Jump to content

Bhikari

From Nepali Proofreaders
Revision as of 21:28, 12 March 2025 by Rbn (talk | contribs)

भिखारी


लक्ष्मीप्रसाद देवकोटा

भिखारी
महाकवि लक्ष्मीप्रसाद देवकोटा

भिखारी
महाकवि लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक : साझा प्रकाशन

संस्करण : पहिलो २०१६
दोस्रो २०१९
तेस्रो २०२६
चौथो २०२९
पाँचौँ २०३५
छैटौँ २०३९
सातौँ २०४०
आठौँ २०४२
नवौँ २०४३
दसौँ २०४४
एघारौँ २०४५
बाह्रौँ २०४७
तेह्रौँ २०४८
चौधौँ २०४९
पन्ध्रौँ २०५१
सोह्रौँ २०५३
सत्रौँ २०५५
अठारौँ २०६०

(साझा प्रकाशनबाट सोह्रौँ पटक) १०००० प्रति

आवरणकला : टेकवीर मुखिया
मूल्य : रु २०।-
मुद्रक : साझा प्रकाशनको छापाखाना
पुलचोक, ललितपुर, फोन न ५५२१०२३
ISBN: 1888: 99933-2-284-9

प्रकाशकीय

महाकविका लोकप्रिय भैसकेका केही कविता जम्मा पारेर ने. भा. प्र. समितिले यो पुस्तक तयार पारेको हो । रसको यति धनी भएर पनि यसलाई 'भिखारी' किन भनियो होला भन्ने तर्क धेरैले गर्छन्‌ । हामीले पनि गर्यौं । जबाफ हामीले पायौं महाकविकै शब्दमा-



कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर, घर, आँगन चारी
बोल्दछ आर्तध्वनिमा बोल्दछ
करुणामृत दिल भारी
(पृ. ३)

'यात्री', 'चार', 'घाँसी', 'सन्ध्या', 'वन' जस्ता कविताहरू झोलीमा हालेर ल्याउने 'भिखारी' चानचुने छैन । यस्ता भिखारी त, हामी भन्छौं-


......भरी हुन्
नेपाली यौ गगनमनि
(पृ. ५२)

वि. सं. २०२६

कमल दीक्षित

भिखारी


हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश ।
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।


हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर ।
जीवनपथमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।


बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेका ।

हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेका
दिन दिनको त्यो छातीमाथि
चिरा चरक्क चिरेका ।


अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।।'


मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचन ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलाबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।


को होला यो, कसको छोरो ?
कसको बाबु गरीब ?

कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समिप ?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन दीप ?


बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो;
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।


कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेकाे
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।


युग-युगभरको आँसुहरूको
सार अपार उतारी

दु:खको दिलामा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करुणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनमा एक भिखारी ?

बादल


हामी सन्तति हौं अगाध जलका
ग्रीष्मर्तुको जन्म हो,
हाम्रो जन्म हुँदा महोत्सव थियो,
सारा उज्यालो सफा,
हाँस्थे सूर्य र छालमा उछलिंदा
टल्पल् गरी नाच्तथे,
टाढासम्म हावा निमन्त्रित थिए,
चल्थे बडा तेजले ।


हाम्रो व्योमविहारको मन थियो,
ऊँचा थियो कामना,
हामी सुस्त चढ्यौं सफा किरणका
साना मसीना सिंढी ।
माथी-माथि चढ्यौं मिल्यौं र फिंजियौं
आकाशको क्षेत्रमा
बोकी चल्छ हवा डुलाउन जगत्
डाँडा, पुरी, जङ्गल ।

हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
डाँडा र मैदानको
खाल्डा, खोंच हिमालका र वनका
नङ्गा र उद्यानका ।
नाला निर्मल नागबेलि जलका
ती निर्झरी, झाडिका
झुत्रा झोपडिका सफा सदनका
प्रासादका, वीथिका ।

तिनको घँसिया गीत


मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख ।
निर्मल गाढा नीर गगनका
टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
बादल-पर्दा चित्राकार ।
एक अकेली, नयन-उज्याली,
बदन हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन
चुम्वित, सरस, सुभाल ।
चाल स्वतन्त्र अकेलापनको
खुला उज्यालो बेयाद
फुल्दो यौवन हाँसिरहेको
पूर्णकलामा, यस्तो चाँद ।
छमछम चुरीहरू क्रीडा गर्छन्,
चमचम हँसिया चल्छ छरीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत।


जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात ।
काटिरहिछिन् लाल फुलेका
रसिला बादल हँसिला चाँद
गाइरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद ।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार ।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली ।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत ।


सम्झँदामा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन् ।

प्रकृति उही रङ्ग लिन्छिन् फेरि
युवती बस्छिन् काटी घाँस
फुल्दछ उनको शिरमा फेरि
घुँघर बीचमा लाल गुराँस
यौवन जलको मधुर छचल्कन
लाग्छ मलाई पारावार
एक धुलाको कण झैं पस्तछु,
असीमताको सुन्दर द्वार ।
प्रकृति घुसेको हृदय कँपाउँछ
सुन्दरताको कुसुम-अधर
आकाङ्‌क्षाको उड्दछ गाना,
पुग्न उज्यालो कान्ति-शहर।
बोल्दछ काल मनोहर बोली
घाँस छुँदामा चीत
सुन्दरीजलमा, शीतल थलमा
उठ्दछ जब त्यो घँसिया गीत।

माली

बिनी बिनी बीउ बारी सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु

बिरुवा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।

उजाड भर्दछु रङ्ग वैभवले,
पल्लव कलिले सौरभ नवले

कल्पनाको बाग;
भावनाका मसिना रवले
भर्दछु मीठो राग
सज्दछु अनुभव-रजनी-लवले
गर्दछु आह्लाद-पराग ।

काँढामाथि सिहरी चल्छन्‌
आँसुहरूका रसले फुल्छन्‌
दिव्य हाँसी कविता-फूल,

हृदय घटाका जलले खुल्छन्‌
अधर हजार मृदुल;
कल्पनाको वनमा फुल्छन्‌
वेदनाको विस्तृत मूल ।

घाम र छायाहरूका सार
दिव्य कलाका श्रृङ्गार

जीवनका बोल,
सुन्दरताका हार
अश्रुविन्दु झैं गोल,
बस पथिक ! लेऊ उपहार
नचुँड नजानी मोल ।

सन्ध्या

ललित चढ्यो अब लाली ।
अस्ताचलतिर सन्ध्या ओर्लिन्‌
हलुका पयर उचाली,
रजत दिवाकर उनका करमा
बने सुनौला थाली ।
स्वर्गपुरीको सुन्दर द्वार
दिव्य कलाको चित्राकार,
सुस्त खुलीकन साँझ-परी अब
ओर्लिन्‌ अमिता उज्याली ।
वदन गुलाबी, सुनको रोगन,
बादल-चादर फैलाईकन,
छोई पदले छवि-सोपान;
पृथिवीउपर नजर लगाई,
गर्छिन्‌ मोहन मृदु मुस्कान
अहा ! चराका गद्‌गद तान
अहा ! प्रभाले पागल दिनको
पश्चिमतर्फ उडान !

जगत्‌ उङायो रङले सुन्दर
धप्के गिरिवर, चम्क्यो अम्बर
लहरी बहरी हरियाली भो,
कोमलतर भो पावन लहर ।

राख्छन्‌ प्रेमी शान्त सरोवर,
वक्षस्थलमा मूर्ति मनोहर,
कविको निर्मल हृदयउपरमा
प्रतिबिम्बित झैं शान्त सुन्दर ।

सपना देख्तछ सब संसार
सुन्दरताको देश अपार,
हृदय उचालिई फैलिई, पुग्दछ
असीम जगत्‌को सीमा पार !

सभ्यताको बालापनमा
सुन्तरताको अन्वेषणमा,
दिन दिन दर्शन जीवन-पथमा
दिन्छिन्‌ सन्ध्या हाँसी जनमा
दिन दिन पाई मुसकान,
दिन दिन गर्दै मदिरा पान,

दिन दिन पोखी हृदय त्यसैमा
पायो मानिसले उत्थान
सुन्दरताको राम्रो व्यञ्जन,
हृदय-लताको पोषक, रञ्जन,
फुल्छन्‌ यसकै रसमा सारा
भावहरूका कोमल फूल
यसकै भित्र छ फैलिरहेको
जीवनको सब अन्तर मूल ।
हामी सपना देखिरहेछौं,
सुन्दर झल्का पाइरहेछौं,
प्रकृति मुमाको काख ।
सन्ध्या आइन्‌ मृदु मुस्काइन्‌
जीवनउपर उज्यालो छाइन्‌,
सुन्दर भाव उठाइन्‌ लाख !

