Jump to content

Laxmi nibandhasangraha/manchelai ghadibata hani

From Nepali Proofreaders

मान्छेलाई घडीबाट हानि

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन ।

हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ । हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे ।

प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको महात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन् । पहिले–पहिले ऋषिले पलेंटी कसे भने दिन बितेको थाहा पाउँदैनथे, तर एकैछिन समाहित भएर बसें भने मलाई घडी हेर्न मन लाग्दछ । जहाँ घडीको सङ्केत हुँदैन, त्यहाँ मानव–आत्माले अनन्तसँग नाता जोडेको देखिन्छ तर म समयलाई साना–सानो टुक्रामा हेरेर दीर्घकालदेखि तर्सन्छु र थोरै क्षणको धैर्यले मेरो नाक फुल्दछ । अनन्तबाट म त्यत्तिकै सधैं दूर छु, जत्तिको होश हराएका भारद्वाज समधिस्थ अवस्थामा मभन्दा माथि देखिन्छन् ।

हामीहरु जीवनलाई सेकेण्डमा बाँडेर टुक्र्याइ रहेछौं, ध्येय शून्यताको चक्करमा बाटुला घडीहरुको सुईका यात्रामा समय व्यतित गरिरहेछौं । हामीहरु छरिइरहेछौं, सङ्कीर्ण हुनु विकीर्ण हुनु हाम्रो सभ्यताको लक्षण हो । हामी एक घडीलाई धेरै देख्तछौं, त्यसलाई साठी मिनेटमा र हरएक मिनेटलाई साठी सेकेन्डमा बाँड्दछौं । हाम्रो आजकल कनिकाकेलाइ छ । महान् तत्वहरु सेकेन्डका होशमा उफ्रँदैनन् र हामीहरु देवताको दिन र ब्रह्माको युगको कल्पना गर्न सक्तैनौं । हामीहरु छोटकरी बनिरहेछौं, खुम्चिरहेछौं, बोक्रा पढ्दछौं, सतह हेर्दछौं, हिसाबको क्षेत्रमा घुम्दछौं, आत्मालाई छोडेर रक्तसञ्चालनका नियमहरु अध्ययन गर्दछौं । मेरो विचारमा यो घडीहरुकै अत्याचारले भएको हो ।

किनकी आजकल हामीहरु घडीले उठ्तछौं र घडीले बस्तछौं । अध्यापक क्लासमा आउँदा घडी हेरेर आउँछन्, घडी हेरेर जान्छन् । आजकलको विद्या र प्रमाणपत्रका बोक्रेपनमा विचार गर्ने मान्छेले थाहा पाउँछ मानव–आत्मामा घडीको कत्रो अत्याचार छ । पहिले–पहिलेका गुरुहरु हरहमेशा दिनरात शिक्षा दिएर विद्यार्थीको आचार–व्यवहारसमेतमा ध्यान राख्तथे । आजकालका मास्टरजीहरु घडी हेरेर पढाउन बाह्रकोठे बाटुलमुखेका काला अङ्कहरु गनीगनी पैसा लिन्छन् । विद्याको धारो समयमा खुल्दछ र समयमा बन्द हुन्छ, उपदेशको घडी तौलले खरिद– बिक्री हुन्छ अनि हामी बोक्रे हुनु कुन गजबको कुरा हो र ?

हामीलाई परिश्रमको बाँड सिकाउने घडीको आविष्कार हो । बरु यन्त्रहरुको जेठो दाजु नै घडी हो । हामीहरु हमेशा बेफुरसती छौं, सास फेर्न पाइन्न ! यो स्वाँ–स्वाँको युगमा हामी घडीका सुईका मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना यही हो ।