ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबुझ्दा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन् ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
(४८)
सारा आईरहेछन् घन निविड बनी गर्जिई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)
हेरीबक्स्योस् उता ती गगनपथ झरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
(५०)
झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥
(५२)
Page:Shakuntala.pdf/334
Appearance
This page has been proofread
