दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ॥
(१८६)
विधाताको लीला तर अब म के गर्न सकुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन् धर्धर् तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
(१८७)
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा ।
कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
(१८८)
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
(१८९)
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)
भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
पुकारा गर्छिन् "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी ।
धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)
Page:Shakuntala.pdf/308
Appearance
This page has been proofread