सम्झना

जब पृथिवीमा बादल आउँछ
जीवनमाथि विषाद
जब बर्षन्छन् आँसु झरी
उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
सम्झनु औंसी रात
 
चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधार
जीवन, बन्दछ धिक्कार, सफल बलौटो पार ।
गर्छु बिरानो निष्ठुरी संसार-जङ्गलभित्र पुकार
जब जिउन नै बन्दछ बोझा, मनमा हाहाकार ।
तब सम्झन्छु आँसु अडाई पलकविषे तिमीलाई
 
सम्झनामा खिल्दछ उपवन
रङ्ग र रस पाई ।

हराभरा भै उठ्छ बलौटो
खेल्दछ शीतल जल
गाउँछ कोकिल मनमा ल्याउँछ
एक वसन्त मृदुल ।
तिम्रो श्वास सुवास भरी
चल्दछ मलय-लहर
सम्झनामा सुतिरहेका
उठ्छन् तिम्रा मधुर स्वर ।

यात्री

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा,
मांस पिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरूका द्वार ।
नसा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।

चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ,
बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा

दर्शन किन्तु कहीं दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?

फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।

वन

आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच ।
खोजी खोजी कतै नपाई मेरो मनका चीज ॥
टुटेफुटेका आशामाथि नयन दुःखका नीर ।
कहाँ कहाँको कता कताको मेरो मनको पीर ॥
लालसाले मोहनीको रूप गरी धारण ।
बोली गहना झल्काई, रुन्छौ तिमी कुन कारण ?
विलासको यो महल मनोहर, हुन्छु म तिम्री रानी।'
मैले बोलेँ, 'हुन्छ सबै यो भोलि धुलो र खरानी ॥'
कुबेर बोले, 'नोकरी लेऊ दिन्छु म दौलत अनगिन्ती ।
मेरा सेवक हेर उज्याला, सेज सुनौला झुल्छन्‌ ती ॥'
मैले बोलेँ, 'धनका मालिक ! सम्झन्छु धनको मोल ।
अन्तस्करणको स्वतन्त्रता यो तर छ आहा ! अनमोल ॥'
ताज सुनौलो माथ लगाई यश आई फुसलायो ।
'मेरो पछि पछि आऊ भाइ, मौका सुन्दर आयो ॥
छाँटकाँटमा मिलिकन आऊ परिचित गर्छु तिमीलाई ।'
मैले बोलें, 'चिथरा लाउँछु, टेक्दछु सत्य म भाइ ॥'

शक्ति प्रियाले आई बोलिन्‌, 'दिन्छु म मिठो मेवा ।'
मैले बोलें, 'मेरो अमृत मानिसहरूको सेवा ॥'
योगी बोले, 'चढाऊ समाधि खुल्छ तिमीकन स्वर्गद्वार ।'
मैले बोलें, 'हेर्नु छ मैले भाइहरूको घरबार ॥'
बोले इन्द्र, 'छ सुरपुर सुन्दर झिलिमिलि मेरो दरबार ।'
मैले बोलें, 'बाल्नु छ बत्ती अझ छ अँध्यारो संसार ॥'
दुःखले बोल्यो, 'काँढा बिझ्ला ।' मैले बोलें, 'फुल्ला फूल ।'
शङ्का बोली, 'फूल नफुल्ला !' मैले बोलें, 'स्वस्थ छ मूल ॥'
जीवन बोल्यो, 'समर छ भीषण' मैले बोलें, 'गद्‌गद वीर ।'
कठिनाइले बोली, 'पहाड छ' बोलें, 'छुन्छु कि स्वर्गै शीर ॥'
धर्म बोले, 'कुन मन्दिरमा पूजा गछौं ? आऊ ।'
मैले बोलें, 'वीरहरूको बलिदान भएको ठाउँ ॥'
सहानुभूतिले सकरुण बोलिन्‌, 'तब किन रुन्छौ भाइ ?'
मैले बोलें, 'समय छ छोटो सेवा गर्न मलाई ॥'
'दोस्त कहाँ छन्‌ ? साथ छ को को ? घर हो तिम्रो कुन देश ?
जान्छौ कुन पुर भवन मुसाफिर, ल्यायौ कुन सन्देश ?'
'दोस्त मेरो शुभ उद्योगी, साथ छ साहस बेश ।
विश्व सबै घर, हृदय-पुरीतिर ल्याउँछु सेवा सन्देश ॥'

