यस्तै तर्कवितर्कसाथ नृपले सोच्दै थिए त्यो दिन ।
गड् गड् गड् घनघोष भो गहिरियो छाया भयो वर्षण ॥
झिल्की झल्ल झिलिल्ल शीघ्र बिजुली कम्ती उज्यालो हुँदा ।
द्यौता राक्षसका लडाइँसरि भो आकाशमा घन्कन ॥
(४७)
झिल्की झल्ल झिलिल्ल फेरि बिजुली, के देखियो त्यो तर ।
पूर्वी व्योम चिरेर झर्दछ छिटो क्यै रूप सानो पर !
मानो चीलसमान पङ्ख दुइटा पार्दो घुमी फर्फर ।
कालो छैन तथापि झल्ल झिलझिल् चम्किन्छ ओर्लीकन ॥
(४८)
"आए इन्द्र कि आज ! ती युवति हुन् के मेनकाकी सुता ।
गाली गर्न मलाइ दुष्टदिलको भन्दै नुहाईकन ?
झक्नैपर्दछ माथ पापहरुको, सन्देश केही तर ।
मिल्ला आज अवश्य ती युवतिको होलिन् कतै ती पर !"
(४९)
भन्दै मातलि आउँछन् अवनिमा छाया नझारीकन ।
छायाले पकाडिन्छ मर्त्य पृथिवीमा हुन्छ द्यौताकन ॥
अर्कै रूप प्रकाशाको, नखँदिलो खोक्रो नमीठो छवि ।
छप्के झैं अनलाभ उज्ज्वल सदा माटोविनाको तनु ॥
(५०)
जोडी हात सुदीर्घ केश हँसिला ठाडा उज्याला शिर ।
बल्दो दिव्य ललाट, लोचन बडा राम्रा मिलेका तनु ॥
बोले झैं मृदुतारले सुर मिली त्यो वीन शारीरिक ।
बोले, ध्यान खिचेर सुन्न रसिला शब्दादिमा वेधक ॥
(५१)
"राजा भूभार हर्ने अवनिपति प्रभो ! इन्द्रका दिव्य स्वामी ।
आकाशैसम्म चढ्ने हुकुम नजरको राज्यमा दुःख छैन ॥
जो ओर्ली सत् असत्को विवरणसँगमा न्यायदाता बनेर ।
राखीबक्स्यो उचाली अवनि विनति यो नाथको पाउनेर ॥
(५२)
Page:Shakuntala.pdf/324
Appearance
This page has been proofread
