पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग ।
आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
बोली बिर्सी डरसित भनिन् "बिर्सिए की मलाई ॥"
(४१)
केही काँपी अधर अरुले थाह केही नपाई ।
चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
पर्खिन्छिन् ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥
(४२)
आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥
(४३)
फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं ।
ऊँचा बन्छिन् मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
(४४)
जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन् खालि थूँगासमान ।
सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥
(४५)
बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥
(४६)
Page:Shakuntala.pdf/281
Appearance
This page has been proofread
