच एउटा रेखा र सरको टुप्पोले दाउहरुको आवतजावत र भेटघाटहरुको नमुना बनाउन सम्भावनाको अन्दाज राखेर निश्चित तवरले यही दाउ पर्ला भन्ने जस्तो भएको बेलामा पहिला मोहर राखिहाल । त्यो खाइदियो दोस्रो मोहरको भाग्य परीक्षा गरुँला, त्यो पनि खाइदियो भने आफूलाई गरिब नठानौं, घरितर फर्कौंला । बल्झियो भने हाम्रो रुपियाँको जीवनचरित्र सुरु भइहाल्यो । दुईचार बाजि अन्दाज ठिक भएर बल्झिएपछि त सम्भावनामुताबिक मोहर–रुपियाँ डब्लिने मौका दिंदै जाउँला । त्यति मात्र पनि होइन, जब पाँच रुपियाँ हुन्छ एक मोहर निकाल्यो र नौ मोहर खल्तीमा दाखिल गर्‍यो र खतराको मात्रा कम गराउनलाई त्यस एक मोहरलाई उही पहिलेको रुपियाँसँग एक जीवनयात्रा दिएर सफल भए फेरि दश रुपियाँसम्म त्यसले ल्याउँला । अनि तेस्रो क्रममा चौध रुपियाँ पाकेट दाखिला गरेर एक रुपियाँलाई नवीन इतिहास सुरु गर्न लगायो– बिस रुपियाँ नहुञ्जेलसम्म । तर रिस–राग नगर, सम्भावनाको नियमपछि चल, तर नरन्केऊ । यही सल्लाहमुताविक हामी लेख्न थाल्यौं, धेरैजसो पहिला थपनी चौथा हातमा राख्तथ्यौं । दिन बित्यो, साँझ पर्‍यो, बत्ती बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे– पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं ।

एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो । एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व– पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।

जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि जुवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोह्र ओटा कीराको गुँड लिएर सच्चा स्वदेशी तवरले भाग्य–परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजिक र उत्तिकै रोचक छ । कुशलताका क्रिडाहरुभन्दा यसमा भाग्यको उलटपुलट झन् रोचक छ, झन् अविदितको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य–सिद्धान्तको रङ लिन्छ । पहिले नै नतिजा अन्दाज गरिन सकिनु जुवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छट्टु र चतुरलाई नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना हुन सक्तछ र अर्काको धन सितैं लिन खोजको बापतमा अर्काले दिइदिन पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताविक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरु मात्रै बिग्रन्छन् । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरु सच्चा हरल जुवाडे हुन्छन् ।