प्रश्नोत्तर[1]


'के हो अहो! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख भनी त्यो सुख त्यो कहाँ छ ?'
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।'


'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'


'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'


'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।'

आफ्नो घर


विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन॥


उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥


जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ॥


फुलून् फुल मिठा मिठा, हृदय-वागमा सुन्दर,
सहर्ष बसि हेरने नचिनि नाम यौटा तर ।
हिलून् मृदुल पालुवा शिसु-समान सौन्दर्यका,
म देखुँ रङ खूब यो हृदयकै घुमी वाटिका ।


मलाइ जति चाहिने सफल हुन् त्यहीं सुन्दर
म ध्यानसरि भक्तको, प्रकृति हुन् ठुलो मन्दिर ।
प्रभात हिम-शैलको धवल काँधमा मिर्मिर
म माग्छु दिलभित्रका चिनि टहल्न आफ्नै घर ॥

जीवन वन


जादूगर्नी छ माया, उसपछि वनमा लोभिएको शिकारी
बिर्सी माता पिता नै, घर, स्वजन, सबै राज्य छाडेर भारी ।
भुल्छौं हामी अनेकौं झिलिमिलिहरुमा, मोह प्याला लिएर
आई आँधी सबै त्यो उडिकन चलदामा पशू झैं भएर ॥


प्यालामा गुम्छ सारा भुलि अरतिहरू, बिर्सिहाल्छौं स्वदेश
सामग्रीमा विलासी घुमि घुमि रहँदा जान्छ सच्चाइ, होश ।
आफ्नो देखी अवस्था पछि पछि पछुतो लागि रोएर हिंड्छौं
आफू रोकेर बस्ने जति, पथ मिलदा स्वर्गको तर्फ बढ्छौं ॥


हाम्रो हो स्वर्ग राम्रो घर, जन त्यसमा देवता छन् उज्याला,
बाबा हुन् ब्रह्म हाम्रा, सकल सुख त्यही कल्पना झैं रसीला ।
उन्को कानून माने अचल सुख तथा शान्तिको राज्य मिल्छ
जे जे भित्रै चितायो उहि-उहि छिनमा जिन्दगीभित्र फल्छ ॥


काँढा कुल्चे फूल फुलदछन्, आँसु नै मोति हुन्छन्
घाऊ लागे सुख बनदछन्, रोदनै हास्य बन्छन् ।
दारिद्रयैलै ढुकुटि भरने, क्लेश बन्ने विलास
धर्मैको हो पथ पथिक हो ! धर्म हो एक आस ॥

बालककाल


आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं
लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं ।
हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण
हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥


तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन ।
ढुङ्गाका टुकडा ठुला धन हुने, झाडी हरीया घर
त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥


यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु
सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु ।
अर्काका दुखदेखि आँसु नखिची आफैं बही आउनु
सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥


हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी !
खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी ।
बाँधिन्छन्‌ सब पङ्ख जानु उड लौ छुट्टी दिएँ आज ता
फोस्रा छन्‌ यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥


तिम्रो हृद्‌ध्वनिको पछी-पछि चलूँ, संसार हेरी डुल
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल।

आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा
हाम्रो छैन बखत्‌, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥


हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्‌
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन्‌ ।
हाम्रा छन्‌ पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन्‌ मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥


नारा रोदनका, तरङ्ग मनमा छन्‌ भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥


हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥


हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून्‌ बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥

वृक्ष



यौटा वृक्ष ठूलो खडा छ मअगी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा ।
मेरा धेर उमङ्गभिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ॥


ओभाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग ।
भित्रै-भित्र विना कुनै शबदले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा ॥


यस्मा जीव छ; कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी ।
नाच्दी छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ॥


टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा ॥


माटोभित्र जरा छ, जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ फुल्दछन् फूलहरू, छन् भाव झैं सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ॥


केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन् फुल्छ कला विचित्र फुलमा, मानीसको भावना ॥


यस्का पात विचार झैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।

चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भिन्न अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।


यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रूप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्ना ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ॥


यौटा बीज थियो, थियो रुख त्यहीं अव्यक्त आकारमा
लाखौं पात बनौट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रूप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ॥

