Laxmi nibandhasangraha/sadhuko mahatmya
साधुको माहात्म्य
अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र परम्परालाई बुझ्दैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौं । चाहहरूको गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक विस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्, पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका सपनाको तालीम गर्छन् । हामी बेलाइतद्वारा भारत देख्तछौं र यस्तो विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्। विज्ञानको झिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू ऋषिमुनिका जटासँग विरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान दिएर हटाउने चेष्टा गर्दछौं ।
हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कनु स्वाभाविकै हो । हाम्रा अध्यापकहरू नेकटाई लगाएका हुन्छन् र एक खुट्टा मेचमा राखेर अर्को भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ । हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौं, काम नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार दुनियाँअगाडि लाज लाग्नुपर्ने हो । यो कैला लट्टा पारेर के गर्छौ ? म सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्, राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई हाम्रो नफरत छ । 'हट, हट, साधुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन् । 'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुझ्यौ ? तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर मनमनै भन्दछन् : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन दिन ठम्कर पाएर बुझ्लास् ।'
हामी यस्तै संघर्षणमा छौं । कलेज र संस्कृत पाठशाला मिलिसकेका छैनन् । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन् । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्, उनीहरू पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्, उनीहरू तातोमा । यिनलाई रिट्ठा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्–'दतिउन असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्–'तिम्रा दाँत चाँडै झर्दछन् ।' एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र कटलेट अर्को पुछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कुन रूप धारण गरूँ भन्दै धर्मराइरहेको छ ।
भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिझ्दछ । ऋषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ । मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा वेद नै हुन् । ऋषिले शनिश्चरबार घर नछाड्नू भनेको कुरामा मेरा रक्ताणु प्राकृत तवरले लाग्दछन् र भित्रबाट तिनका निषेध नाप्नामा के- के चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई इष्ट सम्झन सक्तिनँ । मलाई वैज्ञानिक झिलिमिलीहरू अझसम्म 'पराईका पाप' जस्ता लाग्दैछन् । म तिनलाई ग्रहण गर्नमा आधा तर्सिएकै हुन्छु। म विदेशसँग प्रेम राख्न चाहन्छु तर अन्धविश्वासले जीवन समर्पण गर्न सक्तिनँ । अंग्रेजी अध्यापकहरूका मीठो कथाकुथुङ्ग्री सुनेपछि पनि मलाई संस्कृत पण्डितजीहरूसँग पढ्न मन लाग्दै थियो । पादरीको व्याख्यान मलाई राम्रो लाग्छ तर साधुको एक बोली भए पनि सत्य जस्तो लाग्दछ, र बालकले औंला समातेझैं मेरो हृदय आखिर ऋषिकै पछि लाग्दछ ।
म आधुनिक हुन पनि चाहन्छु । बोक्रे अन्धविश्वासदेखि बलवा गर्नु विवेकको स्वभाव हो र प्राचीन सब कुरा बेभूल सत्य होलान् भन्ने कुरामा अन्वेषक आत्मा बराबर शङ्का गर्दछ र समाधान खोज्दछ । मलाई त्यो नास्तिकता होइन, जो ईश्वर छैन भनेर ईश्वरमा आइपुग्न चाहन्छ । नत्र मेरो जेहेनको के काम ? मेरो जीवनका शक्तिहरू निदाइराखे म के मानिस ? म उधिन्न पनि चाहन्छु, उघ्रन पनि, उघार्न पनि ! मलाई मुटुमा के छ भनेर हेर्न मन लाग्दछ ! प्राकृत जिज्ञासा !
'शान्त सरोवरका उर
किस इच्छासे लहराकर
हो उठता चञ्चल, चञ्चल ?'
