Laxmi nibandhasangraha/masalako botle ke hercha
मसलाको बोटले के हेर्छ ?
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्त्विकतासँग मिल्दो केही धूलो-मैलो सग्लिंदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा सग्लिदै ऐनामा श्वासको बाफ उडेझैं उडेको जस्तो लाग्दछ । पूर्व- गिरि-श्रृङ्खलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई- चार बादलका टुक्रा देखिन्छन्, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा, जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा हामी भन्न सक्तैनौं हिमालयका टाकुरा हुन् कि के हुन् ? ध्वाँसे रंगका बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले (शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे झिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं । त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक प्रख्खातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा एक-दुई खत देखिन्छन् र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो । म बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याह्ननजीकको धूप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको कल्सेंदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको पहाडमा सटेको थुम्काको बीचमा, अस्पष्टताको गगन झैं मेरोभन्दा तीव्र कल्पनाको अन्वेषण मान्दछन् । म लेख्तैछु, दृश्य फेरिंदैछ । क्षण- क्षणमा सजीव दृश्यले एकाएक नमूना निकाल्दो छ, मानौं कोही साँच्चिकै दृश्यपटमा अदृश्य बुरुशले फा चढाइरहेछ, थोरै फेरिरहेछ, ह्वैन ? ऊ केर्दैन, मेट्तैन–खालि विकास गर्दै लगिरहेछ–त्यो भविष्यक प्रतीक्षाको अलौकिक चातुरीले जो म अपूर्णलाई सृक्ष्मातिसूक्ष्म छ । जीवन अडेको जस्तो देखिन्न, विशालले आफ्नो विकासशील जादूगरीमा सजीवताको सुन्दर चेत हामीलाई दिइरहेछ । मानौं हामी त्यसविना उसलाई बोक्रे वेदान्तको स्पन्दनशून्य चैतन्य सम्झुँला भन्ने उसलाई करुणापूर्वकको त्रास छ । यहाँ चिच्याहट छैन, केही दोहरिन्न, किनकि दोहरावट भन्नु नवीनताको अभाव हो। प्यार सिर्जना 'नित नव' भएर नौलिन्छन् कस्तो मधुर ऐक्यको भावमा ?
यो देख्ने दुई जना छन् । एउटा त्रिचन्द्र कलेजको मसलाको रूख–जो अब न्यानो बनेर अलि-अलि पात झुम्कामा नाचूँ-नाचँको नैसर्गिक भावले दोलन पाउन लागिरहेछ– कानमा सिर्सिरी पैदा गरेर जसमा मानौं मेरो हृदयलाई शीतलताको सिर्का छन्–र म अहिले अघनीभूत शब्दमा आकाशबाट एक समितिको शब्दकोषलाई नवीन प्राप्ति चढाउँछु 'सिर्सिराएको हावा !'
अब आँखा अलि तिर्मिराउन लागेजस्तो आकाशको झिल्के रहस्यमा ज्यादा चाख राख्नेहरू रातो याद पाउँछन् ! वनकालीतिर नदेखिने बादलखण्डको सानो छायाले छाएर दक्षिणको छेउ कल्सेंदो हुन्छ, तर अरू ठाउँमा हरियो भन्न नसुहाउने, मोहनको अनुपस्थितिमा निर्मोहनी लागेको आजकालको वृन्दावनका धूलीधूसर वृक्षहरूको रङ्ग जस्तो रङ्ग भएका, मौन चित्र झैं अचल वृक्ष– बिरादरी झुप्पा परेको छ । टुकुचापारि रूख र घर 'तँ ठूलो कि म ठूलो' को स्पर्धा देखाउँछन्, र अनेक निवासहरू वृक्षको अँगालोमा बसेका सच्चा नेपाली निकेतनजस्ता देखिन्छन् । यहाँबाट हेर्दा धेरै छानामा शरद्ले पत्ती वर्षाउँछ कि भनेजस्तो देखिन्छ यद्यपि वास्तवमा छाना र रूख धेरै टाढा रहून् ! डिल्लीबजार बगैँचामा बसालेजस्तो देखिन्छ र आफ्नो नामको अधुनिकताबाट वञ्चित भएको देखिन्छ ! एक त्रिकोणी टायलदार चुलिएको अग्लो छानोबाहेक अरू तीन-चार झ्यालवाला राता ईंटाका दुई भ्वाँगप्वाले झिंगटीकराले तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिझिल्यान्न देखिन्छन् । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस्तापाताको सेतो स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन् जत्तिको ऋषिको टाउकोमा अंग्रेजी स्ट्रं ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ टुक्रा गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका विनम्र लामपाते झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्, जो शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन् । यी तिनका छाना हुन् जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली माटोले बनेका छन् र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका छन् ।
मलाई यहाँबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म) बगैंचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित देखिन्नन् । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैं बनेर आनन्द देला भन्ने मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान् जस्तो मलाई उठाउन मिर्मिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्कुर बराबर कुर्लन्छन् कि कुर्लदैनन् तर कर्लनुपर्ने ! त्यहाँ झ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा रङ्गीन चराहरू जरूर आउँछन् । तर मेरो घरमा त्यस्तो केही छैन । त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो दृश्यबाट अर्को अनुमान मेरो यो छ कि त्यहाँका बासिन्दा संगीतमा सौख राख्ताहन् जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।
अलि आँखा तिर्मिराए, यद्यपि मैले अघि बताएको 'सिर्सिर्रिलोपन' प्राकृतिक शरत्कालिक झैं हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ– सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान् जस्तो कल्पनाको लहर वस्तुको याथार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन् । त्यो खँदिलो भयो–सुनसानबाट !
