Bhikari/yatri
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा,
मांस पिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना,
इन्द्रियहरूका द्वार ।
नसा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।
चेतनको यो ज्योति हिरण्मय,
उसको शिरको ताज !
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ ? हृदय लगाऊ,
बत्ति बाली तेज प्रचुर ?
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिंड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।