Bhikari/baalakkaal
१
आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं
लीला दिव्य अजान खेलि दगुरी वैचित्र्यमा रम्दछौं ।
हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण
हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥
२
तोरीका फुल-बीचमा पुतलिका रङ्गीन आकर्षण
सेता बादलका ठुला तहहरू आनन्द आँखाकन ।
ढुङ्गाका टुकडा ठुला धन हुने, झाडी हरीया घर
त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥
३
यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु
सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु ।
अर्काका दुखदेखि आँसु नखिची आफैं बही आउनु
सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥
४
हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी !
खोली पुस्तक बस्तछ्यौं यति घडी खाली करैले गरी ।
बाँधिन्छन् सब पङ्ख जानु उड लौ छुट्टी दिएँ आज ता
फोस्रा छन् यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥
५
तिम्रो हृद्ध्वनिको पछी-पछि चलूँ, संसार हेरी डुल
आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल।
आफ्नो रङ्ग भरेर हेर दुनियाँ वैचित्र्यको रूपमा
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धूपमा ॥
६
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्
जस्लाई तिमि राख्तछ्यौ पटुकिमा तिम्रा ठुला अर्थ छन् ।
हाम्रा छन् पुतली सिँगार्न कपडा व्यापारका झेलमा
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥
७
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥
८
हामी छौं सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
बुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥
९
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