Laxmi nibandhasangraha: Difference between revisions
Created page with "<pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 />" |
No edit summary |
||
Line 1: | Line 1: | ||
<pages index="Laxmi_nibandhasangraha.pdf" from=1 to=14 /> | |||
<pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 /> | <pages index="Laxmi_nibandhasangraha.pdf" from=60 to=66 /> |
Revision as of 01:55, 29 January 2025
लक्ष्मी निबन्धसङ्ग्रह
महाकवि लक्ष्मीप्रसाद देवकोटा
लक्ष्मी निबन्धसङ्ग्रह
महाकवि लक्ष्मीप्रसाद देवकोटा
प्रकाशक | : | साझा प्रकाशन |
संस्करण | : | साझा प्रकाशनबाट सत्रौँ पटक |
वि. सं २०६४ (३१०० प्रति) | ||
आवरणकला | : | टेकवीर मुखिया |
मूल्य | : | रु. ७०|- |
मुद्रक | : | साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर |
फोन : ५५२१०२३, फ्याक्स : ५५४४२३६ | ||
ISBN: 978-99933-2-615-1 |
प्रकाशकीय
उही किताप हो । यही किताप हो ।
संवत् २००२ सालमा यसको 'परिचय' दिँदै ने. भा. परिषद्का अध्यक्ष श्री पुष्करशमशेरले लेख्नुभयो–
"राजर्षि श्री महाराजको उच्च उद्देश्यबमोजिम...डाइरेक्टर जनरलबाट तयार गर्नू भन्ने मर्जी बक्सेबमोजिम...निकालेका पुस्तकमध्येको यो हो ।"
अनि २०१९ सालमा ने. भा. प्र. समिति र ने. भा. परिषद्का संयुक्त अध्यक्ष भएर यसैको परिचयमा श्री भीमनिधि तिवारीले भन्नुभयो–
"बहुमुखी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाज्यू (द्वारा)...यो किताब त्यसै बेला अर्थात् २००२ सालमा लेखिएको हो । यद्यपि ने. भा. परिषद्ले उहाँलाई केही खुवाउन सकेको थिएन सिवाय किम्बुका हरिया पात । तैपनि उहाँले यस्तो रेशम ओकलेर नेपाली भाषा साहित्यलाई विभूषित गरिदिनुभयो । यो उहाँको उदारता हो ।"
निष्कर्ष निस्कन्छ यसबाट यो–
नमरी देवकोटाले चाहिँदो सम्मान पाएनन्, यो एउटा कटु सत्य हो, र यसैलाई अर्को 'लक्ष्मी-निबन्ध' भने हुन्छ– सबभन्दा छोटो निबन्ध, तर सबभन्दा महत्त्वपूर्ण, महाकविको जीवनको निबन्ध– 'लक्ष्मी-निबन्ध ।'
तिवारीज्यूले भन्नुभएको, देवकोटाज्यूको यो 'रेशम'-को अधिकारी भएर अब साझा प्रकाशन आएको छ । त्यो 'रेशम' नेपालीमात्रलाई सर्वसुलभ गराउने हाम्रो कर्तव्य भएको छ । हाम्रो प्रबन्ध 'लक्ष्मीनिबन्ध' जस्तो नहोला, प्रतिभाले नछोएकाले; तर प्रयत्न हामी गर्नेछौँ– महाकविको सेवा गर्न पाएकोले ।
संवत् २०२४ | क. दी. |
'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीं म प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला– एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस् ।
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्– याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय अड्डाका थिएनन्, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।
लक्ष्मीप्रसाद
निबन्ध-क्रम
श्री गणेशाय नम:/१
पहाडी जीवन/६
मेरी शिशु /१५
सुकुलमाथि /१७
लेख्ने बानी/१९
नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष /२२
पाँचौटा चाहिने कुराहरू/२७
