जङ्गली कुसुम छन् अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन् उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)
चूप्प चूप मुखमा गरीकन ।
अङ्गुली नृपतिले दिईकन ॥
थाम्दछन् घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)
भन्दछन् "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन् विपिन माधुरी घना ॥"
(४५)
"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)
Page:Shakuntala.pdf/130
Appearance
This page has been proofread