शङ्का गर्नु बेस हो, किनकि बुझिन्छ, खोतलिन्छ । प्रश्न सबै हो, उत्तर परिपक्वता हो । शिशुलाई गुलाफको फूल चुँड्न मन लाग्दछ, मानौं पत्तीभित्र केही रहस्यमय प्राप्ति छ, तर मेरो आर्यप्रकृति आखिर आड र भरोसा त्यहीं लिन जान्छ जहाँ ऋषिमुनिहरूका जस्ता भस्मलेपन र धैर्यको शान्त मुहार झैं भएर सहज श्रेष्ठताले आत्मालाई शासन गर्दछन् ।
किनकि तिनमा साधुता छ । म शिशु झैं आमा-बाबुलाई लुछ्तै- चुँड्दै बढिरहेछु, तर हाम्रो झगडा होइन । उनीहरूलाई लात मारे पनि आखिर हाँसिदिन्छन् ।
मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसँग पैसाको नाता जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन् । सिकन्दरको अहंकारभन्दा एरिस्टोटलको हितैषिता मानव-हृदयनजीक आउँछ र पकड लिन्छ । अक्सर मानिसहरू आफ्नै निमित्त हुन्छन् अस्थिपिञ्जर रङ्गाउँछन्, सिंगार्दछन्, 'म' अक्षरलाई राम्रो देख्तछन् र मेरो नजरमा धक्कु लगाउँछन्, म- अगाडि टिम्किन्छन्, मानौं म तिनको पयर मल्न सुहाउँछु । रित्तो हाँसोले मलाई सडकमा स्वागत गर्दछन् । सुन बाँधेको दाँत देखाउन चाहन्छन् ! म बिरामी भए 'ज्या अपशोच !' भन्ने बोक्रे सहानुभूति देखाउँछन् । मेरो मन दुखेको भए विषादको व्यर्थतामा व्याख्यान दिन्छन्, तर मेरो आत्मा जान्दछ कि तिनको छाती खोक्रो छ । म उन्नत भए मित्रहरू मुस्काउँछन् अवनत भए भन्दछन् 'ज्या ! मैले ता भनेको हो कि ?' मानौं उनीहरू नै सर्वज्ञ थिए ! मेरा आत्माको दुःखउपर म उनीहरूअगाडि मुस्काएर हिंड्दछु व्यवहार तानाशाही छ । उनीहरू आफ्नो दुःखलाई रायोको पर्वत बनाउँछन् । मेरा निमित्त शरीरबाटै फुत्त निक्लन सक्ने एउटा भलादमी छैन, जोडका तोडमा छन् । के म तिनसँग हृदयले प्रेम गर्न सक्तछु ? तिनका इज्जत मलाई थिच्तछन्, तिनका उपाधि मिच्तछन्; तिनका आर्थिक स्वार्थिताहरू कैंची काट्तछन्, तिनको गर्व मलाई ठुङ्दछ अनि तिनै मेरा दोस्त रे !
मलाई दुनियाँका हितनिमित्त कोट र पोशाकको गर्हुँगो शिष्टाचार छोड्नेउपर प्राकृत श्रद्धा उठ्तो छ । ऊ मेरो हृदयलाई थिच्तैन । हलुका हुन्छ । ऊ दुनियाँको छोटो ताक र सस्तो नाफा छोडेर मेरो आत्मानजीकै आउँछ, ऊ ज्यादा माग्दैन, मेरो ध्यान मेरो जाँगर र मेरो सजिलो प्राकृतपनमा अत्याचार गर्दैन । ऊ मसँग फोस्रो हाँसो माग्दैन । न बोक्रे मिजास ! त्यसको नङ्गा महलमा म त्यसै आदर राख्तछु । ऊ प्रकृतिनेर छ र उसको सीमा नाघ्ने सहज स्वतन्त्रता देखेर म आह्लादित हुन्छु । ऊ रङ्गीन चश्मा लगाउँदैन, उपदेश बेच्तैन, पैसा बोक्सीको ऐंठनबाट बचेको छ । उसका जिभ्रा, कान, नाक, आँखा, छाला बिगटिन पाउँदैन; उ हप्काइहाल्छ । उसका आँखाले पच्चीस करोडको फिल्म माग्दैनन्, उसका जिभ्रालाई तीन हजार होटेल र परिकारको जरूरत छैन, ऊ थोरैको आनन्दमा हलुका पयर चाल्दछ र दुनियाँको हृदयमा वजन बनेर बस्तैन । आँखामा हाल, बिझाउँदैन, ऊ मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकुटी प्राकृत तवरले शिर झुकाउँछ । ऊ संकीर्ण-विकीर्ण छैन । म पत्थरमा छाती फोरेर मरिरहेको मान्छे जस्तो छु । म झूटा झल्कापछि दगुर्दछु, ऊ मट्टीतेलको बत्ती बाल्छ । म उसको नजीक प्राचीन भारतनेर पुग्दछु ! र उसको विश्वास, धैर्य र आत्मबल देखेर म चकित बन्दछु, ऊ गङ्गा छ, जहाँ सब नाला मिल्दै शान्त प्रवाह देखिन्छ । म कालो बादल झैं गडगडाउँदै छरिन्छु र शून्य राखेर बिलाउँछु !
