छ उड्ने पङ्खी त्यो लसित कठपाउ स्वपदमा ।
उडी आए सारा अघी सुरहरूका दलअघि ॥
प्रसन्नाकारी छन् नृपवर त्यहाँ देख्न रथमा ।
समाई भन्छन् ती रथ स्वकरले व्योमपथमा ॥
(५३)
"खुशी लाग्यो सार्है हृदय अति गद्गद् हुन गयो ।
सवारी होलामै समरजय यो निर्भर थियो ॥
समस्या यो हाम्रो अमरपुरमा एक विकट ।
छ 'श्रद्धा वा सत्य प्रबल कुनचाहीं अकपट ?'
(५४)
यहाँ काला काला असुर बलिया अर्मठजुँघे ।
भए हाम्रा त्रास सुरपुरनजीकै पनि पुगे ॥
थिए शुक्राचार्य स्वतप-कृत-संसार-विजयी ।
महाविज्ञानी ती असुरगुरु ज्ञानी अतिशयी ॥
(५५)
सबै छान्दै छान्दै प्रकृतिनियमा कोषरचना ।
लिई ताना भन्छन् असुरहरुमा आज सपना ॥
सबै तिम्रो पुग्ला सुरहरु हराई सहज नै ।
जिती ल्यौला स्वर्गै दमन नहुने ली मगज नै ॥
(५६)
म आत्मा मेरो यो अणु अणु लगाई प्रभुजिमा ।
तपस्या गर्नेछू प्रकृतिकन जित्ने सहजमा ॥
जगत्का स्वामीले असुरहरुको विन्ति सुनिने ।
त्यसै छल्लान् काहाँ नियमहरुको विश्व छ भने ॥"
(५७)
भनी यस्ता वाणी असुरगुरु लागे तलतिर ।
गराई स्वर्गैका सुरहरु समस्तै थरहर ॥
यता विज्ञानी ती असुरहरु लाखौं थरिथरि ।
बनाई शास्त्रास्त्र प्रकृतिविजयी छन् घरि घरि ॥
(५८)
Page:Shakuntala.pdf/335
Appearance
This page has been proofread
