Jump to content

Laxmi nibandhasangraha/shri ganeshaya namah

From Nepali Proofreaders

श्रीगणेशाय नमः

आरम्भ गर्दा अन्त्यको बारेमा त्रास रहनु स्वाभाविक भएको हुनाले हामी हिन्दूहरू गणेशजीको शुभ नाममा हृदयलाई आधार दिन्छौं । सिद्धि र बुद्धि दुवैका मालिक भएका हाम्रा सूँडवाल भुँडे देवता कार्यको आरम्भमा पनि अधिष्ठाता बन्नुहुन्छ । जुनसुकै मनोवैज्ञानिक दृष्टिले हेर्दा देवताको आधार लिन खोज्ने स्वाभाविक प्रवृत्ति मनुष्यको अपूर्णता र त्यसको परिणामरूप आत्मविश्वासको कमीमा नै उत्पन्न हुन्छ । जवानीको जोश र सफलताको स्वयंविकासी हौसला पाउने भाग्यवान्‌ सफल साहित्यिकले गणेशजीको त्यत्तिको कदर नगरोस्‌ तापनि मेरो हिन्दूहृदयमा त अनेक न्यूनता र अपूर्णताका चैतन्यको त्रास चिसो भएर पस्तछ र म प्रकृतिवश या त सरस्वतीको चिह्न या त श्रीगणेशाय नमःको रुद्रीचण्डीक्रमको स्मरण नगरी सक्तिनँ । शायद बाहुनको छोरो भएको हुनाले हो कि ?

आजकाल नाटकमा सूत्रधार र नटीको नाक काटिएको युगमा, पचासहाते नालिश छोट्याउने ऐनसुधारको अवस्थामा लर्ड म्याकलेका प्रसिद्ध प्रबन्धहरूलाई 'गन्थन प्रस्तावले चिच्याटलाग्दा' भन्ने समालोचना हुने बीसौं शताब्दीमा, जब चिठीमा 'उप्रान्त' काटिएर 'प्रिय महाशय' लेखिन्छ यस्तो 'श्रीगणेशाय नम:'को आरम्भ सच्चा चश्माबाज आधुनिक पाठकलाई त के मन पर्ला र ! तर म के लेख्न लागें, कुन विषयमा कसरी यी कुराको बारेमा केही विवरण यहाँ दिन अनुचित होओइन कि जस्तो लागेर अगाडि बढ्दछु ।

सच्चा पाठकले पहिले चाहन्छ-केही लेखकसँगको परिचय यसकारण, मलाई एउटा हरियो बाला हाल्दो चियाबारी नामको हावाको लहरमा सरसराउँदो खेतको फैलावटउपर मसलाको बाङ्गोटिङ्गो अग्लो वृक्षनेर त्रिचन्द्र कलेजको पूर्वपट्टिको रातो झ्यालनेर अनेक लेखकहरूका बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ ।

म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो ।

यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्‌, यहीं आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहर्याइरहेछन्‌, बुझाइरहेछन्‌ । यसैमा प्राचीन सभ्यताको भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि रहेका छन्‌ ।

हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको, पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान्‌ ।

तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन्‌ । हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने ।

तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन्‌ । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन्‌ । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा ।

काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून्‌ एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।

म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन्‌ । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार्‌ र अगाडि बढ्‌, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?

धेरै जना भन्नेछन्‌, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु; म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिंदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन्‌ मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'

तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ -'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेऊ न यी खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ? यस्तै बोक्रे खोष्टे छन्‌ आजकल लेखक भनाउँदा ।'

बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ, 'खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन मन लाग्छ, रामेको गफ र चामेको चुट्किलो जवाफ जब सुन्न मन लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका थिए, तब यहाँ पाल्नोस्‌ 'यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुट्कुलो कुराकानी छ, जसको नाम प्रबन्ध हो ।'

शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन्‌ । म मै जस्तो छु; अरू जस्तो छैनँ। मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन; प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्नँ, आएको कुरा आओस्‌ । आफ्नो प्राकृतिक पोशाकमा कुराकानी गर्दा अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो, सर्फा दिल मजाको हो । फरासिलोपनको मनुष्य नै जीवनले रुचाउला ।

प्रबन्ध पनि एक कला हो; तर बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ । मेरो मनमा कला छैन भने खालि तोडमरोड हो । भित्रैबाट संगति मिलाएर कलाको जादूगरी निक्लियो भने त्यसमा दिव्यता देखिन्छ । तर 'म लेख्छु' को भावले कृत्रिम बनोटबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयासको पग्लिंदोपना निक्लिहाल्छ ।

यहाँ म जीवनको टीकाकार बनेको छु। बर्णन होस्‌, वृत्तान्त होस्‌ वा व्याख्यान, जतासुकै पनि म आफ्नो रंगमा आफ्नो ढंगले यो जीवनको घामछायाका अनुभवहरू चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख-दुःख, प्राप्ति-हानि, हार-विजय, आँसु-हाँसो, भाव-भावना, आदर्श सपना, दृश्य-दर्शन झिल्का-भिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छु ।

भेरो श्रीगणेशाय नम: यत्तिकै हो । प्रबन्धको रूप, कला, ढंग, इतिहास, भविष्य इत्यादिमा आलोचना गर्न मलाई ज्यादै थकाइ लागिसक्यो । ओठ चलेपछि कुरा बुझिहालिन्छ भने विस्तृत व्याख्यानको के जरूरत ?