धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा ।
बोलिन् ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन् छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन् प्रेमसाथ ॥
(५३)
"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
(५४)
"को यिनीहरु ? यहाँ किन आए !
कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
भेटसम्म न त सम्झुँ न बात ॥
(५५)
एक रात न बसेँ सँग काहीँ ।
गर्भिणी युवति छन् अघि याहीं ॥
के भयो नि ! जगदीश ! फसाद ।
हुन्न हाय ! यिनको रति याद ॥
(५६)
पाप लाग्छ गहिरो पछिसम्म ।
बिर्सिए यति ! म बन्छु अचम्म ॥
देखिएन यिनलाइ अगाडि ।
के गरी ग्रहण गर्नु पछाडि ॥
(५७)
ह्वैन ह्वैन तर ह्वैन जरूर ।
सम्झने पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
यो छकावट भनी बुझिलिन्छु ॥
(५८)
Page:Shakuntala.pdf/283
Appearance
This page has been proofread