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक रहेछ ! यो पहेंलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने समय सम्झन्छन्, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति छ– दूधालु बालाको चञ्चलता छैन–छ अलि-अलि सिर्सिर ! त्यो त बूढै भए पनि जीवनस्वादिनी सङ्केत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत जस्तो छ । चौकोस पाताहरू काटिंदैछन् । दुई-तीन कुनिउँले नबताउँदै भन्दछन् कि टुकुचानेरका खेतले तल्सिङ्ग बुझाइसके ! ती कनिउँनिर परिश्रमशील कृषकले नयाँ सपनाको ड्याङ लगाइसक्यो ! के रोप्ला त्यो स्वादिलो पदार्थ जो दरिद्रको डल्लो-डल्लो मजा हो ? अनि त्यहींनेर के त्यो ? म उखु भन्न सक्तिनँ– हो ! शायद जुनेलो होला ? हेर ! धानको बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गे डाँठको रूख टिङ्गरो छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम् (सूत्र, रेखागणित हल् स्टीभेन्सको) पढ्न लागेझैं छन् । अनि एउटा चुटाहा पराल झटनीहरूको थुप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति किसानको प्राकृत बुद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान् त्यति यी वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान् र ? जीवनसँग नजोडिएको भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन् ! एक पाटामा चुटेका झटनीहरूको कलात्मक गलैंचा र सुकुलबीचको बिछ्यौना देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो– जहाँ दुई बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका– भर्खर धाननेर बिलाए ! त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ– मानौं नेपालमा घर र रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन् । आग्नेय ढल्का लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरझुप्पा आकाशतिर उठाएर 'म पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ– मानौं वायुको घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार झैं एक हात बाक्लो होला– धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन् । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज बाँधिएझैं हँसियालाई झुस्स-मुस्स पारिरहेछन् । खलबलिएको केश झैं ! तर यो हाम्रो पर्खालैनेरको क्या हो ? न धान न गहुँ ? अवश्य होइन ! नपाकी थाकेजस्तो छ, हरियो हरियो झ्यासाङम्यासाङ सोतर-प्रवृत्तिको सुनौलापनारहित ठाउँ-ठाउँमा बुरुशले बुर्जा बनाएको डामदार शृङ्गारको नयाँ कलेजोपनको केश तलाशी नजीकै आउँछ ।
उः चङ्गा ल्यायो सानो केटोले ! मतिर रातो लामो पुच्छर फर्काएर !– यिनीहरू पनि उडाउन चाहन्छन् आफ्ना मनका लहडी सिर्जनाहरू ! मेरो सिद्धान्तमा एरोप्लेनको दाज्यू चङ्गा नै हो ! पखेटाको अभावमा मनुष्यजातिले हृदयमा चोट परेको चेतले चराहरूलाई गिज्याउन चाहन्थे क्यारे ? 'यी क्या हाम्रा चरा पनि उड्दछन् !' भनेर मान्छे परमेश्वरसँग आछन्न डाहाड देखाउँथे ! मनुष्य अविदिततिर भ्रमण गर्न चाहन्छन्– चङ्गालाई उडान दिएर, त्यसका चेतहरू र सजीव अनुभवहरू धागाको नाडीमा बल्केको छाम्न चाहन्छ ।
उता हेर ! कोदाली मच्चिएको ! म जान्दछु फलाम किन सृष्टि भयो ! यो पथमा शान्तिका सुनबाला फल्दछन्, कोदाली-दर्शन झुप्रोमा सुत्दछ, ऊ भन्छ ! 'चाहनाको कमी नै महत्त्व हो !' उः कोदालीसँग सभ्यता शुरू भयो ! ऊ भन्छ ! 'आनन्दको निद्रा बेदाग अन्तःकरण र कामको सच्चाइमा छ !' मेरो दिलमा ज्यापू सुखी हुन्छन्, भादगाउँले टोपी माटाको सरदारको मुकुट हो । म कतातिर ?– साँखु कि सुन्दरीजलनेर ?– झोपडी बनाएर कल्पनामा खेती गर्न चाहन्छु ! हृदय यस्तै होस् तर सब अरू शिक्षा भूल भन्ने मेरो आदर्श छ ।