Laxmi nibandhasangraha/meri shishu
मेरी शिशु
जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन् । मलाई नरम र कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।
आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो । मलाई एउटा माली बनूँ-बनूँ लाग्यो र बीउ बिनी-बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।
उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न लाग्थ्यो ।
मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !
म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें, रामचन्द्र र कृष्णजी साँचा हुन् भन्ने उसैले बुझाउन लागी ।
म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको देख्तछु!
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस् भने पनि म बस्न सक्तथें–खालि शिशुको लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन् । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्वी हरियो हुने थिइनन् । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन् । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन् । पृथ्वी अन्न उमार्छिन् मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।' मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।