Jump to content

Bhikari/bhikari

From Nepali Proofreaders
भिखारी


हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दु:खको मौन प्रकाश ।
झीना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।


हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर ।
जीवनपथमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।


बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेका ।

हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेका
दिन दिनको त्यो छातीमाथि
चिरा चरक्क चिरेका ।


अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।।'


मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचन ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलाबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।


को होला यो, कसको छोरो ?
कसको बाबु गरीब ?

कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समिप ?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन दीप ?


बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो;
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।


कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेकाे
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।


युग-युगभरको आँसुहरूको
सार अपार उतारी

दु:खको दिलामा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करुणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनमा एक भिखारी ?