Bhikari/sandhya
ललित चढ्यो अब लाली ।
अस्ताचलतिर सन्ध्या ओर्लिन्
हलुका पयर उचाली,
रजत दिवाकर उनका करमा
बने सुनौला थाली ।
स्वर्गपुरीको सुन्दर द्वार
दिव्य कलाको चित्राकार,
सुस्त खुलीकन साँझ-परी अब
ओर्लिन् अमिता उज्याली ।
वदन गुलाबी, सुनको रोगन,
बादल-चादर फैलाईकन,
छोई पदले छवि-सोपान;
पृथिवीउपर नजर लगाई,
गर्छिन् मोहन मृदु मुस्कान
अहा ! चराका गद्गद तान
अहा ! प्रभाले पागल दिनको
पश्चिमतर्फ उडान !
जगत् उङायो रङले सुन्दर
धप्के गिरिवर, चम्क्यो अम्बर
लहरी बहरी हरियाली भो,
कोमलतर भो पावन लहर ।
राख्छन् प्रेमी शान्त सरोवर,
वक्षस्थलमा मूर्ति मनोहर,
कविको निर्मल हृदयउपरमा
प्रतिबिम्बित झैं शान्त सुन्दर ।
सपना देख्तछ सब संसार
सुन्दरताको देश अपार,
हृदय उचालिई फैलिई, पुग्दछ
असीम जगत्को सीमा पार !
सभ्यताको बालापनमा
सुन्तरताको अन्वेषणमा,
दिन दिन दर्शन जीवन-पथमा
दिन्छिन् सन्ध्या हाँसी जनमा
दिन दिन पाई मुसकान,
दिन दिन गर्दै मदिरा पान,
दिन दिन पोखी हृदय त्यसैमा
पायो मानिसले उत्थान
सुन्दरताको राम्रो व्यञ्जन,
हृदय-लताको पोषक, रञ्जन,
फुल्छन् यसकै रसमा सारा
भावहरूका कोमल फूल
यसकै भित्र छ फैलिरहेको
जीवनको सब अन्तर मूल ।
हामी सपना देखिरहेछौं,
सुन्दर झल्का पाइरहेछौं,
प्रकृति मुमाको काख ।
सन्ध्या आइन् मृदु मुस्काइन्
जीवनउपर उज्यालो छाइन्,
सुन्दर भाव उठाइन् लाख !