Laxmi nibandhasangraha/gauri shankar yatra
गौरीशंकर यात्रा
बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् । मानौं प्राकृतिमाताले हरहमेशा 'लौ पुग न त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि लाग्दा अनेक–अनेक चमत्कारहरु प्राप्त गर्दछ । अझसम्म नपुगेका उच्चताहरु हातलागी गर्नामा हामीहरु हरहमेशा अनौठा आनन्द अनुभव गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैं हामीलाई नवीन जितबाजिको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ कोही पुगेका थिएनन् । त्यो चिज ल्याउन चाहन्छौं जो कसैले ल्याएका थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौं जो कसैले देखाएका थिएनन् । अगम्यको प्रेरणाले हाम्रो पयर सजीव बनाइरहेछ, अगोचरले हाम्रा आँखा आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार पाउँछ; अजेय शिखरहरुले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्को देखाएर स्वर्गाह्वान गरिरहेछन् ।
हामी त्यस देशका यात्री छौं, जहाँ कोही पुगेका छैनन् । नचिनिएका कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरु हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरमा यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरु अनौठो भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । अन्वेषित ध्रुवहरु मेरा यात्राका विलासहरु छन्, म समुद्रको पिंधमा डुबेर मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । नौला चिजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठुला चुलीहरु अजेय महत्वमा मेरो मानव–आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् ।
ती चुलीहरुमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरु छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि कठिनाइको टुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोर्दै म माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात–पयर गलेर आउँछन् । शारीरिक जीवन हात–खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन पाइन्छ, म एक्लिन्छु । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म चतुराईंहरुका भीषण भागहरले मलाई बराबर निराश गराउँछन् । जस्तो सर्वोत्तम कामहरुमा जति माथि चढ्यो र आश्वासनको कमीले यस्तो थाहा हुन्छ मानौं परमेश्वर असम्भवनेर लगेर मानवात्माको जटिल परीक्षा गरिहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरुमा त्यही निराशाको लुगलुगी र असम्भवको चिसो श्वासमा कठ्याङ्ग्रिन खोज्दछु । तर चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिंदै अलौकिक शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढिला पयर चलाउँछ, मरणासन्न खोजहरुले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चार्न भनेर मानिस देवताहरुको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरुलाई पनि शङ्का र अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरुलाई हँस्सी उडाइदिइरहेछ । मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरुमा सभ्यता, विज्ञान, विवेक र अन्दाजका हरकिसिमको न्यायो गराउने सामग्रीको दरकार छ । एक झुटो कदमले पिंध नभएको खाल्टो देखाइदिन्छ । एक भुलले अनन्तको आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण उचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला काटी–काटी ऊ आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो आफैं तताउँदै जान्छ । स्वर्गको सुनौलो मोहनीले आत्मालाई रेशमी धागोले तानेर गिरिहरु लङ्घन गराउँदैन, सौन्दर्यको एक झल्कामा मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादुघरमा प्रवेश गर्न खोज्दछ ।
ऋतुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । 'यति थोरै समयमा ! त्यत्रो अजङ्को राज्य ! यति सानो पुतली–पयरले !' भन्दै मानिस आफ्नो दौर्बल्यमा बराबर काँधिएर बस्तछ, तर अविदितले सुस्तसँग कानेखुसी गर्दछ, जा, बा ! तँ जादुको पुतली होस्, असीम शक्तिले तेरो आत्मालाई मन्त्र सुनाएको छ । तँ सत्यको सुन्दर, मोहनीको पिछा लाग्, सत्यको दौडमा आत्माले विश्व बोक्छ । अपूर्णमा अनन्तता त्यहाँ हुन्छ, त्यहाँ त्यसका केन्द्रमा सत्यले बास गर्दछ । तँलाई स्वर्ग छुनु छ । तँ माछो होइनस् । आलस्य र नैराश्य दुवै असत्का टुना हुन् । गिर्नु, उठ्नु, जित्न नसकिनेलाई जित्नु, नभेट्टिने जस्तो भेट्नुमा तँ सत्यको नजिक पुगिरहेको छस् । असम्भवले बनाएको तेरो सत्मार्गी अनन्त शक्तिमात्तामा प्यास, आस र उद्योगको मोहनी भर्न हो ! तर सम्भवका सीमा छैनन् ।
'क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परंतप' भन्ने मन्त्र पहाडहरुको निलो मसीमा देखिएका हरहमेशा हाम्रा नजरमाथि मोहनको मोहनी झैं टड्कारो दृश्य छ । मानौं पहाडहरु पृथ्वीमा चरण राखेर स्वर्गतिर दौडँदै भन्दछन् । 'उत्तिष्ठ !' स्वर्ग फेदमा छैन । त्यो सुनौला ज्योति चुलीमा उडेर बसेकी छ मानौं नेपाली जीवनको स्वर्गसमीपको विकासक मोहनी । मानौं सत्यको सौन्दर्यमा प्रथम अवतरण त्यही कान्तिमा मानौं साना नेपालको भाषा छ । त्यहीं सब स्वर्गीय आह्वान छ । मानौं परमेश्वर र दिन त्यहीं आएर सुनको पोशाकले झलमलाउँदै प्रतिदिनका आदर्शहरु झल्काइरहेछन् । मानौं त्यहीं सिर्जनाको दैनिक उद्घाटन छ । शून्य अन्धकारमय जगत्लाई नवीन रुप, रङ र खँदिलोपन स्थितिमा राख्ने प्राथमिक मोहनी, जो उषासँग ओर्लिन्छन् । हामी त्यहाँबाट प्राथमिक सिर्जनात्मक भावहरु पाइरहेछौं मानौं त्यहीं सङ्गीत मुखरित भइरहेछ, मानौं संसार सङ्गीतबाट या सङ्गीतसँग सिर्जना हुन्छ । बस् ! त्यहाँ पुग्नको महिमा हराउनासाथ हामी मुर्दाजस्ता हुन्छौं । त्यहाँ पुग्दा हामी संसारका सर्वोच्च शिखरहरु चढ्दछौं ।
हामी नेपाली गौरीशङ्करको यात्री भएका अझ छैनौं भने त्यस विषयमा लेख लेख्नु नै लेखकको आधुनिक देशसम्बन्धी अज्ञता बुझिन्छ भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं ।
तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं; मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव र देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका छन् ।