गम्भीरा गौतमी छन् वचनहरु गमी बोल्न खोज्दी अगाडि ।
सानी छन् छाउरी झैं कसुमनिकरकी ती उज्याली पछाडि ॥
रङ्गीलो दिव्य राम्रा मगमग कुसुमी कोठरीका वसन्ती ।
नाघी सङ्घार आधा चकित हृदय ती देख्दछिन् वैजयन्ती ॥
(४७)
केटी छन् अप्सरा झैं सुमधुरवसना ठाँटिएकी कुरङ्गी ।
प्याला रङ्गीन राम्रा मृदुल कर धनी सुस्त बोल्ने विहङ्गी ।
रङ्गी चङ्गी छ भित्ता कुसुमित लहरा हिल्दछन् झैं उज्याला ।
राजा छन् शोच गर्दा मलिनमुख त्यहाँ बिर्सिएतुल्य केही ॥
(४८)
मुस्केलान् झैं अधर मृदु छन् नेत्र सन्देशवाला ।
होलिन् जस्ती मधुरवदनी प्राकृत प्रेमसाथ ॥
चम्केलान् ती विपुल दृगले सौख्य पाएर हेरी ।
भन्दी आशा हरित अडिँदी द्वारमा छन् खडा ती ॥
(४९)
"को हौ के हो कहाँका कुन खबर लिई आउँछ्यौ भन्नु के छ ?"
भन्ने आज्ञा सुनेकी अझ अपरिचिता छक्क भै हेर्न थालिन् ॥
राजाको चेहरामा अलिकति गहिरो देख्दछिन् ती विषाद ।
शोचैमा छन् डुबेका अझ नृपति भनी मेट्दछिन् क्यै फसाद ॥
(५०)
केही सर्दी अगाडि प्रबलयश महाभूपका नेत्रलाई ।
आश्चर्यैले म ल्यूँला चकित झलकमा चट्ट पारी चिनाई ॥
"ओहो " भन्लान् मलाई किन यति मनमा चट्ट राखी विचार ।
सामुन्नेतुल्य सोझो वदन दिन रहिन् नेत्र तीखा लगाई ॥
(५१)
"को हुन् यी सुन्दरी नि" नृपमणि अब ती सोद्धछन् गौतमीमा ।
दोटै बोल्नै नसक्ने अपरिचित कुनै मूर्ति जस्ता बनाई ॥
छायो चाँडै अँध्यारो हृदय डर पस्यो मञ्जुलाको समस्त ।
स्वप्ना मीठो गुमे झैं तर अचल रहिन् फेरि खामोससाथ ॥
(५२)
Page:Shakuntala.pdf/282
Appearance
This page has been proofread
