"हिंडूँ आमै !" भन्छन् द्विजवर नसुन्दा रिससित ।
"कसोरी छोडूँ नि ! स्वहृदय यहाँको जनसित ?
बनी टुक्रा मेरी हृदय छ रुँदी हाय ! बिचरा !
अभागी हा बाबा ! निठुर विधिले छौ नि पथरा ॥"
(२१६)
"हिंडूँ आमै" भन्छन् रिससित अझै ती द्विजवर ।
"वहाँ बन्ने आमा शहर कुटुनी के छ रहर ?
शिला पग्लेला है तर हृदय जो दृष्ट छ तहाँ ।
कहाँ पग्ली जाला जति गर कुरा व्यर्थ छ यहाँ ॥
(२१७)
न मानैको तिम्रो डर न भरपर्दा वचन छन् ।
यहाँ राजा छैनन् अब मरिसके दूर पर छन् ॥"
भनेको सुन्दी ती धवलमहिमा के गरुँसरि ।
यसो हेर्थिन् आँखा भरिभरि बनाई वरिपरि ॥
(२१८)
हिंडिन् वृद्धा ढीली सजलनयनी त्यक्तदुहिता ।
उचाली आँखाका जल नृपतिको आकृतितिर ॥
पुकारा गर्दी ती अझ अब निराशासरि बनिन् ।
"भलो होला राजा" यतिसित घुमी ती पनि हिंडिन् ॥
(२१९)
सबै ओर्ले राजा पनि अब चियोको भर गरी ।
बसे टोली केही चकित सपनाले सरि कुनै ॥
हिंडिन् फन्फन् क्रोधी युवति अब ती अप्सर-सुता ।
पुगिन् ढोकासम्मन् मरुबिच रुझे झैं अब यता ॥
(२२०)
कठै ! जस्तो सारा महल वनको राज रहने ।
हुनूपर्थ्यो जस्को हुकुम शिरमा गर्व नहुने ॥
लिई गद्दी बस्ने जुन महलमा जून हँसिली ।
उनैलाई यस्तो छ विकट दशा बज्रसरिको ॥
(२२१)
Page:Shakuntala.pdf/313
Appearance
This page has been proofread