सरिताको कलकलमा /३२
मान्छे-जादू/३६
हाइ हाइ अंग्रेजी /४५
के नेपाल सानो छ ? /५१
वीरहरू /५८
भलादमी /६१
फूल/६५
आषाढको पन्ध्र /७०
कला र जीवन/७५
गधा बुद्धिमान् कि गुरु ?/८७
हास्यरस /९०
कविराजको च्याङ्ग्रे खच्चर /९५
छन्द र लय/९९
कल्पना /१०७
कुम्भकर्ण/१२०
साधुको माहात्म्य/१२७
मसलाको बोटले के हेर्छ ? /१३३
वैराग्य/१३८
आकार र अभिप्राय/१४३
नेपाली गुण्डो/१४८
पण्डित लेखनाथ पौड्यालको विषयमा/१५१
सुस्तरी श्वास फेर/१५८
आमाको दिल/१६५
शिक्षा/१७०
गौरी-शंकर यात्रा/१७७
जुवा/१८१
जुँघा/१९२
एउटी चरीको चिरीबिरी/१९७
मान्छेलाई घडीबाट हानि/२००
सत्य सोझो हुन्छ/२०३
श्रीगणेशाय नमः
आरम्भ गर्दा अन्त्यको बारेमा त्रास रहनु स्वाभाविक भएको हुनाले हामी हिन्दूहरू गणेशजीको शुभ नाममा हृदयलाई आधार दिन्छौं । सिद्धि र बुद्धि दुवैका मालिक भएका हाम्रा सूँडवाल भुँडे देवता कार्यको आरम्भमा पनि अधिष्ठाता बन्नुहुन्छ । जुनसुकै मनोवैज्ञानिक दृष्टिले हेर्दा देवताको आधार लिन खोज्ने स्वाभाविक प्रवृत्ति मनुष्यको अपूर्णता र त्यसको परिणामरूप आत्मविश्वासको कमीमा नै उत्पन्न हुन्छ । जवानीको जोश र सफलताको स्वयंविकासी हौसला पाउने भाग्यवान् सफल साहित्यिकले गणेशजीको त्यत्तिको कदर नगरोस् तापनि मेरो हिन्दूहृदयमा त अनेक न्यूनता र अपूर्णताका चैतन्यको त्रास चिसो भएर पस्तछ र म प्रकृतिवश या त सरस्वतीको चिह्न या त श्रीगणेशाय नमःको रुद्रीचण्डीक्रमको स्मरण नगरी सक्तिनँ । शायद बाहुनको छोरो भएको हुनाले हो कि ?
आजकाल नाटकमा सूत्रधार र नटीको नाक काटिएको युगमा, पचासहाते नालिश छोट्याउने ऐनसुधारको अवस्थामा लर्ड म्याकलेका प्रसिद्ध प्रबन्धहरूलाई 'गन्थन प्रस्तावले चिच्याटलाग्दा' भन्ने समालोचना हुने बीसौं शताब्दीमा, जब चिठीमा 'उप्रान्त' काटिएर 'प्रिय महाशय' लेखिन्छ यस्तो 'श्रीगणेशाय नम:'को आरम्भ सच्चा चश्माबाज आधुनिक पाठकलाई त के मन पर्ला र ! तर म के लेख्न लागें, कुन विषयमा कसरी यी कुराको बारेमा केही विवरण यहाँ दिन अनुचित होओइन कि जस्तो लागेर अगाडि बढ्दछु ।
सच्चा पाठकले पहिले चाहन्छ-केही लेखकसँगको परिचय यसकारण, मलाई एउटा हरियो बाला हाल्दो चियाबारी नामको हावाको लहरमा सरसराउँदो खेतको फैलावटउपर मसलाको बाङ्गोटिङ्गो अग्लो वृक्षनेर त्रिचन्द्र कलेजको पूर्वपट्टिको रातो झ्यालनेर अनेक लेखकहरूका बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घोप्टिदै लेख्दै गरिरहेको भावना चित्रण गर्न सक्नुहुन्छ ।
म भन्न सक्तिनँ कि म कहाँ काम गरिरहेछु र के काम ? न यो साहित्यको यन्त्रालय हो न यो नेपाल-संसारको नवजागरणको उद्बोधन विभाग । तर यहाँ मलाई कर छैन; दबावट छैन; स्वेच्छाको सजिलो पखेटा फिंजारिन्छ, यन्त्रवृत्तिको कार्य छैन; म यहाँ बसीबसी सारा संसारको भ्रमण गर्न सक्तछु । यो अफिस, अफिस होइन; यो मेरो लेख्ने कोठा हो । नेपाल सरकारको मगजकारखाना हो ।