मैले के त्याग गर्न सकें ? जब यी काँचका आँखा हुन्; यी माटाका कान हन् । म बेहोशमा छु । मृगतृष्णामा जिद्दी गर्नु मेरो बाटो हो । मलाई तेरा रचना रही बोक्रा हन् भने रिस उठ्छ, म जुँघामा ताउ लगाउन पाउनु जीवनको सफलता सम्झन्छु । ढुङ्गा खैंचाखैंचीको झगडालाई जीवन भन्दछु । मैले जाने भन्ने मलाई घमण्ड छ, र मेरा ज्ञान भन्नु खालि धूर्त्याइँ लुच्च्याइँ र भौतिक सामग्रीसँगको परिचय छ । मलाई दाढी बडे गिज्याउँछन् भन्ने डर लाग्दछ, कोट नलगाए 'हा हा' गर्लान् भन्ने त्रास छ र गलबन्दीलाई सौख मान्दछ, ढिकी र जाँतो बोकेर संसारबाट जान चाहन्छु । विष पिएर त्यसको ज्वलनबाट 'बच् बच्चा' भने म रिसाउँछु ! म पाँच मिनेट आँखा मुँदेर एउटा चित्र बनाउन सक्तिनँ, तीन करोड तेत्तीस लाख कुराले मेरा नसा-नसामा जञ्जीर लगाइरहेछन् । म 'आगो खान देऊ ! आगो खान देऊ !' भनेर परमेश्वरलाई रुवाउँदै विष मागिरहेछु, मलाई आफूभित्र कल-पुर्जासिवाय केही छैन जस्तो लाग्छ र दुनियाँको हितभित्र प्राण अर्पण गर्नुपरे शिरका रौंदेखि पयरका औंलासम्म कम्प र थर्थराहट प्रतीत हुन्छ । म विदितसँग कुरा गर्न जान्दिनँ, अस्तु ।
त्यो त्याग जस्तो भस्मलेपी, विषयजेताको मूर्ति मकहाँ एक एक मुठी माग्न आाउँछ–किन ? भारतको आत्मा राख्न ? मलाई खुवाउन ! उ आर्यसभ्यताको खम्बा हो । परमेश्वर माग्न आए एक मुठ्ठी, मेरो आत्मालाई सामल दिन विश्वास र श्रद्धाको गेरुमा, मैले उसलाई सित्तै अर्थनीति सुनाएर रित्तो हात पठाएँ ! भारतको आत्मा दुःखदलित स्थिर भिखारी झैं माग्न आइरहेछ मेरो घरमा । हाय ! धर्मको नाममा ऋषिको प्रतिबिम्बलाई एक मुट्ठी दाना त देऊ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर हेलाँ, हरि ! तिनलाई जो आए दीन बनी' भन्दै मेरो हृदय भावको नैसर्गिक कविता बोल्न लाग्दछ, जब मेरो घरमा जटाजूट दर्शन पाउँदछु ! यसको विषयमा एउटा 'भिखारी' नामको पाँच-सात वर्षअगाडिको कविता प्यार लागेर, उद्धृत गर्न मन लाग्यो ।
एक दिन म सुतिरहेकै थिएँ । सपना र विपनाको दोसाँधे प्रभात सुनौलापन, शीतको सुगन्ध र चराको कलरवसँग मीठो जागरण पाइरहेको थियो । म नवीनको द्वारभित्र पस्न लागेझैं लाग्यो, त्यसै वेला एउटा साधु चिम्टा बजाएर गाइरहेका थिए–मेरो थाङ्ने आँगनमा ! आधा बुझियो, आधा बुझिएन तर धोबिनीको स्वागतभन्दा मीठो लाग्यो । उनी भन्थे, शायद :-
"जाग जाग हे सुचिर सुताहा ! झलमल घाम उदायो ।
निर्मल आँसु रुनझुनसँगमा छविसँग झल्की आयो ।
रङीविरङ्गी विटपविहारी पंख फिंजीकन धायो !
पूर्व-शिखरमा स्वर्गद्वारको स्वर्ण-कपाट खुलायो !
अन्धकारको निविड अलसपन आँखा खोलन प्यारा !
प्रेमकी तारा झल्किरहेछन् महिमा स्वर्ण उदायो ।'
यो त त्यो जादूको अणुको टुना हो ! म कविता लेख्ने हुनाले अलिअलि बुझ्छु, व्यक्त गर्न सक्तिनँ ! तिनका यी आवाजहरू घरघरमा कति हृदयहरू अँघ्याराबाट ब्यूँझाएर हिडिरहेका होलान् । अनि मैले ब्राउनिङको 'पिप्या पासेज' सम्झें–जो मेरो अंग्रेजी पढ्नाको फल हो ।