बने आँखा वृद्धाकन सजल छोरीतिर दशा ।
निहारी आँखाका हृदयतिर रूँ रूँपन हुँदा ॥
"अभागी रैछौ नि प्रकृतिदुहिता मोहनपरी ।
तिमी रानी ह्वौली सब जगत भन्थ्यो वरिपरि ॥"
(२१०)
भनी हेर्छिन् वृद्धा, द्विज दुइ बसी द्वारनिकट ।
"हिंडूँ ! आमै" भन्दै करकर गरी क्रोधविकट ॥
"न जाऊँ छोडेरै, न त अब अडी विन्ति गरुँ नि !"
भनी दोधारे छन् "बस नत्यज-अड्डी लिउ" भनी ॥
"बुझाई यो आफ्नो हक र घर सम्झी अब बस ।
बरू नोकर्नी झैं पनि हुन गई सत्यविवश ॥"
(२११)
त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर ।
कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको ।
मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ?
(२१२)
शरापे झूटाले मकन डर क्यै छैन शठहो !
सराप्छन् गुण्डाले शहरभर मर्नेहरु पनि ॥
सफा न्यायी राजा खुद समरमा चल्दछ घुमी ।
खराबी गर्नेका वचन सब काटी कटकटी ॥
(२१३)
तिमी जाऊ आमै ! ऋषिकन सुनाऊ सब यही ।
यिनी ह्वैनन् मेरी छल-कपटको गर्भ बिचरी ॥"
नबोल्दै यौटा ती कटु वचन बोल्छन् द्विजवर ।
"अरे !' टोकिदे त्यो हृदयकपटी हे विषधर !"
(२१४)
सुनी रन्की ताती वदन अब रातो हुन गई ।
भए आँखा ठूला "नबक बढता बाहुनचरी ।
म सच्चा बोल्दो छु प्रकृतपनको न्यायसहित ।
तिमी झूटो सम्झी वचन किन छौ बुद्धिरहित ?"
(२१५)
Page:Shakuntala.pdf/312
Appearance
This page has been proofread