यही घण्टाघरले शासन गरेको 'स्थापित १९१८' अङ्कित त्रिचन्द्र कलेजको कार्यालयभित्र नेपालका प्रमुख मगजहरूको तालीम, पोषण र तयारी भइरहेको छ । यहीं जवानीका सपनाहरू उम्लिरहेछन्, यहीं आघुनिकताले केन्द्र बनाइरहेछ, यहीं नवीन उन्नतिको छामछाम छुमछुम छ, यहीं दाढीवाल विद्वत्ता ती प्राचीन र अर्वाचीन महाविचारीहरूका भाव-उपदेश दोहर्याइरहेछन्, बुझाइरहेछन् । यसैमा प्राचीन सभ्यताको भण्डाररूप पुस्तकालय पनि छ, यहीं आधुनिकताका सामग्रीहरू पनि रहेका छन् ।
हामी भन्न सक्तैनौं- यो फैलिंदो फुल्दो आँग्लभाषाविद्यालयले नेपाल संसारलाई कति हित गरिरहेछ, खालि हामीहरूलाई आर्यसभ्यता र आर्यसंस्कारबाट वञ्चित गराउन र पश्चिमेका छोटो कोट लाएको, पुतलीजुँघे उल्था बनाउनको मात्र तालीम दिइरहेछ । यस विषयमा भविष्यका समालोचना मात्र काम देलान् ।
तर हामी नेपालीलाई अंग्रेजीमा उल्था गर्ने कोशिशमा छौं, जस्तो यहाँका अध्यापकहरू नेपालीलाई अंग्रेजीमा उल्था गर्ने उद्योगमा रहन्छन् । हामी जबसम्म दाढीवाल अध्यापकहरूका व्याख्यानमा थियौं, तबसम्म खालि पश्चीमका यात्री, लन्डनका गल्ली र मिजाजका जिज्ञासु थियौं । अब हामी त्यस ज्ञानलाई भारतवर्षमा ल्याएर हिमालयको काखमा मातृभाषा र मातृभूमिको भविष्य-सपना देख्न लागेका छौं । यहाँ दोतर्फी व्यापार छ, एउटा अंग्रेजी हासिल गर्ने, अर्को अंग्रेजीबाट नेपाली सिंगार्ने र पोस्ने ।
तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेथें । जस्तो साहित्यको प्रातमिक अवस्तामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू' पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो लवज तौलने चिच्याटमा र विदेशी वक्रतामा उठेर आउँछन् । अब म धेरै पंखफुका छु । मलाई कुनै म्लेच्छ पङ्क्तिहरू जबर्जस्ती घिच्याएर नाकडोरी लगाउँदैनन् । म अर्काको भनाइ र शैलीमा नत्थिन्नँ । म सागरपारिका जटिल लवजका छायाभेद तौलेर गर्हुँकाउन्नँ । अब मेरो आफ्नै माकुराजाले मगज छ । जसरी बुन आफ्नै जाल, जति रच आफ्नै स्वादले, जता जाऊ आफ्नै यात्रामा ।
काम पनि क्या मजाको र क्या मिल्दो । लहडदासलाई तरंगभन्दा मजा दिने के होला दुनियाँमा ! बस ! गफ गर । अरूले नसुनून् एक्लै छौ, साथी भए कुरा काटने थियो, यहाँ त एक अदृश्य पाठक छ, जो सधैं सुनिदिन्छ, जो चाख लिन्छ, जो 'हाँ' मा हाँ गर्दछ, 'होइन' मा होइन । म यता पल्टाउँछु र उता, न बहस न बहसको बाजे ।न न्यायका रौं चिर्ने भेदहरू, न नियमको चौखुर्याहट, न शैलीको बाँध ।
म भन्छु 'ए मन, तँ रंगिइजा:-रूपौला लहर झल्काई सिलिङ मिलिङ गरेर सलसली नालाहरू वनमा नागवेली पर्दै पहाडका सजिला फेद कुना खोज्दै समुद्रतिर चलमलाउँछन् । सोझै सागर पुग्ने काम तँलाई छैन, तँ त खेल्न आएको पो ! जीवन भनेको नै लहराउनु, तरंगिनु, चलमलाउनु, गुनगुनाउनु, यो बाटो जा भन्ने नियन्त्रण दिने तँलाई कोही छैन, तँ जा तरंगिई, लहडको लहरीमा, आफूखुशीको आनन्द विश्वमा तैँलाई छ । तँलाई न पुराण भन्नु छ, न गर्नु छ शास्त्रार्थ; कोही किनारडुलुवाको कानमा गुनगुन गर्दै अल्सी क्षणलाई बहलाइदे; केही जीवनको गुनगुने रहस्यझल्का झल्काइदे । एकान्तलाई मीठो पार् र अगाडि बढ्, कतै निर्झरको हाम्फाल्नुले, कतै पतलिएको कलकलले । अहा ! के लहडतरगले जीवनको सच्चा मुटु छुँदैन र ?