१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरी पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरू ।
नाच्छिन् यो पृथिवी, शशी र रविको फेरी उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ॥

गरीब


गरीब भन्छौ ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि ।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम ॥


प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी ।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण ॥


निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ ॥
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा ॥


छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास ॥

छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची ।


जगत् छ मेरो घरबार सुन्दर
आकाश नीलो छ तले मनोहर ।
छन् रत्न सारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर ॥


प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
र मेघ आईकन दङ्ग पर्दछन् ।
छ नृत्य राम्रो ऋतुको समागम
दृश्यादि पर्दा दिन-रातको क्रम ॥


परीसरी फूल हिली झुलीकन
टप्काउँछन् सुन्दर मोतिका कण ।
हजार गाना रसिलो निरूपम
सुनाउँछन् पत्रविषे विहङ्गम ।


छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम ।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर ॥


आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
अनन्त आकाश निलो शिरोपरि।

१०
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा ।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन् ॥

११
प्रभात, सन्ध्या यसलाइ सुन्दर
पहाड, यी खेत बडा मनोहर ।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा ॥

१२
विमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन ॥

१३
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण ॥

पैह्रेर आभूषण, झल्किईकन
गुलाब चल्छन् अलि ढल्किईकन ॥

१४
उद्यान मेरो भरमा परीहरू
गुलाब मीठो, फुल नामका अरू ।
सुगन्धले मग्मग वस्त्र सुन्दर
रङ्गीनले शोभित छन् भरीभर ॥

१५
निद्रा सुसारे छ अपूर्व सुन्दरी
जादू छ उस्को सपना मिठो सरी ।
संसार बिर्सन्छु म अङ्कमालमा
भाग्छे बिहानै लजिली मनोरमा ॥

१६
छ साथ मेरो दिन-रात ईश्वर
ममा यहाँ छैन कतै, कुनै डर ।
संसार यस्तो रसिलो विषे अहो !
मलाइ राख्ने अति धन्य धन्य हो ॥

किसान


टाढा कुनातिर कतै रमणीय ठाउँ
जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
सौन्दर्य आउँछ बिचित्र, पवित्र चारु ॥


बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
बस्छन्‌ त्यहाँ प्रकृतिका शिशुतुल्य चार
हेरेर भीर भर सुन्दरता अपार ॥


चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
बारीभरी छ हरिया, कलिलो पलाई
देखेर छाति भरिने सुख भो मलाई ॥


न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन्‌ गाँसगाँस कति स्वाद किसानलाई ॥


त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन्‌ छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥


सोझो सफा सडक जीवनको सुनौला
छन्‌ काममा रत सधैं दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥


आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंड्दछ काँध हाली ।
हेरी उषाकन पहाड गजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥


सन्ध्या ठुला शिखर पश्चिमका सुहाई
स्वर्गीय-कान्ति अति सुन्दर, शान्ति छाई ।
बालेर बादल भुवा मुसकाउँदामा
फर्कन्छ त्यो घर भुलीकन लालिमामा ॥


नीला सफा गगनमा जब चन्द्र आई
त्यो कौमुदी विमलमा जगतै डुबाई ।
हेर्छन्‌ प्रसन्न मुखले पृथिवी प्रियामा
बस्छन्‌ अपार सुखले सब ती खुलामा ॥

१०
त्यो झोपडीसँग अनी जुन मिल्न जाँदा
देखिन्छ स्वर्गबिच बास अलग्ग साधा ।
सीधापनासँग महत्त्व मिली बनेको
छिर्का परी रुखमनी सुषमा भरेको ॥

११
फुल्दा यताउति सुवास दिने चमेली,
बेली, गुलाब, हसिना जुनसाध खेली ।
ताजा दुबो अति मुलायममा बसेर
बोल्छन्‌ जहान सब शान्त किसाननेर ॥

१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥

१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्वलन गद्‌गद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥

१४
वेदान्त, वेद उसका सब काम गर्नु
उस्का विलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन्‌ सधैं प्रकृतिले उसमा प्रभाव ॥

१५
छन्‌ दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन्‌ प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुस्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?

