पुगिन् क्रोधले फन्फनाई विचेत ।
तिनी एकली ध्येय उद्देश्यहीना ॥
पुगिन् पोखरीको नजीकै किनारा ।
त्यहाँ हाय ! लोटिन् हरे ! ती बिचारा ॥
(२२२)
थियो चढ्नु जो स्वर्गको नै अटाली ।
जगत्की बनी एकली दिव्य रानी ॥
तिनी भारले दुःखकी झन् विचेत ।
झरेको छ झर् झर् जहाँ आज पानी ॥
(२२३)
दुवै नेत्र फर्की गरे झैं पुकारा ।
थिए नानिमा दुःख एकोहरा भै ॥
हिलोमा झरेकी तिनी फूल राम्री ।
हरे ! आँसु भर्छिन् सफा चित्र हाम्रा ॥
(२२४)
कठै ! एकली हेर । बग्दो हिलामा ।
बरा ! कर्मले वैलिएकी तिनी छन् ॥
हिलामा परेको छ सारा सिँगार ।
थियो आशको जो नयाँ रूपदार ॥
(२२५)
झरे केशका स्वर्गका सुक्त दाना ।
झझल्झल् गरी बाहुमा गुड्नलाई ॥
हुँदा दुःख ज्याला दया भो बिहोश ।
सबै चीज रुन्छन् रुलाई मलाई ॥
(२२६)
परीकी तिनी फूल झैं दिव्य छोरी ।
हरे ! विश्वकी मोहिनी आजलाई ॥
धरामा पछारी दिने क्रुर कर्म्म ।
कहाँ लाग्छ माया निठूरी तँलाई ?
(२२७)
Page:Shakuntala.pdf/314
Appearance
This page has been proofread
