जो विश्वासी हृदय गहिरो त्रास त्यल्लाइ छैन ।
शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥
विश्वासी भै डर पर गरी सम्झना होस् सजीव ।
तिम्रै छाती प्रचलित हुने ढुक्ढुकीमा म आई ॥
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई ।
(११)
बिर्से मेरा हृदय नरहोस् खाक होस् विश्व सारा ।
मेरो आत्मा नरकगत होस् बिर्सिए यो मुहार ॥
साना पर्दा समयकन छन् जिन्दगीका वियोग ।
खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥"
(१२)
भन्दै प्यारी विपिनदुहितालाइ सम्झाउँदा ती ।
आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥
आफै रुन्छन् मन मन त्यहाँ रोक्दछन् किन्तु आँसु ।
"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥
(१३)
सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन् ।
औंठीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन् ।
आशा राख्थी हृदय जलले नत्र ता खाक बन्थिन् ॥
(१४)
उड्दै आए निठुर नभमा क्रूर ती दीर्घ रोज ।
जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्श पाई ॥
यौटा दोटा अनि जब गयो रोज तेस्रो उडेर ।
रोइन् आँखा जल जल गरी वाक्य मिथ्या बुझेर ॥
(१५)
लामा लामा अझ हुन गए दुःख जस्ता निमेष ।
शङ्का बढ्थ्यो मनमन डरै जित्दथ्यो नित्य वेश ॥
दुब्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर ।
आँखा ठूला सजल रहँदी बस्दथिन् घोरिएर ॥
(१६)
Page:Shakuntala.pdf/219
Appearance
This page has been proofread