चारु


तिन्को भयो जनम सुन्दर झोपडीमा
छुन्‌ फूल ती सुनहला जलका छुरीमा ।
खोला किनार जलको कलिलो बहाइ
हेरी बढिन्‌ सरस यौवनको उचाइ ॥


छुट्टा छ ठाउँ नजिकै छ पहाड नङ्गा
छुन्थिन्‌ दबेर जसमा यिनि सानु गङ्गा ।
ढुङ्गा ठुला र अति सुन्दर, स्वच्छ साना
तिन्का सँगीहरु थिए र अखण्ड गाना ॥


घुम्थिन्‌ छिनै चउरमा, यहि कुञ्ज कुञ्ज
टिप्थिन्‌ यिनै कुसुम सुन्दर पुञ्ज पुञ्ज ।
यो दृश्यमा तिनि थिइन्‌ यसलाइ भर्थिन्‌
पन्छी थिइन्‌ जमिनको सब रम्य गर्थिन्‌ ॥


यो ठाउँमा सब मनोहर कान्तिबाट
बढ्थिन्‌ तिनी दिनदिनै घुमि शैल-फाँट ।
तिन्को स्वभाव जुनले, जलले, प्रभाले
बढ्थ्यो निलो गगनले, खुशले खुलाले ॥


राम्री थिइन्‌ अधिक सुन्दर भै नचर्की
राम्री भइन्‌ मधुर, मोति हुने सहर्की ।
यौटा किसान घरको सुकुमारि फूल
यौटै भएर रसिली हँसिली अमोल ॥


तिन्का ठुला नजर ती, जलमा प्रकाश
त्यो पद्म झैँ मुख र कोमल चन्द्रहास ।
त्यो शुद्ध पैरन तथा हलुका उज्यालो
जाला त्यसै कसरि त्यो मनको उज्यालो ॥


छैनन्‌ तिनी अब यहाँ अरु ठाउँमा छन्‌
उस्पारमा कुन कुना सुर गाउँमा छन्‌ ।
जो देखिँदैन उहि सम्झनुको विषाद
आनन्द बन्दछ मिठो यसको प्रसाद ॥


यी यादका विमल आँसु उडेर जाँदा
देखिन्न के झलक सुन्दर ज्योति सादा ।
यो एकलोपनविषे यस ठाउँभित्र
आनन्द छैन कुन आँसुविषे पवित्र ॥


भित्रै बस्यो सफल प्रेम फुटेन बोली
त्यो कोपिला न त खुल्यो अति छाति खोली ।
आँखा र लालबिच प्रेम त्यसै झुलाई
के दैवले पर लग्यो शिव ! चारुलाई ?

१०
एकान्तमा दिन बिदा जब लिन्छ लाल
आएर शैल शिरमा दुइ हात भाल ।
सम्झन्छु बोलिबिच छाति अटाउँदैन
आँसूसिवाय रसिलो अरु आउँदैन ॥

वसन्त


आयो वसन्त अब, जादु अनन्त फैल्यो
सौन्दर्यको मृदुल मोहनि नै पलायो ।
फुल्नू पलाउनु छ खालि समीर चल्छ
आनन्दको लहरतुल्य सुवास छर्दै ॥


बैंसालु बाग हरियो, दिइ रङ्ग नाना
पाएर जागृति नवीन, फुलेर हाँस्यो ।
बोल्यो वसन्त अब कोकिलमा सुरीलो
मीठो रहस्य वनको दुइ शब्दभित्र ॥


क्या चारु शीतल प्रवाह हिलाइ चल्छ
हाँगा, जहाँ गई भँगेरि फुरुक्क पर्छे ।
क्या लालि लोचन-विलोचन त्यो गुलाबी
हेर्छ जहाँ पुतलि दिव्य कला फुलेको ॥


बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पट्‌ठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥


हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!


पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछन्‌ हिउँमा लुकेर ॥

जीवन

बिउँझी रोदनमा कलिलो
मधुरो उषाको मोहनीमा ।
बैंस-वसन्त विहार सपना
कुसुमाकरको ध्वनिमा ॥
 
प्रेम चकोर, जुनेली जादू,
शराब नशामा, चमक नजरमा ।
सुन्दरमा सब, विशाल विलासी
सुखमा, कोमल स्पन्दनमा ॥
 
नव नव झल्का, देश बिराना
अभिलाषाका उच्च उडान ।
औपन्यासिक रङ्ग र लहरी
हलुका मुटुको हलुका गान ॥
 
कर्म-क्षेत्रको जोश नवीन
वस्तुहरूको जोख र तौल ।
पयर दुवैका भरमा निर्भर
चौडा जगत स्वतन्त्र मोल ॥

रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग बढेका
नहुँदो शिरमा तर्क अघोर ॥
 
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।
फुल्दो शिरमा हिउँद, तुषारो
थिचीरहेको जगव्यवहार ॥
 
बढ्दो चेत अकेलापनको
बिर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, बिराना आवाज ॥
 
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन ।

अन्त्यमा


पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ॥
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ॥


साँझको त्यो अन्तिम घण्टा मन्द बजाओस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ॥
सुन्दर दिव्य यो रङ्गभूमिको एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ॥


अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ॥
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ॥

जिन्दगीको मौसम

जिन्दगीको मौसम रहँदै
खन खन दिलको खेत ।
बाँझो नरहोस् पानी पर्दै
चेतनजल शुद्ध, सफेद ॥
अनन्त ठूलो सागरबाट
घुमि-घुमि मौसम आयो ।
खूर फुल्दछ दिलको माटो
वर्षाले गान सुनायो ॥
इन्द्रिय गोरु शरीर हलोमा
बाँधी-बाँधी खन खन खेत ।
बीउ छन् जगमा कर्म हजारौं
रोप, फुलाऊ लह लह खेत ॥
जिन्दगीको मौसम रहँदै
खन खन, रोप फुलाऊ ।
पर्खन्न कसैकन काल निठुरी
हाय ! यसै ननिदाऊ ॥
रोप रोप यी बीउ सब अहिले
अन्न फलोस् पछिलाई ।
नरुनु पछाडि, आउँछ जहिले
हिउँद कडा तिमीलाई ॥

झरना

पहाडको शिखरबाट
देखें झरेको जल ।
मेरो मनमा बत्ती बले
हजारौँ झलमल ॥
त्यो पानीको झरनामा
शक्ति कति छ लुकेको ।
देख्न सके कति त्यसमा
बत्ती बिजुली बलेको ॥
तर हाय त्यसै नै पग्ली
पानी व्यर्थ बहन्छ ।
तत्त्व हामि जान्दैनौं
भित्र भित्रै रहन्छ ॥
के हामी मानिसका
हृदयका गिरिमा ।
छैनन् यस्तै अटूट
निर्मल जलका झरना ?
हामीभित्र भए यदि यस्ता
सुन्दर झरना हजार ।
हाय छ कस्तो अपशोच !
अझ छ अँध्यारो संसार !

घाँसी

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ॥
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ॥
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ॥
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ॥

बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ॥'
चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ॥
'ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ॥
रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।
बाहुननानी ! यही मन आयो
भेटी यही भो हरिको नाम ॥'
चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ॥
लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
'अहो' मसीनो ध्वनिको भन्थ्यो
'यो घाँसीको जीवन हाल ॥'

बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ॥
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ॥
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के ।
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ॥
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ॥
अमृत पिए सब भाइ
डाँडाकाँडा गुञ्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ॥
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ॥

शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ॥
भाषाको यो शैशव सुन्दर
तोते बोली मधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ॥
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ॥
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?

महाकवि देवकोटाका केही कृतिहरू

उपन्यास

चम्पा

कथा/कहानी

लक्ष्मी कथासङ्ग्रह

कविता/खण्डकाव्य

कुञ्जिनी कृषिबाला
गाइने गीत दुष्यन्त-शकुन्तला भेट
पुतली
महाकवि देवकोटाका कविता (डा. कुमारबहादुर जोशीद्वारा सम्पादित)
मुनामदन राजकुमार प्रभाकर
रावण-जटायु युद्ध लक्ष्मी गीतिसङ्ग्रह
लक्ष्मी कवितासङ्ग्रह (डा. चूडामणि बन्धुद्वारा सम्पादित)
लूनी सीताहरण
सुनको बिहान ह्मेन्दु

महाकाव्य

पृथ्वीराज चौहान वनकुसुम
शाकुन्तल सुलोचना

नाटक /एकाङ्की

सावित्री-सत्यवान

निबन्ध

दाडिमको रूखनेर (राजेन्द्र सुवेदीद्वारा सम्पादित)
प्रसिद्ध प्रबन्धसङ्ग्र लक्ष्मी निबन्धसङ्ग्रह

समालोचना

स्रष्टा देवकोटा :द्रष्टा परिवेशमा (राजेन्द्र सुवेदीद्वारा सम्पादित)

मुद्रक : साझा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन ५५२१०२३

  1. यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।