This page has been proofread
के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
(५३)
सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून् प्रभुले गरेर ॥"
(५४)
"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
(५५)
यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन् ।
टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
(५६)