कोही भन्थे तब रणकथा हास्यका ढङ्गसाथ ।
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर ।
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)
बस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्गै जस्तो वरिपरि थियो दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झुल्दथे क्या विचित्र ॥
(१८)
ज्यादा बढ्दा विरह मरु झैं शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
बिर्सू भन्थ्यो प्रकृतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥
(१९)
जो पाइन्नन् निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥
सो सो पाऊन् हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला ।
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)
'आजै फिर्छन् विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुछिन् लाल केही बनाई ॥
(२२)
Page:Shakuntala.pdf/220
Appearance
This page has been proofread