धेरै जना भन्नेछन्, 'यो के गन्थन ! यो के झुत्रे गफाडी गुन्द्रुक हो ?' तर प्रबन्धले र विदेशीले कुरा बुझाउन लिएको बाङ्गो व्यंग्यसहितको मुस्कुराहट साथमा भन्दछ, 'महाशय ! या पण्डितजी, म त हाँस्न, खेल्न र रमाउन मात्र जन्मेको, म एउटा ठट्यौलो रसिलो साथी हुँ । तपाईको शास्त्र, गर्हुंगो मगज भारी झोक्र्याइ र रौं-चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु; म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन निसास्सिंदो गहिराइमा तपाईंहरू जीवनको सास रोकी डुबुल्की मार्नुहुन्छ, त्यसदेखिन् मलाई प्राकृतिक त्रास छ । म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन । कहिले कहिले एउटा चुरोट च्यापेर टेबिलअगाडि बसेर गफ गर्ने रमाइलो साथी मात्र हुँ ।'
तर त्रिपुंड्रकचन्दनवाला प्राचीनता-प्रेमी गम्भीर महानुभाव बेकोटको पछ्यौरे पोशाकमा बाक्ला आँखीभौं गाँठो पारेर प्रश्न गर्नुहुनेछ -'तब के गफ र गफाष्टक नै साहित्य हो त ? यी आजकलका लेखक असल मगरका नास्ति जुँघा न दाह्री, च्यातेर फ्याँकिदेऊ न यी खोष्टाहरू ! गफ भनेको ता सुन्ने पो हुन्छ। खै यसको साहित्यिक लक्षण ? खै औपदेशिकता र सारात्मक पदार्थ ? न देवाय न धर्माय ? यस्तै बोक्रे खोष्टे छन् आजकल लेखक भनाउँदा ।'
बेचारा हल्के गफाडी प्रबन्धकर्ता कपाल कन्याएर बिन्ती गर्छ, 'खै, यो यस्तै हो । यो टेबिलगफ मात्र हो, शास्त्र होइन । यो एउटा फुर्सतको मनोरञ्जन हो । जब कौमुदीको चिच्च्याहट, दर्शनको लाटोकोसेरो घोराइ, शास्त्रका मगजचक्करीहरूबाट एकछिन पन्छिन र फुर्सत लिन मन लाग्छ, रामेको गफ र चामेको चुट्किलो जवाफ जब सुन्न मन लाग्छ, जो कीराका प्वाल भएका शास्त्रका ठेलीठेलीमा तिरमिराइरहेका थिए, तब यहाँ पाल्नोस् 'यहाँ एउटा रसिलो, हँसिलो, गफाडी, चुट्कुलो कुराकानी छ, जसको नाम प्रबन्ध हो ।'
शब्दचातुर्य नै साहित्य हो भन्नेलाई म जवाफ दिन सक्तिनँ । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीका निमित्त लेख्तिनँ, लेख्तछु लेख्नका निम्ति र आफ्ना विचार भावहरूलाई सकभर सच्चा प्रकाशन गर्नका निमित्त प्राकृतिक तबरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत भावले मनुष्यको कला बिग्रन्छ । म नै तीन मासाको छैन; तीन तोलाको अलङ्कारले के भनूँ ! 'अलङ्कार चन्द्रोदय'का नियमानुसार कविता लेखी, सिंगारी-पटारी राम्रो बन्ने, सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरो निमित्त रद्दी लेखनदास हुन् । म मै जस्तो छु; अरू जस्तो छैनँ। मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन; प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्नँ, आएको कुरा आओस् । आफ्नो प्राकृतिक पोशाकमा कुराकानी गर्दा अप्राकृतिक भएर कुरा गर्नेभन्दा सोझो, सर्फा दिल मजाको हो । फरासिलोपनको मनुष्य नै जीवनले रुचाउला ।
प्रबन्ध पनि एक कला हो; तर बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ । मेरो मनमा कला छैन भने खालि तोडमरोड हो । भित्रैबाट संगति मिलाएर कलाको जादूगरी निक्लियो भने त्यसमा दिव्यता देखिन्छ । तर 'म लेख्छु' को भावले कृत्रिम बनोटबाट चमत्कार निकाल्न खोज्दा सचेत प्रयासको पग्लिंदोपना निक्लिहाल्छ ।
यहाँ म जीवनको टीकाकार बनेको छु। बर्णन होस्, वृत्तान्त होस् वा व्याख्यान, जतासुकै पनि म आफ्नो रंगमा आफ्नो ढंगले यो जीवनको घामछायाका अनुभवहरू चित्रण गर्दै सजीव मानव बोलचालमा पाठकसँग कुरा गर्दछु । आफ्नो सुख-दुःख, प्राप्ति-हानि, हार-विजय, आँसु-हाँसो, भाव-भावना, आदर्श सपना, दृश्य-दर्शन झिल्का-भिल्कीहरूका साथ मनोरञ्जन र आत्मप्रकाशन गर्न अग्रसर हुन्छु ।
भेरो श्रीगणेशाय नम: यत्तिकै हो । प्रबन्धको रूप, कला, ढंग, इतिहास, भविष्य इत्यादिमा आलोचना गर्न मलाई ज्यादै थकाइ लागिसक्यो । ओठ चलेपछि कुरा बुझिहालिन्छ भने विस्तृत व्याख्यानको के जरूरत ?
