तपस्वीले यस्ता नव नव कुरामा यदि अब ।
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥
डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी ।
डराएका द्यौता खलबल थिए के गरुँ भनी ॥
(५९)
यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी ।
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि ।
नछन् प्यारा मेरा नृपवर सखा झैं कुन भनी ॥
(६०)
"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित ।
दुवैतर्फी तेजी प्रबल नृप झैं कल्करहित ॥
अरू कोही छैनन् मकन पनि थाहा यति थियो ।
सवारी भो राजा अब सकल चिन्ता पनि गयो ॥"
(६१)
भनी बज्री थप्छन् "असुरगुरु झैं एक मनको ।
तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥
उनैले जित्नेछन् सकल सुरलाई सहजले ।
भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥
(६२)
कसो गर्ने भन्दा नृपवर सवारी हुन गयो ।
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नृपको ॥"
भनी बोली बज्री अब रथ पसे पार्श्व नृपको ।
बसे राजा साह्रै खुश हुन गए साथ उनको ॥
(६३)
भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि ।
पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती ।
जरूरै हार्नेछन् पछि तर, नटिक्छन् सुरपते ॥
(६४)
Page:Shakuntala.pdf/336
Appearance
This page has been proofread
