टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी बोली क्षणभर रूँदो चित्तलाई अडाए ॥
(५)
भन्छन् "हामी दुइ पर नभै साथमा नै रहूँला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहूँला ॥
हामी हौंला रवि विधु दुवै दूर यो अङ्कमाल ।
गर्दे प्यारो निशिभर भरी प्रेमको ज्योति-जाल ॥
(६)
कर्मै ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो टूना विजयहरुको बन्छ भित्री रहस्य ॥
लाग्छन् वैरी अनृतदल झैं दुःख दी सत्यलाई ।
लड्नैपर्ने सकलसँगमा धर्मको दी रजाइँ ॥
(७)
चाँडै होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टूना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्छन् आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)
छोडी जानै अब कर पर्यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेछु बुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार बिन्दु ।
झन् झन् भर्छ्यौ हृदयभर यो शूल, सौन्दर्य सिन्धु ॥
(९)
मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।
सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।
प्रेमी नाता अमर लहराबीच झन् फुल्न पाए ॥
(१०)
Page:Shakuntala.pdf/218
Appearance
This page has been proofread
