आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो ।
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥
(४१)
होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी ।
बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन् सम्झना ।
होलिन् बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना ॥
(४२)
वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना ।
बर्बर्बर् दुखिनी तिनी प्रकृतिमा होलिन् रुँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान् बरा ।
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
(४३)
त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण ।
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन् यो चोट केमा पर्यो ?
हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥
(४४)
बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका ।
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा ॥
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी ।
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
(४५)
कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन् या सुन्दरी योगिनी ।
ठूलो चोट परी घृणा हुन गइन् या दिव्य ती मोहिनी ॥"
(४६)
Page:Shakuntala.pdf/323
Appearance
This page has been proofread
