Jump to content

Bhikari/ghasi

From Nepali Proofreaders
घाँसी

सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ॥
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ॥
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ॥
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ॥

बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ॥'
चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ॥
'ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ॥
रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।
बाहुननानी ! यही मन आयो
भेटी यही भो हरिको नाम ॥'
चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ॥
लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
'अहो' मसीनो ध्वनिको भन्थ्यो
'यो घाँसीको जीवन हाल ॥'

बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ॥
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ॥
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के ।
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ॥
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ॥
अमृत पिए सब भाइ
डाँडाकाँडा गुञ्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ॥
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ॥

शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ॥
भाषाको यो शैशव सुन्दर
तोते बोली मधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ॥
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ॥
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?