Jump to content

Laxmi nibandhasangraha/saritako kalkalma

From Nepali Proofreaders

सरिताको कलकलमा

हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं– 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको पनि त केही मौलिक तत्त्व हुनुपर्छ । हाम्रा जागरूक हृदय त्यहाँ के पाउँछन् ? कुन प्रभाव ? यो पनि एउटा विश्लेषणलाई चाखलाग्दो कुरो हो । हामीहरूले सौन्दर्यका मूलतत्त्वहरूको अन्वेषण त्यहीं गर्नुपर्दछ जहाँ युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीवन बिताउने मनुष्यहरूले यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको त्यत्तिको परवाह गर्ने गर्दैनन् । न त उनीहरूको जीवनमा यसद्वारा आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ ।

यस्तो विस्तीर्ण दुनियाँमा कल्पना र विमर्शका निमित्त अनन्त उपादानहरू छँदाछँदै भावुकको सहृदयताले युवावस्थाको उत्साहसाथ अरू चीज छाडेर जलको शब्दमय प्रवाहमा विशेषता पाउनु हाम्रो नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्‌मा अरू ठाउँमा यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं– यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ्य, तारल्य नै रुचाउँछ जो यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढ्यता कल्पनान्तर्गत बन्दैन । एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू चाहन्छौं कि रूखहरू चलून् । त्यसै कारण भावी कविहरू पात हल्लेको निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अङ्कन हरहमेशा मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको तारल्य ने रहेछ भनेजस्तो लाग्न आउँछ । प्रकृतिका विशाल क्षेत्रमा हाभी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्, चलोस् । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले सन्तोष पुर्याउँछन् र कहिले बादल, हावा र ज्योति-परिवर्तनले । तर तिनको विशाल वक्षस्थलबाट हामीले समुत्सुक समीक्षण गरिएका सौन्दर्य सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला महीधरवक्षः प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ । यस्तो विदित हुन्छ, मानौं ती विशाल अभ्रभेदी शृङ्गारहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्‌प्रबाधक निनादहरू लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्– त्यो मधुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा पाषाण तरङ्गको मधुर सप्तकमय पथमा छर्बरिंदै छचल्किदै लुङ र लुर्कन बन्दै कलमलाउँदै, झिल्मिलाउँदै आएका स्वर-लहरीहरू शीघ्रतया हृदयान्तर्गत हुन जान्छन् । तिनमा नैर्मल्यसँग ज्योति खेल्दछ । पानीको आत्मा झलझल हुन्छ, त्यो धवलायित प्रवाहशीलतामा जहाँ पानीयले पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोच्छ। यो प्रवाहमा आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गर्दछन् र ध्वनि दृश्यमान हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको चीज प्रवाहमा छ । नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको मोहनी लिन्छन् । उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको देखिन्थ्यो । सरित्‌किनारले जति कवि बनाए, उति बगैंचाले बनाएनन् होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् । पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं चराले टिपेझैं बोली भन्दछ । यो प्राण-स्पृश्य छ– विशेष गरेर गर्मीका दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू सुर मिल्दै आउँछन्– जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- किनारमा निस्कन्छन्।

कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ । यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू बन्दछन्, तर भिन्न-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य नवीनको अनन्तको बोलीमा दोहर्यावटविना एकै सत्य मुखरित भइरहेको जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा प्रबल उत्तेजना मैले कतै देखिनँ ।