तिमी के इन्साफी हृदय यदि कालो लिइरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए ।
कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
(१९९)
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
(२००)
फुटुन् किल्ला काला अनृतपथमा ठक्कर मिलोस् ।
करौंतीलै खाऊन् हृदय छलका दन्तहरुले ॥
धरा काँपून् सारा गडगड गरी डग्मग भई ।
लडून् शेखी तिम्रो घररर लडोस् यो छल-पुरी ॥
(२०१)
लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब ।
बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस् घरतिर ।
लुछून् काटून् खाऊन् यिनकन र जाऊन् यमपुर ॥"
(२०२)
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन् ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्झर् भर्दो तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
(२०३)
Page:Shakuntala.pdf/310
Appearance
This page has been proofread