के नेपाल सानो छ ?
नेपाल !
सुन्दर, शान्त विशाल !
मैले आफैंले एक दिन लेखेथें, 'विशाल' को भावना कसरी आयो म भन्न सक्तिनँ ।
भूमण्डलका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैँ विश्व छ; दूर छ तर दूरताको दिव्य जादु । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।
हिरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठुलो भनेको के ? यो दुनियाँमा तारालाई ठुलो भनौं भने अनन्त आकाश जूनकिरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादुगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्– एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ : त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्यूजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लागछ ।
'धत्, नेपाली पनि पढनु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन् ।' भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ। मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीपन हेर्न मन लाग्छ । अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कंदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग 'को हो ! को हो !' को सौन्दर्य- संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । 'वाल्ज' सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने गाइनेको 'रानीवनैमा' सुन्न चाहन्छु। विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लबज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ; अप्राकृतिक नक्कलीपनमा रवाफ राख्न खोज्नाका प्रवृत्तिले हामी अरू स्कूले ठिठाको 'कम्ती छु' भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरू । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।
सानो, मिठो, शान्त, सुगन्धी, अनुपम–बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; सेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरूका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरू हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?
सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेसा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरूको मनोहर कलकले पवित्र शैशवावस्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धुवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालोजस्ता तरंङहरू खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादु नेपाली हृदय नेपाली आबहवाको र खानपीनका असरले गर्दा सच्चा आर्यभावहरूको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरूमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरेझैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरू सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरू खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?
म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादुका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीं मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादु भने नेपाली माटोको मूर्ति जो मै हुँ– जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो–यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुवप्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीं सब आबहवा पाइन्छन्, यहीं छन् बेबिलोनका ह्यांगिङ गार्डेन्स–झुलन बाग, यहीं छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंङर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीं दिनभरिभरि र मानव- आत्मा यहीं वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?
मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रंग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन, तसबीर भुइँजस्तो हुन्छ, जसबाट सच्चा तसबीर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रङ्ग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र सङ्गीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याएजस्तो मात्र छ, यहाँ हरएक पटमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई- तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरू छाया, घाम, सिमसिमे पानी र कुहिरो ।
जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल झैं हमेसा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरू राष्ट्रिय झन्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौं फूलहरूले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन् ?
मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजीक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरूका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरू फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरू पहाडको नजिक । दूधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्, बाघ पाल्ने वनका नजीक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरू व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीं, पहाडी अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा दगुर्दैछन् ।
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, 'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !' अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठुलो चिज केही हुँदैन; र उसले सम्झँदैन कि यो खालि विशालको एक अल्प खण्ड हो । 'पूर्णात् पूर्णमिदं' भने जस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुझ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।
जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम सङ्कुचित गुण हो भन्ने लेखकहरूले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर, ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी विश्वसिद्धान्ती लेखक र कविहरू भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरुपमा अनेक क्रियाहरूद्वारा आत्मप्रकाशन लिइरहेछन् । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरूका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरू हुन् खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरूद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु ।