Jump to content

Laxmi nibandhasangraha/aamako dil

From Nepali Proofreaders

आमाको दिल

"बोट बनाएँ जीवनको ।
वृन्तहरुको झूल ॥
रङ बनाएँ प्रेम मृदुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरुको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरुले सुस्त झुलाएँ ।
मेरो सन्दर मोहन !
कण्टकहरुका चिन्तनहरुले ।
रक्षण गर्दै क्षण–क्षण ।
शीतल–शीतल आँसुहरुले ।
गरें प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !"

यहाँ ध्वनिसँग फूलका बोटहरु फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।

के कसैले बाल–वियोगमा आमाको दिल रोएको देखेको छ ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असङ्ख्य जगत्हरुलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवन र संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुझ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अँधेरी देख्तछौं । महत्वाकाङ्क्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरु माटामा ओइलाइरहेको देख्तछ । पातका अणुअणुहरु काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्' को अन्तर्ध्वनि निकालेर भित्रभित्रै रुन्छन्, हाँसिरहेका यौवनका आँखाहरु पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सबै फूलहरुका सौन्दर्यमा अन्तर्गत म्लानताको आच्छन्न आँसुहरु निकाल्दछन् । युगयुगका वियोगहरु त्यहीं ध्वनित र प्रकाशित हुन्छन् । मानवताको मुटु, त्यहीं कोकोहलो हाल्दछ !

त्यस विगोगितीका हृदयबाट सागरहरु पोखिन चाहन्छन्, घोप्टिन चाहन्छन् तर बुँदमा टप्किन्छन्, एक–एक बुँद बुँदमा एक–एक सागर बनेर अनन्त वेदना व्यक्त हुन चाहन्छ, तर घुड्का–घुड्का आँसुमा गहिराइ उचालिन चाहन्छ, तर घुँक्किन्छ । मानौं संसारमा भाषा सीमित अपूर्ण छ । विश्वका सबै नसा–नसा आँसुका स्पर्शले सर्सराउँदै वेदनाले बर्बराउँदै उठ्तछन् । कलेजा काँप्तछ । मुटुबाट चिसा सिर्का छुट्तछन् । प्राणले प्राण बोलाउँदै कोकोहलो हाल्दछ ! बलिन्द्रधारा छट्तछन् । गाँठो पर्दछ । फुक्न खोज्छ, फुक्तैन 'गयो कि मेरा बाबा !' भन्ने करुण क्रन्दन नैराश्यको अनन्त वेदनासँग वियोगमा अन्तर्ध्वनि झैं जीवनको मुटुबाट निक्लन्छ । मानौं आत्मा बन्धन छोडेर जाने आत्मालाई बोलाउँदै चिच्याउँदै उठ्तछ । आत्माले बिलाएको दृढ मोहनी स्मृतिमा खोज्दै 'यहाँ छ कि उहाँ छ कि' भनेर अतीतका मुटुमा छाम्न खोज्दा झल्केका ध्वनि र झल्काहरुमा 'यसो भन्थ्यौ नि बाबा !' 'यस्तो गर्थ्यौ नि बाबा !' भन्दै घुड्का–घुड्की पिउँदै वेदनामा बराबर निस्सासिंदै, अङ्ग–अङ्ग सिर्सिराउँदै उठ्तछन् र प्रत्येक क्रन्दन–ध्वनिमा एक–एक अनन्तका जादु संसारहरु चकनाचुर भएर छरिएका बिलौना रुँदै उठ्तछन् । जीवन, धन, सर्वस्व कहीं थियो; हरेक क्षणका चिन्तित आँसुहरुले आँखा भित्रैबाट भिजाइ– भिजाइ त्यसको स्नेहशील पोषण गरिहेका थिए । एक च्याँठले हृदयमा 'त्यो बिचरी कहाँ छ ?' भनेर खोज्न लगाउँथ्यो, एक चिल्लाहटले शिर पैतलाभरिका नसाहरु त्रासले काँपेर उठ्थे 'त्यसलाई केही भयो कि ?'– सूक्ष्म भावनाहरुले उसका निद्रामा सुन्दर सपनाहरु भागीभागी सुतेको, कुसुममहार बराबर पुलुक्क हेर्दै प्यारका नजर तृप्त गर्दथे । उनी हावालाई भन्दथिन्, 'ज्यादा चिसो श्वासले नछोइदेऊ है !' उनी नाटीकुटीहरुलाई जननीहृदयले धर्म बनाउँथिन्, कहिले सुँघ्थिन्, कहिले स्तनका मुन्टामा थुक्थिन् र लोभका नजरले दूषण पहिला एक–दुई सिर्कालाई भुइँमा बहाइदिन्थिन् । उनीले भावनाले पोसेकी थिइन्, सपनाले सजेकी थिइन्, श्वास–श्वासको शुभेच्छाले बेह्रेकी थिइन्, उनलाई कान्छी औंलाको टुप्पामा गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा देख्ता मुटु सिरिङ्ग हुन्थ्यो । आँसु त्यसै पग्लिन्थ्यो । त्यही कोमल सर्वस्व उनी छातीको छाती राखूँ भन्दथिन् । पापी हातहरुले खोसेर पत्थरमा उत्तानो पारेर राखिदिए । उनीले मागिन् । कसरी ? म भन्न सक्तिनँ आकाशतिर हेरेर, सबै मानवताको मुखमा हेरेर, दुवै हात फैलाएर के मागेको हामीले दिन सकेनौं । हामी रोयौं । उनीले आखिरी हिक्काहरु हेर्न सकिनन् । हामी देखेर खालि पिल्पिलाउँथ्यौं लग्यो क्रूरले ! बिच–बिचमा तिनी दाह्रा किट्थिन् । मानौं सब क्रूरका अदृश्य शक्तिहरुसँग लडाइँ खेल्न चाहन्थिन् । 'हाय' हामीले भन्यौं, 'यो दृश्य सहन बाँच्नु पर्दछ ।' ती कहाँ अल्पिइन् कसैले जानेन । तर यो जीवनको स्पर्शले, हर्षले तोते बोल्ने मूर्ति 'संसार अनन्त वेदनामय !' भनेर लम्पसार थियो । मानौं आँखा उनको खोजिरहेका थिए, माथितिर कोही देश–जहाँ हामी लड्दैनौं, भिड्दैनौं' आँसु खसाल्दैनौं ।

'हे ईश्वर', मैलै भनें, 'हामीलाई मार, दुःख देऊ तर बालखबाट यसरी जननीलाई वियोग नदेऊ ।' तर ताराहरुमा चिसो ज्योति थियो, मानौं तिनीहरु भन्दथें, 'हामीहरु पनि लाचार छौं ।'

मैले सम्झें, यसै कारण साधुहरु संसार छाड्दा रहेछन् र भित्रबाट आत्माले टोह्लाउँदै भन्यो, 'बिचरा मानिस ! तँ अहङ्कार नगर् ! मैले पठाएका मृदुलताहरु मकहाँ आउन्नन्; किनकि तेरो संसारमा हावाभरि धुलो छ ! तँसँग परमेश्वर हरहमेशा बन्स पाउँछन् ! तँ छिन्न, लुछ्न, च्यातेर हेर्न चाहन्छस्, तेरा आँखा गुलाफका जरामा हेर्नलाई ज्यादै खस्रा छन् । तेरा भावहरु ज्यादा हानथापमा रहन्छन् । तँ त्यो धर्म बुझ्दैनस् जो म तोतेमा बोलिरहेछु ! तेरो छातीमा म लिप्सिन आएथें, तँपाई आमा–बुबा भन्दथें । तर मलाई देखेर तेरो संसारले बहिरो कान लगायो र मेरा सबै ध्वनिहरु हृदयमा लिएन । म ताती गर्दै संसार धारण गरिरहेथें, मृदुलतामा तैंले जीवनको विशाल धर्मको स्पर्श गर्न सकिनस् । मेरो एउटा मुस्कानमा समस्त क्रूरता निभाउने शीतलता थियो, अमृतको ज्योति ! संसारले समझमा ल्याउन सकेन ! त्यहाँ निर्मलता थियो, त्यो देखेर तँ शर्माइनस् ! त्यहाँ विश्व प्रतिभालाई आफू सम्भाल्ने अनन्त मृदुल नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो । तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरु र ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे, विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'

सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म विकासिन्छ । अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई अलभ्य छ ।

सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु– घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् । उनीहरु ज्यादा बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु तिनका नाटीकुटीहरु अन्धविश्वास र स्वास्नी मान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पिठोको रेखीहरुमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरुबाट संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि हामी अज्ञानको घमण्डले जननी हृदय रेखाहरुलाई निरर्थक सम्झन्छौं । त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।

मलाई ता यस्तो लाग्छ कि जजनीभावमा पृथ्वी दुधभरिला बालाहरु झुलाउँछिन्, जननीभावमा पृथ्वी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ मूर्ति दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला पार्दछौं । अङ्ग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी जगज्जननी खँदिलो रुपमा सत्ता राख्तछिन् । हाम्रो हिन्दूधर्म पशुमा माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरु जातिभन्दा श्रेष्ठ छौं । अहिंसाको विशाल तत्व भारतको हो । हाम्रो आर्यसभ्यताको श्रेष्ठता नै जननी भावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको थियो ।