रिसाए राजा झन् "शरमनबिनुकी दुष्ट गठरी ।
यहाँ केको नाता मसित अब जोड्छ्यौ मनपरी ॥
तिमी वेश्या हौ ता झिलिमिलि छ आनन्द लहरी ।
हजारौं गुण्डा छन् तिनकन फकाऊ छल गरी ॥
(१९२)
म के लाटो हूँ क्वै ? छलसित त्यसै ठग्न सकिने ?
तिमी रानी बन्ने मतलब लिई गर्भ तुहुने ॥
मलाई भारी झैं शिरउपर राखेर महिषी ।
विलासी हूँ भन्छ्यौ, पर सर धपाएर भइँसी ॥"
(१९३)
सुनी, क्रोधी बोले द्विजवर बने झन् नजरका ।
फिलिङ्गा झै राता कटु वचन बोल्छन् अब उनी ॥
"तिमी राजा भन्दै सब जन थिची न्यायरहित ।
गरौंला राज्यै के बुझ अब छ गुम्ने सुखसित ॥
(१९४)
बडा अन्यायी यी सजलनयनीसामु वचन ।
गरी राख्छौ दर्जा कपट छलले विश्व निलन ॥
उसै होला तिम्रो कपट जगको राज्य बलियो ?
नभन् आत्मा दोषी भुवन सहजै बल्छ छलियो ॥
(१९५)
रुनूपर्ला राजा ! नजर दुखियाका सरि बनी ।
सबै शेखी झर्ला यश सब उठी बुङ्ग अवनी ॥
बनी छोरो आई विकट हरि अन्याय गढमा ।
त्यस ठूला बन्छौ छलसँग नजान्ने अपढमा ॥
(१९६)
यही गद्दी काँपी थर थर गरी आश्रयविना ।
असत्ले घर्केला कपट, बदला रुन्छ पतन ॥
त्यहाँसम्मन् राजा जबतक रह्यो न्यायसहित ।
हुँडारै हौ अन्धा द्विज अघि बने न्यायरहित ॥
(१९७)
Page:Shakuntala.pdf/309
Appearance
This page has been proofread
